युरोपको बैठकमा ‘शर्माजी’ छिरेपछि पदाधिकारी टाप…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकमा ‘शर्माजी’ छिरेपछि भाँडभैलो मच्चिएको छ । एउटा महत्वपूर्ण जुम मिटिङमा असम्बन्धित व्यक्तिको प्रवेश भएपछि बैठकमा होहल्ला भएको हो ।
आउँदो २४ र २५ सेप्टेम्बरमा स्वीडेनमा आयोजना गर्न लागिएको क्षेत्रीय सम्मेलनको तयारीबारे जुम बैठक चलिरहँदा एक्कासी असम्बन्धित व्यक्तिले अनुहार देखाएपछि पदाधिकारीबीच भनाभन भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
एनआरएनएको युरोप क्षेत्रीय बैठकमा प्रवेश गर्ने असम्बन्धित पात्र एनआरएनएभित्र ‘शर्माजी’ भनेर चिनिएका चिरन शर्मा हुन् । उनले आफूलाई एनआरएनएको बाहुबली पत्रकार तथा अभियन्ता ठान्ने गरेको आरोप छ । उनै शर्मा एनआरएनकर्मीको नजरमा सबैभन्दा धेरै चलखेल गर्ने व्यक्तिको रुपमा चिनिँदै आएका छन् । उनलाई वर्षौँदेखि चिन्दै आएका मित्रहरु उडाउँदै भन्छन्– शर्माजीलाई देखेपछि एनआरएनहरुको सातो जान्छ ।
‘चिरन भाइ लास्टै गफाडी छ । कहिलेकाहीँ एनआएनए नै आफै धानेजस्तै गर्छन् । तर समाचार लेख्न पनि ढंग पुर्याउँदैनन् । गफ भने अमेरिकादेखि युरोपसम्मको उनकै भागमा परेको छ,’ एनआरएनए बेलायतका एक पदाधिकारीले ठट्यौली पारामा भने ।
त्यसो त शर्माले थाइल्यान्डको बैंककमा हालै सम्पन्न एसिया क्षेत्रीय सम्मेलनमा पनि लाजमर्दो रवैया देखाएको भन्दै आयोजक समितिका एक पदाधिकारीले गुनासो गरेका छन् । शर्माले बैंकक सम्मेलनको तयारी पूर्वको पत्रकार सम्मेलनमा लफडा मच्चाउन खोजेका थिए ।
जबरजस्ती सम्मेलनको तयारीबारे मञ्चमै पुगेर एकाएक बोल्न थालेपछि एनआएनएका पदाधिकारीहरुले मुखामुख गरे । कार्यक्रम तालिकाअनुसार सम्मेलन सञ्चालन एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपानेले गर्ने तय पहिल्यै भएको थियो । तर शर्माले त्यहाँ पनि हस्तक्षेप गर्दै आफैले पत्रकार सम्मेलन गरेपछि एनआएनएका पदाधिकारी रुष्ट बनेका हुन् । युरोपदेखि बैंककसम्म शर्मा हावी हुन खोजेपछि युरोप क्षेत्रीय उपसंयोजक सागर सुवेदीलगायत पदाधिकारी जुम मिटिङमै पड्केका थिए ।
शर्मा एनआरएनए युरोपका सदस्य हुन् तर त्यहाँको कुनै पनि जिम्मेवारीमा छैनन् । ‘चिरनजी युरोप पदीय जिम्मेवारीमा हुनुहुन्न । उहाँको नियत राम्रो छैन । उहाँ यताका कुरा उता सार्नु हुन्छ । एकापसमा जुधाउने काम गर्नुहुन्छ । त्यसकारण पनि उहाँलाई देखेपछि बैठक भाँडिएको हो,’ जुम मिटिङमा सहभागी एक पदाधिकारीले भनेका थिए ।
शर्माको प्रवेशसँगै आन्तरिक बैठकमा भाँडभैलो मच्चिएपछि उनलाई जुमबाट बाहिरिन आग्रह गरिएको थियो । तर टेरपुञ्छर नलगाएका कारण अन्ततः पदाधिकारीहरु आफैँ बैठक छाडेर हिँडेको बताइन्छ ।
टिप्पणीहरू