अमेरिकाको चुनाव देखेर नेपाली चकित

अमेरिकाको चुनाव देखेर नेपाली चकित

अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गरेर फर्किएका नेपालको निर्वाचन आयोगका हाकिमहरू उताको प्रणाली देख्दा छक्क परेका छन् । भन्छन्, ‘निर्वाचन भनेको त त्यो पो हो ।’ चुनाव पर्यवेक्षण गर्न प्रमुख आयुक्तसहित तीन जनाको टोली अमेरिका गएको थियो । हाल जम्मा चार जना आयुक्त रहेकोमा तीन जनालाई मात्रै निमन्त्रणा आएको हुँदा सगुनसमशेर जबरा छुटेका हुन् । 

यहाँ हामीले अमेरिकी राष्ट्रपतिको चुनाव मात्रै भनेर बुझे पनि यो त्यहाँको आवधिक निर्वाचन हो । यसैमार्फत त्यहाँ दुई वर्षमा छनोट हुने सांसदहरू, रिक्त सिनेटरहरू, राज्यका गभर्नरदेखि नगरपालिका प्रमुख र अन्य पदाधिकारीसमेत आएका छन् । त्यसमाथि एउटै मतपत्रमार्फत एकमुष्ठ निर्वाचन भएको हो । निर्वाचनमार्फत विवास्पद कानुन संशोधनसमेतमा जनमत लिने प्रक्रिया वास्तवमै रोचक पनि छ । 

अमेरिकामा अग्रिम चुनाव हुने गर्छ । हुलाकमार्फत घरमै बसेर वा १५/२० दिनअगाडि नै आफू जहाँ छु त्यहीँबाट मतदान गर्न पाउने सुविधा नागरिकहरुलाई दिइएको छ । यहाँ जस्तो चुनावअघि जम्मा मतदाता कति भन्ने कुराको त्यहाँ कुनै हिसाब किताब हुँदैन । मतदानकै दिन आफ्नो नाम दर्ता गराएर तुरुन्तै भोट हाल्न सकिन्छ । 

अमेरिकाहरू निर्वाचन प्रक्रियामा सुरक्षाकर्मीको भूमिका अत्यन्तै न्यून हुनुपर्छ भन्ने मान्यता राख्दछन् । त्यसैले मतपेटिकाको छेउमा तिनले जान पाउँदैनन् । हाम्रोमा भने मतपेटिका छेउ हतियारधारी प्रहरी उभ्याएर भोट हाल्न लगाइन्छ । न त नेपालमा जस्तो दलका पोलिङ एजेन्ट नै त्यहाँ राख्ने र बस्ने व्यवस्था छ । 

हामी अत्याधुनिक प्रक्रिया भन्दै इलेक्ट्रोनिक विधिबाट मतदानको कुरा गरिरहेका छौं तर त्यहाँ भने कागजमा नै मतदान गर्ने चलन छ । बरु त्यो कागजी मतपत्रलाई अत्याधुनिक मेसिनले तुरुन्तै गणना गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैले अमेरिकीहरू कागजमै मतदान गर्छन् र काउन्टिङ मेसिनमा छिराइदिन्छन् । अमेरिकामा नेपालमा जस्तो पैसाले मत किन्ने कुरा लगभग असम्भव नै छ । भलै यो चुनावमा संसारकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले पैसा बाँडेर मत किनेको चर्चा व्यापक रुपमा चल्यो । 

एजेण्डाका आधारमा व्यक्तिहरू निर्वाचित या पराजित हुने हुँदा त्यहाँ अन्य कुराले खासै महत्व राख्दैन । त्यसैगरी टिकट पाउन सधैँभरि नेताहरूको चाकरी गर्नुपर्ने नियतिमा त्यहाँका दलीय कार्यकर्ता हुँदैनन् किनकि त्यहाँ कुनै पनि पदमा निर्वाचित हुन सबैभन्दा पहिले प्राइमरीबाट आएको हुनुपर्छ । जो प्राइमरीबाट निर्वाचित हुन्छ त्यही नै उम्मेदवार बन्ने हुँदा नेताको चाकरीले त्यहाँ कुनै अर्थ राख्दैन । 

अमेरिकी चुनावको नतिजा अप्रत्यासित आयो । कमला ह्यारिसले जित्ने सम्भावना बढी देखाइए पनि ट्रम्पले बाजी मारेको जुन बुझाई बाह्य विश्वमा रहेको छ त्यो सही नभएको त्यहाँबाट फर्केका पर्यवेक्षकहरु बताउँछन् । तिनका अनुसार, त्यहाँ विशेषगरी दुई वटा नीतिले मतदाताहरूलाई डोनाल्ड ट्रम्पतर्फ आकर्षित गरेको रहेछ । डेमोक्रेट पार्टीसँग अमेरिकनहरू असन्तुष्ट रहनुको एउटा कारण हो उनीहरूले अवलम्बन गर्दै आएको अध्यागमन नीति । अमेरिकी जनता जुनसुकै माध्यमबाट र जसरी पनि अमेरिका छिरेपछि तिमीहरूको रक्षा हामी गर्छौं भन्ने नीतिले विश्वव्यापी रुपमा मानव तस्करीलाई बढावा दिइरहेको ठान्दा रहेछन् । त्यही नीतिका कारण मानव तस्करहरूले अविकसित र अल्पविकसित राष्ट्रका मानिसहरूलाई महँगो पैसा लिएर, ठूलो सपना देखाएर दुःखदायी यात्रा गराउने र तस्करीको सञ्जाल विश्वव्यापी रुपमा फैलाउने गरेको हुँदा यस्तो नीति गलत रहेको उनीहरुको बुझाई रहेछ । कानुनी बाटो अवलम्बन गर्दै मानिसहरूलाई भिœयाउनुको सट्टा गैरकानुनी माध्यमबाट छिर्न उक्साउने नीति गलत भएको उनीहरुको ठहर रहेको यो चुनावले देखाएको छ । 

अर्को हो आर्थिक नीति । अमेरिकी जनता आफ्नो देश पुँजीवादी भएको हुनाले यसले समाजवादलाई वा कम्युनिष्ट मान्यतालाई सहयोग पुग्ने खालको नीति अवलम्बन गर्न हुँदैन भन्ने विश्वास राख्दछन् । तर यसचोटी डेमोक्रट्सहरूले पुँजीवादलाई कमजोर बनाउने काम गरे भन्ने उनीहरूको बुझाई देखियो । कमला ह्यारिसले अवलम्बन गरेको वा वकालत गर्दै आएको यही नीति अमेरिकाहरूलाई चित्त बुझेन । सामाजिक सुरक्षाको नाममा जथाभावी पैसा बाँड्ने होइन कि मानिसहरूलाई प्रतिस्पर्धात्मक विधिबाट सम्पत्ति आर्जन गर्न र पर्याप्त रुपमा कर तिरेर राज्यलाई धनी बनाउन उत्प्रेरित गर्नुपर्छ भन्ने जनताको धारणा बलशली रहेको पाइयो । त्यसैले कम्युनिज्मतर्फ अगाडि बढ्ने खतरालाई रोक्न डोनाल्ड ट्रम्पलाई पुननिर्वाचित गरिएको विश्लेषण अमेरिकी निर्वाचनको नतिजा सार्वजनिक भएपश्चात् गर्न थालिएको छ । 

त्यसबाहेक डेमोक्रेट सरकारले समलिङ्गी विवाहलाई प्रश्रय दिएको कुरामा पनि अमेरिकी जनता खुशी नरहेको देखिएको विश्लेषण गरिँदैछ । युद्धप्रतिको वितृष्णा पनि अर्को कारण हो । भियतनाम र कोरियन वारमा अमेरिकाले भोगेको दुःख फेरि नदोहोरियोस् भन्ने चाहना अमेरिकी जनतामा रहेको पाइयो । सिरिया, इराक, अफगानिस्तानमा आफ्ना छोराछोरी अनाहकमा मरेको पीडा अमेरिकाले बिर्सिसकेको छैन । बरु आफ्नै मुलुकको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने ट्रम्पको मान्यतालाई जनताले अनुमोदन गरेको रुपमा समेत यो निर्वाचन परिणामलाई हेरिँदैछ । डेमोक्रट्सहरूले युद्धलाई सहयोग गर्ने र अमेरिकालाई युद्धमा होम्ने काम गरिरहेको भनेर त्यहाँका जनताले चित्त दुखाएका छन् । अहिले जारी रुस– युक्रेन युद्ध रोक्छु, मध्यपूर्वमा शान्ति स्थापना गर्ने काममा सक्रियता देखाउँछु भन्ने ट्रम्पको भनाइप्रति जनता विश्वस्त रहेको देखिन्छ ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू