चीनले नेपाललाई के दिनसक्छ कोशेली
‘चीनलाई नेपालसँग सिमाना जोडिँदा फाइदै मात्रै छ ।’ चीनका छिमेकी मुलुकहरूसँगको सीमामा रहेका तनावहरूलाई अध्ययन गर्ने नेपाली अध्यताहरूको निश्कर्ष हो, उल्लेखित वाक्य । उनीहरू भन्छन्, ‘नेपालबाट पूर्व र पश्चिमको भारतसँग जोडिएको सीमा क्षेत्र रक्षार्थ सेना पाल्न चीनलाई दैनिक कति ठूलो खर्च हुँदो हो ? नेपालसँगको सीमा क्षेत्रमा त अवश्य पनि त्यसको नगन्य खर्चले धानिरहेको अवस्था छ ।’ यस्तो तर्क गर्नेहरूले के भन्ने गरेको सुनिन्छ भने नेपालसँग सीमा सुरक्षाको विषयमा तनाव नहुँदाको जे जति आर्थिक लाभ चीनले लिइरहेको छ त्यसको केही प्रतिशत मात्र हाम्रो विकास निर्माणमा चीनले खर्च गरिदिने हो भने अवस्था अर्कै बन्छ । यदि चीनले यो तथ्यलाई मनन गर्ने हो र लगानी बढाउने हो भने नेपाल–चीन सम्बन्धसमेत नयाँ ढंगले परिभाषित हुनेछ ।
त्यसो त निकै टाढाको अफ्रिकामा २५०० किलोमिटरको विशाल राजमार्ग निर्माण गरिदिने चीनले चाहँदा नेपालको पूर्वाधार विकासमा सहयोग गर्न नसक्ने कुरै छैन । नेपालको छिमेकी मुलुकहरूसँग के कस्ता सम्बन्ध छन् र तिनलाई शक्ति राष्ट्रहरूको शक्ति संघर्षले कसरी प्रभावित पारिरहेको छ भन्ने कुराका विश्लेषकहरुले चीनको नेपालमा भएका लगानी र त्यसलाई रोक्न भएका प्रयत्नहरु बारे स्पष्ट र तथ्यगत धारणाहरु सार्वजनिक गर्दै आएका छन् ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नदिन भारतले गरेको अर्घेल्याइँ र सो विमानस्थलको नाम लिँदै गर्न खोजिएको प्रचारबाजीभित्रको राजनीति के देखिन्छ भने भारत र अमेरिका कुनै पनि हालतमा नेपालमा चिनियाँ लगानी बढोस् र त्यसले प्रतिफल देओस् भन्ने चाहँदैनन् । यो तथ्यलाई चीनले पनि मनन गर्नुपर्ने नेपाली विश्लेषकहरूको भनाइ छ । पोखरा विमानस्थल चल्न नदिने र त्यसलाई एउटा प्रमाण बनाएर यदि चिनियाँ लगानीमा कुनै पनि पूर्वाधार विकास गरियो भने सो मुलुक सहजै ऋणको पासोमा पर्छ भन्ने जबर्जस्त भाष्य निर्माण गर्न खोजिएको छ ।
अन्तर्राष्ट्रिय उडानको त के कुरा, बुद्ध एयरले पोखराबाट बनारसका निम्ति रुट माग्दासमेत दिइएको छैन । जानकारहरू भन्छन्, ‘यो वास्तवमा ऋणको पासो होइन । तर बनाइएको पासोको रुपमा पोखरा विमानस्थललाई दिनप्रतिदिन स्थापित गरिँदैछ । यदि भारत र पश्चिमा राष्ट्रहरूले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नदिने हो भने चीनतर्फ उड्ने दुई चार वटा विमानले मात्रै सो विमानस्थल धान्न सक्ने अवस्था आउँदैन ।’
नेपालमा विदेशी शक्ति राष्ट्रहरूले गरिरहेका खेल र उनीहरूको भित्री उद्देश्यलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझावका रुपमा नेपाली विश्लेषकहरु भन्छन्, ‘चीनले पोखरा विमानस्थलमा गरेको लगानीलाई बिआरआईअन्तर्गत लगानी हुनाले मिनाहा गर्न सक्ने स्थिति यदि छैन भने सो लगानीको स्रोत भर्ना हुनेगरी एउटा ठूलो लगानी पूर्वाधार क्षेत्रमा अनुदानका रूपमा गर्नुपर्ने हुन्छ । जस्तो कि नेपालमा रेल आउन सक्ने गरी पूर्वाधार निर्माण गरिदिने हो भने त्यसले ठूलो संख्यामा चिनियाँहरूको उपस्थिति बढाउने मात्र होइन कि पोखरा विमानस्थललाई समेत पर्याप्त उडानहरू पुग्ने गरी चहलपहलको वातावरण बन्न सक्छ ।’
तर, नेपालमा यस्तो वातावरण बनाइदिने काम आसन्न चीन भ्रमणका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्लान् या नगर्लान् भन्ने प्रश्न यस सन्दर्भमा अहम रहेको बताइन्छ । के केपी ओलीले आँट गरेर हस्ताक्षर भइसकेको चिनियाँ परियोजना बिआरआई कार्यान्वयनका लागि नेपालभित्रै क्रमशः अलोकप्रिय बनिरहेका ओलीले हिम्मत गर्लान् ? हुन पनि स्थिति कस्तो बनिसकेको छ भने नेपाली महिला फुटबल टिमले खेल हार्दा त्यहाँ केपी ओलीविरुद्ध चर्को नाराबाजी भयो । टुँडिखेलमा भएको नारावाजीले नै संकेत गरिसकेको अवस्थामा ओली दशरथ रंगशालामा किन गए ? केही एमाले नेता नै प्रश्न गरिरहेका छन्, ‘रङ्गशालामा कसका मान्छे थिए ? जबकि तपाईँ टुँडिखेलमा नाराबाजी गर्नेहरू भीम रावल र बालेनका मान्छे हुन् भन्दै हुनुहुन्थ्यो’ ।
नेपालमा हालको स्थिति परिवर्तन गर्न कतै विदेशीहरूले ठूलै लगानीसहित योजना निर्माण त गरिरहेका छैनन् भन्ने आशंका पनि बढेको छ । दलित मन्त्री नबनाइएको विरोधमा एकजना माइतीघर मण्डलामा बसेकै आधारमा ठूलो संख्यामा कसरी उनको पक्षमा जनमत उर्लियो र त्यसको व्यवस्थापन कति सुक्ष्म ढंगले गरिएको थियो भन्ने हेक्का वर्तमान राज्य संयन्त्रलाई सायदै होला । त्यो कार्यक्रमलाई नजिकबाट नियालिरहेका एकजना अध्यताले भने, ‘चीनले फेसबुक लगायतका सामाजिक सञ्जालमाथि त्यसै प्रतिबन्ध लगाएको रहेनछ । कसरी सामाजिक सञ्जाल कुनै एक व्यक्तिका सत्याग्रहको पक्षमा परिचालित भयो भन्ने एउटा उत्कृष्ट उदाहरण त्यो घटना रहेको ती अनुसन्धानकर्ता बताउँछन् ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू