रास्ट्रपतिसामु दुई अध्यक्षको चर्काचर्की

रास्ट्रपतिसामु दुई अध्यक्षको चर्काचर्की

प्रचण्डको धारणा थियो, ‘हाम्रासामुन्ने धेरै ठूलो संकटको बादल मडारिँदैछ । यी तमाम समस्या समाधानको लागि पनि तपाईं मनोगत प्रवृत्तिबाट माथि उठ्नैपर्छ । हेक्का राख्नुहोस्, कसैले राम्रो भनेका छैनन् । सबैजसो हाम्रो बिरुद्धमा कस्सिएका छन् ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ सवा छ बजेतिर शीतल निवास पुगेलगत्तै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पनि त्यहाँ पस्नुभयो । राष्ट्रपतिले सामान्य हालखबर र सञ्चो बिसञ्चोको औपचारिकता पूरा गरेपछि ‘समसामयिक विषय’ मा यहाँहरूको धारणा बुझौं भनेर आमन्त्रण गरेकी हुँ भन्नुभयो । राष्ट्रपतिलाई सामुन्ने राखेर साँझ साँढे छ बजेतिर दुबै अध्यक्षले आफ्ना कुरा राख्न थाल्नुभयो ।

सबैभन्दा पहिले प्रचण्डले समसामयिक र पार्टी तथा सरकार सञ्चालनको विषयमा गुनासा राखेपछि प्रधानमन्त्रीले धाराप्रवाह बोल्नुभएको थियो । स्रोतका अनुसार प्रचण्डले सोमबार अरु बेलाको भन्दा बेग्लै हिसाबले बिस्तारै आफ्ना कुरा राख्नुभयो ।

प्रचण्डको धारणा थियो ‘प्रधानमन्त्रीज्यू, तपाईं ज्यादै मनोगत हुनुभयो, यसरी हुँदैन । सरकार गतिहीन अवस्थामा पुगेको छ । पार्टीको अवस्था पनि भद्रगोल र लठिभद्र छ । अब पनि यसलाई मिलाएर नजाने हो भने हामी कोही पनि रहने छैनौं । हाम्रासामुन्ने धेरै ठूलो संकटको बादल मडारिँदैछ । यी तमाम समस्या समाधानको लागि पनि तपाईं मनोगत प्रवृत्तिबाट माथि उठ्नैपर्छ । हेक्का राख्नुहोस्, कसैले राम्रो भनेका छैनन् । सबैजसो हाम्रो बिरुद्धमा कस्सिएका छन् ।’

प्रचण्डको झण्डै आधा घण्टाको धारणा सुनेपछि सदाझैँ अस्तिको भेटमा पनि प्रधानमन्त्रीले आफू र सरकारबाट कुनै गल्ति-कमजोरी नभएको बताउनुभयो । सदाको आक्रामक शैलीमा आफ्ना कुरा राख्नुभएका प्रधानमन्त्रीले झण्डै एक घण्टा समय लिनुभएको थियो । उहाँको निचोड थियो ‘सरकारले राम्रा काम गरेपनि केहीले बित्थामा आलोचना मात्रै गरेका छन् ।’

प्रधानमन्त्रीको कुरो सुनेपछि प्रचण्डको आवाज पनि चर्को हुँदै गयो । केही समय दुई अध्यक्षबीच झोंकाझोंकी नै चल्यो । त्यहिक्रममा प्रचण्डले भन्नुभयो ‘सँधै मेरो गोरुको बाह्रै टक्का भन्नुहुन्छ । यसरी कसरी चल्छ ? तपाईं सँधै एउटै ढंगले मात्रै सोच्नुहुन्छ । पार्टीभित्र अरुको कुरो पनि सुन्ने थिति बनाउनुहोस् । सँधै विभिन्न बहानामा पार्टीका बैठकहरू टारिरहने भन्ने हुँदैन । बैठकमा विषयवस्तु राख्ने र साथीहरूको कुरो सनेर पो अघि बढ्ने भन्ने हुन्छ । होइन भने, यसरी तपाईं कहाँ पुग्नुहुन्छ ?’

प्रचण्डको जोड प्रधानमन्त्रीबाट पार्टी र सरकार सञ्चालनको क्रममा भएका कमिकमजोरी स्वीकारेर आत्मआलोचित् हुनुपर्नेतर्फ केन्द्रित थियो । दुबै अध्यक्षको चर्काचर्की कुरो सुनिरहनुभएकी राष्ट्रपतिले वीच वीचमा ‘मिलेर जानुस्’ भन्ने आग्रह  राखिरहनुभयो । वहाँले ‘पटक पटक मिल्नुहोस्, मिलेर अघि बढ्नोस्, तपाईंहरू मिल्नुको विकल्प छैन’ भन्नुभएको थियो ।

साँढे दुई घण्टा भन्दाबढी चर्काचर्की छलफल गरेर पौनै नौ बजेतिर दुबै अध्यक्ष एकैसाथ बैठक कक्षबाट बाहिरिनुभयो । प्रधानमन्त्री गाडी चढेर हिँडेपछि दाहाल पनि खुमलटारतिर सोझिनुभएको थियो। बैठकमा जाँदा र निस्कँदा दाहाल र प्रधानमन्त्री दुबैको हाउभाउ न उत्साहित न निरुत्साहित देखिन्थ्यो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बैठक आह्वान नगर्ने, गरेपनि विभिन्न बहानामा टार्ने गरेपछि अर्का अध्यक्षको नाताले पार्टी बैठकहरू बोलाउनुपर्ने आवाज पनि उठेको छ । त्यो अधिकार अर्का अध्यक्ष प्रचण्डसँग सुरक्षित पनि छ । तर, त्यसो भैरहेको छैन । किन ?  दाहाल निकटहरूको विश्लेषण छ ‘यदि त्यसरी बैठक बोलाइयो भने, अर्का अध्यक्ष निकटहरू त्यसरी बोलाईएको बैठकमा नआउने सम्भावना छ । साथै,आफूहरूलाई पार्टी फुटाउने खेल रचिएको आरोपसमेत लगाइने खतरा छ ।’

अर्को खेमाबाट पार्टी फुटाउने प्रपञ्च रचेको र गुटबन्दी गरेको आरोप लाग्ने योजना भएका कारण प्रचण्डले एकतर्फी ढंगले बैठक नबोलाएकोमा उहाँनिकट नेताहरू एकमत छन् । ‘त्यस्तै पर्यो भने त्यहि विषयलाई कारण बनाउँदै दाहाल समूहलाई तपाईंहरू आफ्नै ढंगले अघि बढे हुन्छ भनेर ओली समूहले नयाँ रणनीति अवलम्बन गर्नसक्ने सम्भावना’ देखिएकाले प्रचण्ड सबै खालका पीडा सहेर भएपनि पार्टी र सरकार दुबै सहमतिमा सञ्चालन गरिनुपर्छ भन्ने अडानमा रहेको निकटहरूले बताएका छन् ।

हालको आवश्यकता पार्टी एकतालाई अघि बढाएर आन्तरिक राजनीतिलाई बलियो बनाउँदै वामपन्थी आन्दोलनलाई थप उचाईमा पुर्याउनुपर्ने हो । तर,सरकारमा रहेका र निकटहरु कसैले पनि यसलाई प्राथमिकतामा नराखेको र एकोहोरो सत्तास्वार्थमा चुर्लुम्म डुबेको दाहाल निकट नेताहरूको बुझाई छ ।

अध्यक्ष प्रचण्ड निकटहरू भन्छन् ‘दाहाल प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउन अग्रसर हुनुहुन्छ  । सांगठनिक एकता नभएको कारण अहिले नेकपाभित्र लठिभद्र अवस्था देखिएको हो ।’ उनीहरू वैचारिक दृष्टिकोणलाई अघि बढाउँदै स्थानीय तह र प्रदेशलाई थप अधिकारसहित बलियो बनाउँदै संघीयताको नयाँ अभ्यास गर्नुपर्नेमा दृढ देखिन्छन् । तर, सरकारको पछिल्ला क्रियाकलाप र निर्णयले स्थानीय तह र प्रदेशलाई अँचेटेर केन्द्रलाई बलियो बनाउने काम गरेको बुझाई छ । उनीहरू भन्छन्, ‘यो संघीयताविपरितको पुरानै अभ्यास हो ।’

टिप्पणीहरू