अर्चनामाथि रवि लामिछानेको अचाक्ली
भनिन्छ, ‘झुठो टिक्दैन, सत्य डग्दैन ।’ गृहमन्त्रीसमेत रहिसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका हकमा यो भनाइ ठ्याक्कै मेल खाएको देखिन्छ ।
भुँइमान्छेको रगत, पसिनाको कमाइ हिनामिना गरेको आरोपमा प्रहरीको चंगुलमा पुगेका उनका काण्ड अनगिन्ती छन् । एउटा काण्डमाथि पर्दा हाल्न अर्को काण्ड गर्ने उनी हरेकपटक ‘स्टण्टबाजी’ गरेर जोगिँदै आएका थिए । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला ज्यान जोगाउन र धन कमाउनका लागि अमेरिका पुगेका उनले त्यहाँ वैधानिक श्रीमती इशा श्रेष्ठसँगै दुई छोरीको बिल्लीबाठ बनाए । अर्की विदेशीलाई पनि बच्चासहित अलपत्र पारे, एउटी चर्चित अभिनेत्रीको घरबार झण्डै डुबाए ।
अमेरिकामा अप्ठ्यारो पर्दै गएपछि नेपाल पसेका उनले जानाजान कानुन उल्लङ्घन गर्दै गए । लोकरिझ्याइँको आडमा आफूलाई कानुनभन्दा माथि ठानेका उनले जनविश्वासको समेत दुरुपयोग गरे । हिरासतबाहिर कार्यकर्ताको प्रदर्शनमार्फत उनी अझै पनि कानुनी कारवाहीबाट उम्किन प्रयत्नरत नै छन् । तर, यसपटक भने सहजै उम्किने सम्भावना कमै देखिन्छ । किनकि सवाल एउटा पत्रकारको आत्महत्या र ड्राइभरको मृत्यु मात्र नभई लाखौं बचतकर्ताको करोडौं रुपैयाँ अपचलनको पनि हो ।
अमेरिकाबाट फर्किएपछि उनले केपी ओलीको सहयोगमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ नामक टक शो चलाए । नेपाल टेलिभिजनको सो कार्यक्रम पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्द गराइदिए । त्यसपछि न्युज २४ मा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाउन गए । राजनीतिक दल र नेतालाई गाली गरेर जनसमुदायमा एक किसिमको छाप छोडे । कार्यक्रममार्फत् विदेशमा अलपत्र परेका, बेचिएका चेलीहरुको आवाज उठाउँथे । यतिसम्म कि अर्काले गरेको सहयोगमा पनि आफ्नै नेमट्याग लगाउँथे ।
केही वर्षअघि मकवानपुरकी अर्चना थापा वैदेशिक रोजगारीको सिलसिलामा इराक गइन् । उनलाई त्यहाँ पुगेपछि मात्र आफू बेचिएको थाहा भयो । एक प्रवासीको सम्पर्कमा पुगिन् । तिनले उनलाई कुवेतस्थित नेपाली राजदूतावाससँग जोडिदिए ।
त्यतिबेला दूतावासमा अफिसर दिनेश अधिकारी थिए । हाल परराष्ट्र मन्त्रालयमा छन् । अर्चनासँग पासपोर्ट नभएकाले दूतावासले ट्राभल डकुमेण्ट बनाइदियो । तर, नेपाल फर्किन दुई हजार डलर लाग्ने भएपछि समस्यामा परिन् । सहयोगका लागि लामिछानेलाई गुहारिन् । पहिले उनले सहयोग गर्ने प्रतिबद्धता जनाए । पछि १५ दिनसम्म लगातार फोन उठाएनन् । त्यसपछि प्रवासीहरुले त्यति रकम संकलन गरेर उनलाई नेपाल फर्काइयो । नवीन खड्डकालगायतले उनलाई स्वदेश फर्किनमा सहयोग गरेको स्रोतको भनाइ छ । नेपालीमा एउटा प्रख्यात उखान छ,‘काम गर्ने कालु,मकै खाने भालु ।’ लामिछानेले पनि त्यही गरे । अर्चना स्वदेश फर्किएपछि आफ्नो प्रयासमा नेपाल फर्काइएको भन्दै चर्चा बटुले ।
त्यतिबेला मलेसियाबाटै अर्चनाको उध्दारमा सँलग्न समर्पण भट्टराई भन्छन्,‘रविको असली अनुहार मैले त्यतिबेला देखेँ । हामी सबै प्रवासी मिलेर ती बहिनीलाई स्वदेश फर्कायौं । तर,उनले म एक्लैले सहयोग गरेर नेपाल ल्याएको हल्ला चलाए । त्यसपछि यिनले कतिसम्म झुठ बोल्न सक्दा रहेछन् भन्ने थाहा भयो । मैले देखेर के गर्ने ? सबै उनकै नामको गीत गाउँथे । आखिर त्यस्तै व्यक्ति देश बनाउँछु भनेर हिँड्डदा सबैले पत्याउने रहेछन् ।’
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू