श्रीमान नजाने,सिंहदरवारमा वकिलको लाइन लाग्ने
सँसदको महाअभियोग सिफारिस तथा छानविन समितिले नेपाल बार एसोसिएसनका केही पदाधिकारीलाई छलफलको निम्ति बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको बयानका क्रममा नाम आएकालाई बोलाउन व्यक्तिगत रूपमा पत्र काटिएको छ ।
समितिले बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेल,पूर्वअध्यक्षद्वय शम्भु थापा र हरिहर दाहाललाई व्यक्तिगत रूपमा बोलाएको छ । त्यस्तै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य,पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याललाई पनि उपस्थित हुनको लागि पत्र गएको छ ।
समितिले व्यक्तिगत रूपमा बारका पदाधिकारीलाई पत्र पठाएपछि वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू समितिको बैठकमा उपस्थित हुन मिल्ने स्रोतले बताइएको छ । यसअघि बयानको क्रममा राणाले नाम मुछ्नु भएका सर्वोच्च अदालतका छ जना न्यायाधीशलाई पनि समितिले आएर आफ्ना भनाइ राखिदिन पत्र पठाएको थियो ।
तर न्यायाधीशहरूको पूर्ण इजलासले महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र राणासँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका,शक्ति पृथकीकरणको सिध्दान्त र नेपालको संविधानले अङ्गीकार गरेका मान्यतासमेतका कुनै पनि दृष्टिले संविधानसम्मत, उचित र शोभनीय नहुने हुँदा कोही पनि न्यायाधीश आज उपस्थित हुन नमिल्ने जवाफ हिजै पठाएको छ ।
टिप्पणीहरू