उपेन्द्रले काठमाडौँको बदला लिए मधेसमा,कांग्रेसका तीन मन्त्री फालिए
सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने निर्णयले संघीय सरकार छोड्नुपरेको रिस जनता समाजवादी पार्टी (जसपा)ले मधेसमा पोखेको छ । आफ्ना चार मन्त्रीलाई हटाउने प्रधानमन्त्री शेरबहादुर देउवालाई काउन्टर जवाफ दिँदै जसपाले आफ्नो नेतृत्वमा रहेको मधेस सरकारका तीन जना कांग्रेस मन्त्रीलाई बर्खास्त गरेको हो ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।
सत्ता गठबन्धन छोडेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो ।
टिप्पणीहरू