बर्दीमा गुट : डिएसपीलाई छुट

बर्दीमा गुट : डिएसपीलाई छुट

चैतको १० गते पेसी थियो । ९ गते वकिल सुवासलाई सन्तानलाभ भयो । उनले १० गते विहानै पेसी सारे । ११ गतेदेखि देशमा लकडाउन शुरु भयो ।

नेपाल प्रहरीमा छोटो समयका लागि आइजिपी भएको मान्छेले आफ्नो मर्जीमा काम गर्दा संगठन कुन हालतमा पुग्छ भन्ने फेरि एकचोटि देखिँँदैछ ।

संगठन वा सरकारप्रति हैन,आइजिपी व्यक्तिगत मामिलामा लागेपछि संगठन त धराशायी हुन्छ नै । सरोकारवाला मन्त्रालय पनि अप्ठ्यारोमा पर्छ ।

अहिले नेपाल प्रहरी यही हालतमा छ ।

जसरी २०६५ सालमा ६ महिनाका लागि आइजिपी भएका हेमबहादुर गुरुङलाई रिटायर्ड हुनु एकहप्ता अघि गृह मन्त्रालयको पत्रबाट बिदामा राखियो, अहिलेका आइजिपीलाई पनि त्यही गर्नुपर्ने अवस्था आएको गृहस्रोतले जनाएको छ ।
आइजिपी ठाकुर ज्ञवाली यही असारको २५ गते ३० वर्षे सेवाहद पूरा गरी, साढे ४ महिना संगठन प्रमुख चलाएर बिदा हुँदैछन् ।

गृहको आरोप छ, उनी सरकार वा संगठनका कार्यादेशप्रति इमान्दार भएनन् । आफ्नो विवेकबाट हैन, गुटको इशारामा चले ।  सरुवा, बढुवा र सबै आन्तरिक प्रक्रिया सरकारले चाल नपाउने अवस्थामा भयो । प्रहरीका सरुवा र बढुवा ठेकेदारहरुका लागि लिलामीमा राखियो । सक्ने बढुवा, सरुवा भए,नसक्ने रोएर बसेका छन् ।

पछिल्लोपटक एसपी सरुवामा प्रधानमन्त्री,विभागीय मन्त्री र सचिवका सिफारिस कार्यान्वयन भएनन् । यो किचलोको मारमा परेर सईबाट इन्स्पेक्टर बढुवा हुनेहरूलाई पदस्थापन गरिएको छैन ।

कुमोध मुक्तः गुट पल्कियो

कमजोर जगमा चलाइएको मुद्दामा साधारण तारेख पाएपछि प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोध ढुंगेल जागिरमा फर्किएका छन् ।

न्याय पक्षधर प्रहरीका निम्ति कुमोधको बहाली  सुखद समाचार हो ।

तर, प्रहरीभित्र फस्टाएको गुटलाई हेर्दा भोलि कुमोधको नियति अरुमा नसर्ला भन्न सकिन्न । अहिल्यै केही प्रहरी गुटको शिकार बनेर लाखापाखा लगाइएका छन् ।

कुमोधले त जसै लाञ्छनाबाट मुक्ति पाए । तर, न उनलाई यो फन्दामा पार्ने प्रहरी नेतृत्व इमान्दार थियो, न उनलाई यो फन्दाबाट मुक्त गराउने नेतृत्व नै सफा छ ।

अहिले फेरि प्रहरीका अर्काथरि अनुसन्धानकर्मीहरु भुक्तमान खेपिरहेका छन् । कारण हो,आन्तरिक गुटबन्दी ।

जसले हिजो कुमोधलाई ’मुद्दा बनाएर’ फसायो, ती हाकिमसँग नजिक मानिने अर्काथरि प्रहरी आज फेरि हिजोका कुमोध बन्दैछन् ।

कुमोधमाथि डाँका मुद्दाको अनुसन्धानका क्रममा लापरवाही गरेको अभियोग लागेको थियो ।

सरकारी वकिलले ‘यस्तो मुद्दा चलाउन सकिँदैन’ भनेर तीनचोटि फाइल फिर्ता गर्दा पनि जबरजस्ती मुद्दा अगाडि बढिरह्यो ।

ठाकुर ज्ञवाली महानिरीक्षक बहाली भएलगत्तै प्रहरी प्रधान कार्यालयको पक्षमा मुद्दा हेर्ने अधिवक्ता सुवास आचार्य (भीमार्जुनका भाइ) लाई नै लगाएर कुमोधलाई मुक्ति दिने काम भएको छ ।

पालैपालो पेलान

उपेन्द्रकान्त र प्रकाश अर्यालहरुले छानी–छानी पाखा लगाएका प्रहरीलाई सर्वेन्द्र खनालले छानी–छानी मुक्ति दिए ।

अहिले सर्वेन्द्रको पालामा विभिन्न नाम र बहानामा अप्ठेरोमा पारिएका प्रहरीलाई चोख्याउन ठाकुर ज्ञवाली नेतृत्व अर्जुनदृष्टि बनाएर लागेको छ ।

कुमोधकै मुद्दा हेरौँ, चैतको १० गते पेसी थियो । ९ गते वकिल सुवासलाई सन्तानलाभ भयो । उनले १० गते विहानै पेसी सारे । ११ गतेदेखि देशमा लकडाउन शुरु भयो ।

वकिलले चाहेर यस्तो भएको थिएन,कोरोनाले नै त्यस्तो परिस्थिति सिर्जना गरिदियो । तर, हेडक्वार्टरबाटै सराप्न थालियो, वकिललाई ।

अर्का डिएसपी अंगुर जीसी पनि यस्तै पक्षपातको शिकार बनेका छन् । तर, न उनलाई कुनै गुटले बोक्यो । न उनी गुट खोज्दै कतै गए ।

उनी कारवाहीको शिकार बनेको चाहिँ उपेन्द्रकान्तहरुको नजिक भएकै नाममा हो ।

निर्मला पन्त काण्डको अनुसन्धान बिगारेको आरोप उनीमाथि लाग्यो । केन्द्रीय अनुसन्धान व्युरोबाट अनुसन्धानका लागि खटिएर महेन्द्रनगर पुग्नासाथ उनले मृतकको भेजिनल स्वाव संकलन गरेर परीक्षण प्रक्रियामा लगे ।

यही कुरालाई उनको ‘जघन्य’ सरहको कसुर मानेर जागिर बिगार्ने काम भयो ।

तर, प्रहरीका गुटले नबोकिदिँदा अंगुर एक्लै मुद्दा धाइरहेका छन् ।

गुटको तस्वीर

अहिलेका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सचिवालयमा मात्रै हेर्यो भने गुट छर्लङ्ग देखिन्छ । सचिवालयका प्रमुख हुन्,एसपी भूपेन्द्र खत्री । पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालदेखि प्रकाश अर्यालको कार्यकालमा पनि त्यहीँ थिए ।
सर्वेन्द्र आइजिपी भए,उनी हटाइए ।

ठकुर ज्ञवाली आइजिपी भएकै दिनदेखि भूपेन्द्र सचिवालय हेर्न तोकिए ।

त्यसो त आइजिपीको सचिवालय र जनसम्पर्क व्यवस्थापनमा भूपेन्द्र संगठनभित्रै कहलिएका व्यक्ति हुन् ।

सर्वेन्द्र कार्यकालमा भूपेन्द्रकै ठाउँमा रहेका एसपी रमेश थापा हेडक्वार्टरको अर्को कुनामा लखेटिए ।

इन्स्पेक्टर राजेशराज पुरी सर्वेन्द्रका स्टाफ अफिसर थिए । उनी पनि तुरुन्तै निकालिए ।

उक्त ठाउँमा उपेन्द्रकान्तकै स्टाफ अफिसर डिएसपी देवेन्द्र पाण्डे गए ।

सबभन्दा बढी आर्थिक चलखेल हुने कर्मचारी प्रशासनबाट चन्द्रकुवेर खापुङ रातारात लखेटिए, ठाकुरको बहालीलगत्तै जनार्दन जिसी राखिए ।

गुटले नरुचाएकै कारण प्यूठानी भएर पनि डिएसपी गौतम केसी सचिवालयमा टिकेनन् ।

प्रवन्धका हर्ताकर्ता अर्का प्यूठानी इन्स्पेक्टर केशव गौतम थिए । उनी पनि पुरानो भूमिकामा टिकेनन् ।

जबकि आइजी ज्ञवाली आफैँ पनि प्यूठानी हुन् । तर, गुटले कसैलाई प्यूठानी भन्न दिएन ।

अर्थात्, प्रहरीमा रिटायर्ड भएर गएका आइजिपीहरु हावी हुन्छन् र गुट चलाइने गरिन्छ ।

यो क्रमलाई रिटायर्ड भएका आइजिपीहरुले मात्र हैन, अब आउने आइजिपीहरुले निरन्तरता दिन्छन् ।

अबका आइजिपी

असार २५ मा ठाकुर ज्ञवाली रिटायर्ड हुने र त्यही दिन अर्को आइजिपी बहाली हुनुपर्ने दिन ।

एआइजी बढुवाका आधारमा अहिले दुई जना प्रतिस्पर्धी छन्, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल ।

स्पष्ट छ,रोल नम्बरको वरियता नमिची आइजिपी बनाइयो भने शैलेस अगाडि छन् ।

यदि ‘एक्सन ओरिएन्ट ’ हेर्ने कुरा आयो भने हरिबहादुर पाल हुनसक्छन् ।

यिनीहरु आफ्नो पालो आउनासाथ कप्र, प्रबन्ध,आप्र,मानवस्रोततिरका हाकिम फेर्छन् ।

कारण हो,स्वार्थ पूरा गर्ने अखडामा विश्वासिला मानिस राख्नु ।

यो काम गर्न आइजिपीहरुलाई प्रेरित गर्ने तीन प्रकारका तत्व हुन्छन् ।

एउटा हो, प्रहरीभित्रको गुट । अर्को हो,लामो समयदेखि प्रहरीको ठेक्कापट्टामा हावी हुँदै आएको ठेकेदारहरुको समूह  । र, तेस्रो पक्ष छ, राजनीतिक नेतृत्वसँग हिमचिम रहेको र निश्चित व्यक्तिलाई आइजिपी बनाउन भूमिका खेल्ने समूह ।
यदि प्रहरी नेतृत्व यी तीन प्रकारका ‘दलाल’ बाट मुक्त भयो भने संगठन राम्रो हुन्छ ।

हैन, ‘लैबरी’ कै तालमा चल्ने, चलाउने हो भने प्रहरीमा फस्टाएको गुटले उसको साख समाप्त पार्दै लैजान्छ ।

टिप्पणीहरू