महिलाको गर्भभित्र लुकेको त्यो रहस्य

महिलाको गर्भभित्र लुकेको त्यो रहस्य

केहीअघि एउटी अविवाहित महिला गर्भपतनको केसमा भरतपुर अस्पताल आइपुगिन् । बाहिर अनधिकृत रूपमा गर्भपतनको औषधि खाएर जटिलता भएपछि थप उपचारका लागि उनी अस्पताल आएकी थिइन् । प्रेमी वा कसैसित यौनइच्छाले मन मिलेर सम्भोग गर्दा रहेको गर्भ थिएन त्यो । बलात्कृत भएकी पनि होइनन् । होटलमा ग्राहकहरूसँग बस्दाबस्दै गर्भ रहेको पत्तै पाइनन् । केही महिनापछि थाहा पाएर होटलवालाले गर्भपतन गराउने औषधि खुवाइदिए । पेट दुख्ने, अत्यधिक रक्तस्राव हुने जस्ता समस्याले असह्य भएपछि होटलबाटै राति साथीले अटो चढाएर अस्पताल ल्याएका थिए । 

पाप धुरीबाट कराउँछ भनेझैं १८/१९ वर्षीया ती कुमारीआमाको गर्भले अन्ततः होटलवाला पोलिएका छन् । शुरुमा विवाहित भनेर ढाँटे पनि सोधपुछ गर्दै जाँदा उनी यौनधन्दामा संलग्न रहेको खुलासा भएपछि होटलवाला पक्राउ परेका छन् । होटलमा कलिला केटीहरू राखेर देहव्यापारमा लगाउने केन्द्रीय बसपार्कस्थित धादिङ गेष्ट हाउसका सञ्चालक केशव लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानपश्चात् अदालतमा पेश गरिसकेको छ । हिजोसम्म अदालतबाट कुनै आदेश भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

लामिछानेले ती केटीलाई १५/१६ वर्षको उमेरदेखि नै देहव्यापारमा लगाएको बुझिन्छ । अरु कलिला केटीलाई पनि वेश्यावृत्तिमा लगाउने गरेको पाइयो । जतिजना ग्राहकसँग बसे पनि उनीहरूलाई दिनको ५०० रूपैयाँ दिएर धन्दा चलाउँदै आएका लामिछानेविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको छ । ती केटीहरूका अनुसार लामिछानेचाहिँ राति आफ्नी सालीसँग सुत्थे । पारस बसपार्कतिर अन्य होटलहरूमा पनि कन्ट्याक्टमा देहव्यापार भइरहेको उनीहरूले बताएका छन् ।

धन्न ती गर्भवतीको ज्यान जोगिएको छ । भरतपुर अस्पतालमा दुई–दुई पटकको थप उपचारपछि बल्ल उनको राम्ररी गर्भपतन हुनसक्यो । बुझिएअनुसार पेटमा २५/२६ हप्ताको गर्भ थियो । मरेको बच्चा जन्मिँदा ९५० ग्रामको थियो । घटनापछि महिलालाई माइती नेपालको संरक्षणमा राखिएको छ । उनीसँगै सोही होटलमा यौनधन्दामा लगाइएकी१७ वर्षीया अर्की किशोरी पनि माइती नेपालकै संरक्षणमा छिन् । अर्कीलाई पढ्न काठमाडौं पठाउने र गर्भपतन गराइएकी युवतीलाई व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गर्न लागिएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले बताए ।
 

टिप्पणीहरू