अरु दलका डेढ लाख एमालेमा प्रवेश ? अध्यक्ष ओलीकै जिल्लामा चाहिँ किन कम ?

अरु दलका डेढ लाख एमालेमा प्रवेश ? अध्यक्ष ओलीकै जिल्लामा चाहिँ किन कम ?

नेकपा एमालेले गत स्थानीय तह निर्वाचनपछि हिजोसम्म डेढ लाख बढीले अन्य पार्टी छाडेर आफूलाई रोजेको दावी गरेको छ । उसले पछिल्लो चार महिनामा एक लाख ५५ हजार ७३३ जना एमाले प्रवेश गरेको संख्या निकालेको छ ।

पार्टी प्रवेश गरेका भनिएकामध्ये अध्यक्ष केपी शर्मा ओलीको जिल्लामा निकै कम संख्या देखिएको छ । त्यहाँ जम्मा १३ जनाले एमाले रोजेको बताइन्छ । सबैभन्दा धेरै उदयपुरमा देखाइएको छ । उदयपुरमा १५ हजार ७१३ सँगै अन्य जिल्लामा पनि रणनीतिक हिसाबले एमाले प्रवेश गर्नेको संख्या बढी देखाइएको बताइन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा १० हजार ५७०, झलनाथ खनालको जिल्ला इलाममा २८ सय र सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा आठ हजार ३३३ जनाले एमाले रोजेको उल्लेख छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा १० हजार ३५१ जनाले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेको भनिएको छ ।

जसअनुसार पाँचथरमा २१९, धनकुटामा तीन हजार ४२७, खोटाङमा ७५३, ओखलढुंगामा ३२३ र मोरङमा मोरङ १० हजार ९५३ भनिएको छ । त्यसैगरी सुनसरीमा तीन हजार २५,सिरहामा १२ हजार २१६,सर्लाहीमा सात हजार ८१५, पर्सामा तीन हजार ९०,दोलखा ४२, रामेछाप ७०५, सिन्धुली ५४७ र काभ्रेपलाञ्चोकमा दुई हजार २०७, रसुवा ५४८, धादिङ ५८८ र चितवन एक हजार १०१ जना एमाले प्रवेश गरेको उल्लेख छ ।

त्यसैगरी भक्तपुरमा १५०, ललितपुर तीन हजार ५०, काठमाडौं ३०८, कास्की एक हजार १३५, पर्वत एक हजार ११२, स्याङ्जा हजार २०९, म्याग्दी ९५०, बागलुङ पाँच हजार ३१२ र नवलपुर एक हजार ५३७ भनिएको छ ।

तनहुँमा ७०७, परासी दुई हजार २०३, कपिलवस्तु पाँच हजार ९०७, पाल्पा एक हजार ६०७, अर्घाखाँची दुई हजार ७५०, गुल्मी एक हजार ८७१, रोल्पा २०८, प्युठान पाँच हजार ३६३ र दाङमा पाँच हजार ५७१ जनाले एमाले रोजेको विवरण पार्टी कार्यायले तयार पारेको हो ।

एमाले छिरेका भनिएका अन्य जिल्लामा बाँकेमा आठ हजार १७, जुम्ला ८८१, दैलेख दुई हजार २१३, डोटी ५५, बैतडी दुई हजार १६, डडेलधुरा १३०, कञ्चनपुर तीन हजार १९५ र कैलाली तीन हजार ८३ गरि कुल एक लाख ५५ हजार ७३३ जनाको विवरण बनाइएको हो ।

टिप्पणीहरू