लुम्बिनीलाई कोलम्बोसँग जोड्ने राजदूतको प्रयास

लुम्बिनीलाई कोलम्बोसँग जोड्ने राजदूतको प्रयास

द्धिपक्षीय सम्बन्ध विस्तार र सोझो हवाई सम्पर्कलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेर गत महिना कार्यभार सम्हाल्न कोलम्बो पुग्नुभएका श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले कूटनीतिक पहल थाल्नुभएको छ । आज राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटमा उहाँले बुद्धको जन्मभूमि लुम्बिनी श्रीलंकाली पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले कोलम्बो–भैरहवा सिधा हवाई सेवा विस्तारका लागि औपचारिक आग्रह गर्नुभएको हो ।

लुम्बिनी आउन चाहने श्रीलंकाली पर्यटकका लागि हालै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त भएकाले सिधा उडानको व्यवस्था मिलाउन राष्ट्रपतिको ध्यानाकर्षण गराएको राजदूत मिश्रले जानकारी दिनुभयो । भेटका क्रममा दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार/व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

श्रीलंकन वायु सेवालाई भैरहवा जोड्न सके धार्मिक पर्यटन विकास हुनेमा जोड दिंँदै आउनुभएका राजदूत मिश्रले हवाई भाडा घटाउन आवश्यक रहेको विषय राष्ट्रपतिसँगको भेटमा उल्लेख गर्नुभएको छ । सो क्रममा उहाँले कनेक्टिभिटी विस्तारले दुई देशबीच व्यापार अभिवृद्धि हुने र त्यसबाट दुवै मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा दुई देशबीचको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन तथा शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो । राष्ट्रपति विक्रमसिंघेले नेपाल र श्रीलंकाबीच प्रगाढ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमणको चाहना राख्नुभएको राजदूत मिश्रले बताउनुभयो ।

गत महिना संकटग्रस्त मुलुक श्रीलंकाको राजदूतका रुपमा कार्यभार सम्हाल्न कोलम्बो पुग्नुभएका मिश्रले त्यहाँस्थित विभिन्न देशका राजदूतहरुसँग पनि भेटवार्ता गरिरहनुभएको बताइन्छ । त्यस्ता भेटमा सम्बन्धित देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पर्यटन प्रवद्र्धनमा आफूले कूटनीतिक पहल गरिरहेको उहाँको भनाइ छ ।

राष्ट्रपतिसँग भेटअघि राजदूत मिश्रले साफ अण्डर–१७ फुटबल खेल्न श्रीलंकामा रहेका नेपाली खेलाडीहरुलाई भेटेर जीतको शुभकामना दिनुभएको थियो ।

टिप्पणीहरू