जिबीद्वारा जनताकाे ज्यानउपर ज्यादति
एकातिर लाखौं बचतकर्ताको बिल्लीबाठ बनाउने, अर्कोतिर नियामक निकायबाट इजाजत नलिइकन न्युट्रास्युटिकल्स सप्लिमेण्ट उत्पादन गरी जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने । सहकारी ठगी प्रकरणमा फरार जिबी राईले चलाएको धन्दा हो यो ।
नेचर हब्र्स इन्टरनेशनल प्रालिबाट अवैध नेटवर्किङ्गको साम्राज्य खडा गरेका जिबीको सो कम्पनीले विभिन्न किसिमको फुड सप्लिमेन्ट उत्पादन गर्दै आएको तर अनुमति भने ग्रीन–टीका लागि मात्र लिएको पाइएको छ ।
काठमाडौं महानगरपालिका–३१, नयाँ बानेश्वरस्थित उक्त कम्पनीको दर्ता २०७४ साउन २७ गते भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्दाको बखत कम्पनीको नाम गोर्खा इन्टरनेशनल प्रालि थियो । पछि परिवर्तन गरेर नेचर हब्र्स राखियो । दर्ता नम्बर १७२९२२–०७४–०७५ रहेको सो कम्पनीले ग्रीन–टी उत्पादनका लागि २०७६ पुस १ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरबाट इजाजत लिएको देखिन्छ । त्यतिबेला कार्यालय प्रमुख प्रमोद कोइराला थिए ।
जबकि सप्लिमेण्ट उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट इजाजत लिनुपर्ने व्यवस्था छ । तर, कम्पनीले यो प्रावधान पालना गरेको पाइएन । नेपालको नियामक निकायबाट अनुमति नलिएको कम्पनीले फ्रेन्च सर्ट, क्युकासलगायत विदेशी कम्पनीमा भने आफ्नो उत्पादन दर्ता गरेको छ ।
फुड सप्लिमेण्ट, हर्बल प्रोडक्ट्स, कस्मेटिक्स प्रोडक्ट्स बिक्री तथा वितरणका लागि ती कम्पनीबाट दर्ता प्रमाणपत्र लिइएको पाइएको छ । फुड सप्लिमेण्टका नाममा कम्पनीले औषधीजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गर्दै आएको स्रोतको दाबी छ । कम्पनीले इकसना, ओजस, प्रमेना, रासोन, यार्चासेप्सलगायतका न्युट्रिशनल सप्लिमेण्ट उत्पादन गर्दै आएको थियो ।
इकसना आँखा स्वस्थ राख्ने उद्देश्यले उत्पादन गरिने औषधी हो । त्यसले रेटिना कोषलाई दुरुस्त राख्ने, आँखालाई रसिलो पार्ने बताउँदै कम्पनीले सर्वसाधारणलाई दिउँसै अन्धकार पारिरहेको थियो । त्यसैगरी, ओजोसले मुटुसम्बन्धी स्वास्थ्यमा सहायक भूमिका खेल्ने, एन्टिअक्सिडेण्ट बढाउने, सृजन प्रतिरोधक, ट्युमरको फैलावट रोक्ने र क्यान्सरका कोषहरु बढ्न नदिने भनिएको थियो ।
त्यसले बुढ्यौली घटाउने, पेटको सुक्ष्म जीवाणुहरुलाई उत्तेजित र सक्रिय पार्ने भनी विज्ञापन गरिँदै आएको थियो । यार्चासेप्स्ले रक्त सञ्चार वृद्दि गर्न मद्दत पु¥याउने, पुरुषहरुमा प्रजनन क्षमता सुदृढ गराउने, अन्तरंग मनोदशामा सुधार गर्ने, रक्त नलीहरुको पुनःवृद्दि गर्ने भनी प्रचारसमेत गरियो ।
प्रमेहाले मधुमेहबाट हुनसक्ने रोगहरुबाट बचाउने, प्राकृतिक रुपमा शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने, रासोनले हड्डडीको स्वास्थ्यमा सुधार गर्ने, रक्तचाप घटाउने, पेटको दुखाइ कम गर्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जनाउँदै जिबीको उक्त कम्पनीले मञ्जन, ग्रिन–टी, स्किन केयर प्रोडक्ट्स पनि उत्पादन गर्दै आएको थियो । औषधीजन्य पदार्थको उत्पादनका लागि अनिवार्य औषधी व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
स्रोत भन्छ, ‘जिबीले तत्कालीन खाद्यका डिजीलाई कम्पनी दर्ता गर्न दबाब दिएका थिए । तर, उनले मानेनन् । विभागमा डिजी आउने–जाने क्रम चलिरहन्छ । पछि डिजी फेरेर खाद्यमा जसोतसो दर्ता गरे कि ! तर, औषधी व्यवस्था विभागमा भने दर्ता छैन । यसरी नियम कानुन मिचेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने र पैसा कमाउने धन्दा बेरोकतोक चलेपछि सहकारीबाट झन् सजिलै जनता ठग्न जिबीहरु हौसिने नै भए ।’
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू