पुस ५ का परिणति

पुस ५ का परिणति

-श्याम रिमाल

–प्रतिनिधिसभामा करीब दुई तिहाइको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भयो ।

 –नेकपा(एमाले)मा विभाजन आयो ।
 –नेकपा(एकीकृत समाजवादी) र नेकपा(राष्ट्रिय एकता अभियान) जन्मे । अर्थात् नेकपा नेकपा(माओवादी केन्द्र)समेत गरेर चार टुक्रा भो ।
–नेकपा सरकारबाट खस्यो ।
–नेकपा(एमाले) सङ्घीय सरकारबाट झ¥यो । सात प्रदेशमध्ये छ प्रदेशका मुख्यमन्त्रीलगायत सरकारबाट मुक्त भयो । 
–जनताका आशामा तुषारापात भयो । 
–देश पुनः अस्थिरतामा जाकियो । 
–कम्युनिष्ट आन्दोलन भताभुङ्ग भो, अपूरणीय क्षति भो ।  
– नेपाली कांग्रेसका नेतृत्वमा गठबन्धन बन्यो जसमा नेकपा(माके), नेकपा(एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिए । 
–अदालतले एमालेको सरकारलाई हराइदियो, शेरबहादुर देउवा नेतृत्वको गठबन्धनलाई जिताइदियो । 
–हिजोसम्म मिलेका  कम्युनिष्टहरूले एकार्कामा सुन्नै नसक्नेसम्मका गाली गरे ।
–ओलीले आफूलाई सरकारबाट झार्न देशीविदेशी तत्त्व मिलेको आरोप लगाए ।
–देउवा सरकारले प्रतिनिधिसभाको बाँकी समय बितायो । 
–दुई दुई पटक विघटित प्रतिनिधिसभा पाँच वर्ष चल्यो । 
–राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण गरिनन् । 
–राष्ट्रियसभा चुनाव भो, कांग्रेस, माके र एसले भागबण्डा गरे, एमालेले एक स्थान मात्र पायो । 
–स्थानीय निर्वाचन भो । कांग्रेस एक नं र एमाले दुई नंमा आए । माके तीन नंमा आयो ।  एसले पोखरा र हेटौँडाका नगर प्रमुख गरी २० स्थानीय तह र केही वडाध्यक्ष, वडा सदस्य जित्यो । 
–प्रतिनिधिसभा र प्रदेशसभा चुनाव भो । एमाले आफूले बहुमत ल्याउने ध्वाँस दिएर राप्रपा, जसपासँग मिलेर चुनावमा होमियो । गठबन्धन आफूले बहुमत ल्याउने अभिमानले  निर्वाचनमा गयो । 
–बहुमत कसैको आएन । फेरि अस्थिरताको सङ्केत मिल्यो ।
–कांग्रेस ६२ स्थानबाट ८९ उक्लियो,  एमाले १२१ बाट ७८ र माके ५३ बाट ३२ मा झरे । एसले १० स्थान प्रत्यक्षमा जिते पनि राष्ट्रिय दल बन्न असफल भयो । 


–एमाले धाँधलीको आरोप लगाउँदै छ, विदेशी शक्तिले उचालेका केही नयाँ दल आएको बताउँदै छ । 
–गठबन्धन आफू बहुमतको सरकार बनाउने ध्याउन्नामा छ । 
–एमाले ‘पर्ख र हेर’ का स्थितिमा छ, ‘झर्ला र खाउँला’ को ताकमा छ । ऊ कहिले आफैँले प्रतिगामी भनेको राप्रपा, विदेशीले उचालेको भनिएको रास्वपा, कहिले देवप्रसाद गुरुङसँग भेट गर्दै  छ । 
–मुख्यमुख्य दलको आँखा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख, सङ्घीय उपसभामुख, संसदीय दलका नेता, सात प्रदेश प्रमुख, सात मुख्यमन्त्री, सात प्रदेशका सभामुख र उपसभामुख, संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिमा छँदै छ, त्यहाँ पाइने मन्त्री पद, थुप्रै संवैधानिक अङ्ग र अन्य सरकारी नियुक्तिमा पनि स्वतः पर्ने भइहाल्यो ।  
–गठबन्धनले बहुमत पु¥याउन फौजदारी अभियोगमा कारागार सजायँ भोगिरहेका रेशम चौधरीलगायतलाई मुक्त गराउन अध्यादेश राष्ट्रपतिकहाँ पेस गरेको  छ, त्यो जारी भएको छैन ।  
–माके दुई नाउमा खुट्टा राखेर नदी तर्न खोज्दै छ । एकातिर गठबन्धन र अर्कातिर एमालेसँग प्रधानमन्त्रीको सौदाबाजी हुँदै छ । 
–देउवा राष्ट्रपति गैरराजनीतिक व्यक्तित्वलाई बनाउने खोजमा छन् । अरू राजनीतिक दल राजनीतिक व्यक्तित्वलाई नै बनाउनुपर्नेमा जोड दिन्छन् । 
–भारतीय, चिनियाँ र अमेरिकी राजदूत कस्तो सरकार बन्ला भनी नेताहरूका घरघर, आवास–निवास धाउँदै छन् ।    
–एउटा अभिमानले के ल्यायो ? अस्थिरता । अलिकति धैर्य भएको भए के हुन्थ्यो, अलिकति लचकताले के जान्थ्यो ? अलिकति सम्झौताले के बिग्रिन्थ्यो ? अलिकति त्यागले, दूरदर्शिताले, विवेकले सबै सम्हालिन्थ्यो । अहिले जताततै अशान्ति, आशङ्का, अभाव, अन्याय, अत्याचार, अनियमितता, अनिर्णय, असफलता, अवसान,  अचाक्ली, असुरक्षा, ओरालो, अलमल, अकर्मण्यता, अपवित्रता । 
–एउटा अहंले जे हुन्छ, त्यही भयो ।

अति सर्वत्र वर्जयेत् ।२०७९ पुस ५
 

टिप्पणीहरू