पचास हजार मान्छे खोज्दै प्रधानमन्त्री

पचास हजार मान्छे खोज्दै प्रधानमन्त्री
सुन्नुहोस्

‘आफ्नै पार्टीको बहुमत हुँदा पनि ऊ बेला सधैं झगडा हुन्थ्यो, अहिले त झन् आनन्द छ ।’ ‘पढेलेखेको मान्छे, कानुनी कुरा पनि बुझेकै थियो । धेरै बाठो भएर कुरा बिग्रिएको हो ।’ ‘अलि आक्रामक भएर जानुपर्‍यो । प्रतिक्रियावादीहरु धेरै देखा परे, साथीहरु अलि तात्तिएर बोल्नुपर्‍यो ।’

अमेरिकाको सत्ता परिवर्तनले नेपालजस्ता साना र तेस्रो विश्वका मुलुकमा प्रत्यक्ष प्रभाव नपर्ने विज्ञहरुको टिप्पणी आइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने माथिका अनेक प्रसंग कोट्याउँदै डोनाल्ड ट्रम्पको ‘ह्वाइट हाउस’ पुनरागमनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । 

पार्टीको पछिल्लो सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको ब्रिफिङ गर्दै ओलीले दुई छिमेकी चीन र भारतसँग ट्रम्पले राख्ने सम्बन्धका आधारमा नेपालमा कस्तो प्रभाव पर्छ भन्ने निर्भर रहने विश्लेषण गर्नुभयो । ब्रिक्स सम्मेलन र ट्रम्पको पुनर्उदयले नेपालजस्ता साना मुलुकहरुका लागि अनुकूल अवस्था सृजना गरेको ओलीको भनाई थियो । 

अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुनिष्ठ मूल्याङ्कन गरेर फाइदा उठाउनुपर्नेमा जोड दिँदै ओलीले सुनाउनुभयो, ‘अहिले विश्व बहुध्रुवमा गएको छ । त्यो राम्रै हो । डोनाल्ड ट्रम्पले हाम्रा छिमेकीहरुसँग कस्तो सम्बन्ध राख्छन्, त्यसले नेपालमा पर्ने असर थाहा हुन्छ । हामीले अमेरिका, चीन, भारत सबैसँग सम्बन्ध राम्रो राख्नुपर्छ ।’ 

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको यो टिप्पणी आफैँमा अर्थपूर्ण छ । किनभने एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न ट्रम्पले पहिलो कार्यकालमा ‘इण्डो–प्यासिफिक स्ट्राटेजी’ घोषणा गरेका थिए । त्यसैको अंगका रुपमा हेरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनका बेला नेपालमा विवाद हुँदा अमेरिका र चीन वाद–प्रतिवादमै उत्रिएका थिए । चीनलाई कस्न दक्षिण एशिया नीतिमा आक्रामक देखिएका उनै ट्रम्पको जितलाई सकारात्मक भनेका प्रधानमन्त्री ओलीले डिसेम्बर २ देखि बेइजिङ यात्रा थाल्दै हुनुहुन्छ । 

उपनिर्वाचनको तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्रीले सत्ता सहकार्यमा कांग्रेसको भूमिकाको खुलेर तारिफ गर्नुभयो । सरकार सञ्चालन गर्न अहिलेसम्मकै ‘कम्फरटेबल’ भएको ब्रिफिङ गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेससँगको सहकार्य एकदम सहज र सजिलो छ । यस्तो सजिलो मन्त्रिमण्डल कहिल्यै थिएन । आफ्नै पार्टीको बहुमत हुँदा पनि ऊ बेला सधैं झगडा हुन्थ्यो, अहिले त झन् आनन्द छ ।’ 

सरकार सञ्चालनका लागि दुबै पार्टीका नेताहरु सम्मिलित साझा संयन्त्र गठन गर्ने प्रस्ताव बैठकमा पेश गरिएको र सामान्य छलफलबिनै पास भएको पनि एक जना सचिवले बताए । 

अघिल्ला बैठकहरुमा भारतको नाम नलिई देशी–विदेशी षड्यन्त्रको चर्चा गर्ने प्रधानमन्त्री ओलीले यो बैठकमा भने दक्षिणी छिमेकीको खासै चर्चा गर्नुभएन । लामो समय कुर्दा पनि दिल्ली भ्रमणको निम्तो नपाएपछि चीन जाने निर्णयमा पुग्नुभएका उहाँले बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने–नहुने प्रष्ट नखुलाएको बैठक स्रोत बताउँछ । ‘अहिले तयारी हुँदैछ, सबै टुंगिएको छैन । फेरि बैठक राखेर एजेण्डाहरूबारे छलफल गरौला’, उहाँको भनाई स्रोतले सुनायो । 

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री तथा पार्टीका राष्ट्रिय पार्षद लीलाबल्लभ अधिकारीबारे पनि सचिवालय बैठकमा चर्चा भएको थियो । ब्रिफिङ गर्दै ओलीले भन्नुभयो, ‘पढेलेखेको मान्छे, कानुनी कुरा पनि बुझेकै थियो । धेरै बाठो भएर कुरा बिग्रिएको हो ।’

त्यस्तै, अघिल्लो वर्ष दुर्गा प्रसाईंलाई काउण्टर दिन महेश बस्नेतको अगुवाइमा आन्दोलन गरेकै दिन पारेर मंसिर ७ गते काठमाडौँमा ‘जागरण सभा’ गर्ने निर्णय पनि बैठकले गरेको छ । गत वर्ष प्रसाईंले लघुवित्त र सहकारी पीडितलाई काठमाडौंमा उतारेका थिए । त्यही दिन एमालेको युवा संघले पनि जनप्रदर्शन गर्नेक्रममा दुई पक्षबीच झडपसमेत भएको थियो । यस पटक सत्तामा रहेको एमालेले त्यही दिन पारेर जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्न लागेको हो । 

सरकार र आफ्नो बचाउमा कार्यकर्ता नउत्रिएको भनी असन्तुष्टि जनाउँदै आउनुभएका ओलीले ५० हजार मान्छे उतार्न निर्देशन दिँदै भन्नुभयो, ‘पार्टी अलि आक्रामक भएर जानुपर्‍यो । प्रतिक्रियावादीहरु धेरै देखा परे, साथीहरु अलि तात्तिएर बोल्नुपर्‍यो ।’

बैठकले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गर्दै पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । अन्तिममा महासचिव शंकर पोखरेलका दाइको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले श्रद्धाञ्जली अर्पण गरेको थियो । बैठकमा शंकरसहित उपाध्यक्ष गुरु बराल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहभागी थिएनन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित कुनै पनि सचिवालय सदस्यले ठोस धारणा राखेनन् ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू