गृहमन्त्रीका भाइ रामकृष्णद्वारा डेढ सय विद्यार्थीलाई चार चार हजार नगद
बुटवलको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले करिब डेढ सय विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् । आज ५८औँ बाल दिवसको अवसरमा उनले आफ्नो पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
मेयर खाँणले आफ्नो सेवा सुविधाबाट पालिकाभित्र ४२ सामुदायिक विद्यालयका १५९ विद्यार्थीलाई चार हजारका दरले छात्रवृत्ति दिएको नगरपालिकाका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाँणको भाइसमेत रहेका उनले स्थानीय तह निर्वाचन घोषणापत्रमै पालिकाबाट आएको सेवा सुविधाबाट छात्रवृत्ति दिने घोषणा गरेका थिए । तर, यसअघिका नगरप्रमुखले नै पालिकाभित्रका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका थिए । सोही निर्णयलाई नगर प्रमुख खाँणले निरन्तरता दिएको सूचना अधिकारी पोख्रेलले बताए ।
टिप्पणीहरू