जेल र जलविद्युतमा सेना जाने

जेल र जलविद्युतमा सेना जाने

अत्यन्त गोप्य तथा जरुरी निर्देशनमा असार १ गतेदेखि भारतसँगको सीमामा थप सशस्त्र प्रहरी बल खटाइने भएकाले यसअघि प्रहरीको ड्युटी रहेका अधिकांश स्थानमा सेना परिचालन गर्ने व्यहोरा उल्लेख छ ।

जेठ १७ गतेको मन्तृपरिषद् बैठकले सेना परिचालनसम्बन्धी निर्णय गर्नुको खास प्रयोजन बल्ल खुल्दैछ । कोरोना रोकथामको निम्ति घोषित लकडाउन उल्लंघनको प्रवृत्ति बढेकाले सर्वसाधारणलाई कडिकडाउ पालनाको निम्ति सेना परिचालन गरिएको अर्थ लगाइएको थियो । तर,रक्षा मन्त्रालयले विभिन्न निकायलाई हालै गरेको अत्यन्त गोप्य तथा जरुरी निर्देशनमा असार १ गतेदेखि भारतसँगको सीमामा थप सशस्त्र प्रहरी बल खटाइने भएकाले यसअघि प्रहरीको ड्युटी रहेका अधिकांश स्थानमा सेना परिचालन गर्ने व्यहोरा उल्लेख छ ।

रक्षाले गृह मन्त्रालय र आफू मातहतका विभिन्न निकायमा जेठ २९ गते पठाएको पत्रमा ‘कोरोना रोकथाम र जोखिम न्यूनीकरण गर्न सीमानामा थप सुरक्षा जनशक्ति बढाउनुपर्ने देखिएकोले हाल देशका महत्वपूर्ण स्थान,आयोजना र प्रतिष्ठानमा खटिएका सुरक्षा जनशक्तिलाई आवश्यकताअनुसार विभिन्न सीमानाकामा खटाउने र उक्त स्थानको सुरक्षार्थ नेपाली सेनाको जनशक्ति खटाउने सन्दर्भमा नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने प्रकृतिका कार्यको ड्युटी बाहेकका अन्य ड्युटीका लागि नेपालको संविधानको धारा २६७ को उपधारा (४) बमोजिम नेपाली सेना परिचालन गर्ने निर्णय भएको’ व्यहोरा उल्लेख छ ।

प्राप्त विवरणअनुसार गृह मन्त्रालयअन्तर्गतका कारागार सुरक्षा बेस मोरङ्ग, पर्सा, महोत्तरी, मकवानपुर, ललितपुर, बाँके, रूपन्देही, कपिलवस्तु र दाङको तुलसीपुर तथा घोराही एवम् कारागार सुरक्षा पोष्ट सुनसरीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको स्थानमा अब नेपाली सेना परिचालन हुनेछ ।

त्यसैगरी, जलविद्युत तथा अन्य राष्ट्रिय गौरवका आयोजना सुरक्षामा रहेका सशस्त्र प्रहरीलाई पनि पर्सि १ गतेदेखि सीमानामा खटाइनेछ । ती स्थानको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । अरुण तेस्रो संखुवासभा, गान्जेन रसुवा, माथिल्लो तामाकोशी दोलखा, मध्यभोटेकोशी सिन्धुपाल्चोक, मेलम्ची खानेपानी, सुन्दरीजल, माथिल्लो जलविद्युत कास्की, बिपिसि प्युठान, अपर कर्णाली दैलेख, चमेलिया दार्चुला, पञ्चेश्वर बैतडी, कलङ्गा गाड बझाङमा रहेका सशस्त्र प्रहरीलाई पनि पर्सिदेखि भारतीय सीमामा खटाइने छ ।

टिप्पणीहरू