विमानस्थल १० घण्टा किन बन्द ?

विमानस्थल १० घण्टा किन बन्द ?

राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका नाममा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ । यो क्रम चैत्रसम्म चल्नेछ । प्रतिदिन ७ वा ८ घण्टा बन्द गर्दा हुने भए पनि ठेकेदारलाई खुशी पार्न व्यवस्थापन पक्षले प्रतिदिन १० घण्टा बन्द गरेको प्रष्ट छ ।

यसरी एयरपोर्ट बन्द गर्दा देशको पर्यटन क्षेत्रलाई आर्थिक रुपमा ठूलो असर पर्ने निश्चित छ । यसरी बढी समय एयरपोर्ट बन्द गर्नमा पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डे, सचिव गणेश पाण्डे र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको प्रत्यक्ष संलग्नता देखिन्छ । रन वे बनाउँदासमेत ६ घण्टाभन्दा बढी विमानस्थल बन्द नगरेको इतिहास भए पनि यी तीनै जनाले ट्याक्सी–वे निर्माणको काममा दिनको १० घण्टा किन बन्द गराए आफैंमा अनुसन्धानको विषय हो।

त्रिभुवन विमानस्थल बन्द गरेर उडान भैरहवा र पोखरा डाइभर्ट गर्ने उनीहरुको अर्को योजना हो, यसले गर्दा सर्वसाधारणको लागि विदेशयात्रा महँगो भइरहेको छ । एयरलाइन्स कम्पनीहरुले पनि यात्रुको अभावमा भैरहवा उडान भर्न सकेका छैनन् । इन्टरनेशनल उडान भर्ने यात्रु भैरहवाबाट एक जना पनि नहुने, सबै जसो काठमाडौंबाट चढ्नेहरु छन्। 

विमानस्थलको रनवे समानान्तर हुने गरी ट्याक्सी–वे तथा एक्जिट ट्याक्सी–वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोन बनाउने गुरुयोजना भए पनि अहिले भने ट्याक्सी–वे मर्मत सुधारमात्रै गर्न ठेकेदारसँग सम्झौता गरिएको छ । करिब चार अर्ब रुपैयाँको लगानीमा मर्मत कार्य अघि बढाइएको हो । 

आपूर्ति कम र माग बढी हुँदा सेवा वा वस्तुको मूल्य अकासिन्छ । यात्रुको चाप बढी हवाई उडान कम भएपछि स्वभाविक रुपमा भाडामा वृद्धि हुने हुन्छ । उडान प्रभावित नहोस् भनेर नागरिक उड्डयन प्राधिकरणले ८ घण्टा मात्रै एयरपोर्ट बन्द गर्ने हो भने पनि चाप कम हुने र भाडा दर पनि घट्ने दावी विश्लेषकहरुको रहेको छ । त्यसो त राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा पनि काम गर्दा वर्किङ आवर भनेको ८ घण्टा मात्रै हुन्छ । तर यहाँ चाहिँ १० घण्टा निर्धारण गरिएको छ । श्रमिकलाई हप्तामा ४० घण्टाभन्दा बढी काम लगाउन नपाइने नियम छ । यहाँको हकमा पनि आईएलओकै रुल आकर्षित हुन्छ  । समस्या कमिशनखोरहरुको नियतमा देखिएको छ तर बदनाम भने एयरलाइन्स कम्पनीहरुले हुनु परेको छ । 

नेपालमा एयरपोर्टको ठेक्का जोसुकैले पारे पनि त्यसको भित्री मियो भने धनबहादुर बुढा हुन् । नेकपा (एस)बाट पर्यटन राज्यमन्त्री बनेका उनी डोल्पाली माननीय हुन् । त्यसो त पाण्डे—पाण्डेको बीचमा बसेका अधिकारीले नेपाल एयरलाइन्सलाई निजीकरणमा लैजाने र भएका विमान पनि यति लगायतका निजी कम्पनीलाई बेचबिखन गर्ने ग्राण्ड डिजाइन तयार गरिरहेको अवस्था छ । सुगतरत्न कंसाकारले सञ्चयकोषसँग ११ प्रतिशत ब्याजमा ऋण लिएर नेपाल एयरलाइन्स चलाउँदा सरकार ग्यारेन्टी बसेको तर २ प्रतिशत व्याजमा ऋण लिन नमानेको घटनाले पनि यो भनाइलाई पुष्टि गर्ने आधार देखिएको दावी कसै कसैको छ । सचिव पाण्डे चैतमा रिटायर्ड हुँदैछन् । घर जानुअगाडि उनलाई केही न केही नगरी हुँदै भएको छैन । 

– जिएस डाँगी

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू