अमेरिकाले गरेको भिसा ढिलाईमा भारतको चित्त दुखाई
अमेरिकाले भारतीय नागरिकलाई भिसा प्रक्रियामा गरेको ढिलाईप्रति आपत्ति जनाउँदै चित्त दुखाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटवार्तामा भारतीय भिसा आवेदनको ‘ब्याकलग’ हटाउन आग्रह गरेका हुन् ।
दुई विदेशमन्त्रीको वाशिङटन डिसीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले लाखौं भारतीयले भिसा आवेदन गरेको वर्ष दिनसम्म पनि कुनै सूचना वा जानकारी नपाएकोतर्फ चासो देखाएका हुन् ।
उनले भने, ‘उच्चशिक्षा, व्यवसाय, प्रविधि र पारिवारिक पुनर्मिलनमा भिसाको महत्वपूर्ण स्थान हुन्छ । तर, आवेदन गरेको महिनौं र वर्षसम्म पनि पालो नआउनु राम्रो होइन ।’
भारतमा अमेरिकी भिसाको पालो कुरेर बसेका विद्यार्थी, व्यवसायी र सर्वसाधारणको संख्या दशौं लाख पुगेको छ । आगामी वर्षको लागिसमेत भिसा आवेदनको सीमा सकिएको बताइन्छ । जरुरी काममा तत्काल अमेरिका जान चाहने भारतीयले दुःख पाएको भारतीय पक्षको बुझाइ छ ।
टिप्पणीहरू