जहाँ सडक छैन, त्यहाँका जनप्रतिनिधिलाई विलासी गाडी !
कुनैबेला तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समुद्रमा नेपालको झण्डा फहराएका पानी जहाज चल्ने उद्घोष गरिरहँदा छेउमा बसेका कार्यकर्ताले करतल ध्वनीका साथ हात बजाएका थिए । भूपरिवेष्ठित मुलुक, त्यो पनि आर्थिक रुपले विपन्न नेपालले समुद्रमा जहाज चलाउने ? भन्दै विपक्षीहरुले खिसीटिउरी गरेका थिए ।
अहिले त्यस्तै सन्दर्भ मनाङमा नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष जितेका जनप्रतिनिधिले देखाएका छन् । नार्पा भूमि गाऊँपालिकाका अध्यक्ष कोन्जो तेन्जिड्ग लामा उर्फ बाबाले पनि तत्कालीन प्रधानमन्त्रीको शैली पछ्याएका हुन् ।
मनाङ निकै विकट जिल्लाको रुपमा परिचित हिमालपारिको जिल्ला हो । त्यसमा पनि सडक सञ्जालले छुँदै नछोएको विकट गाऊँपालिका नार्पा भूमि हो । सोही गाउँपालिकाका अध्यक्ष बाबा उर्फ तेन्जिङ्गले ४० लाखभन्दा बढी मूल्य पर्ने कालो रंगको स्कोर्पियो गाडी खरिद गरेपछि अहिले मनाङतिर उनी हाँसोको पात्र बनेका छन् । नार्पा भूमिबारे जानकारहरुका लागि उनी आफैँ ‘जात्रा’ को पर्यायवाची भएका छन् ।
स्थानीय सरकार भनिने गाउँपालिकाको ठूलो बजेट आफ्नो शान र सुविधा बढाउन खर्चिएपछि स्वयम् उनका मतदाता चिढिएका छन् । ‘त्यत्रो रकम बरु बाटो चौंडा र सुविधाजनक बनाउने कार्यमा प्रयोग गरेको भए हुन्थ्यो, साइकल कुदाउने बाटो नभएको ठाउँमा किन गाडी किनिएको होला ?,’ एक स्थानीयले प्रश्न गरे, ‘यस्तोमा अख्तियार लाग्दैन ?’
जीपको अगाडीको ढोकामा नार्पा भूमि गाउँपालिकाको लोगो टाँसिएको छ । सरकारी ६२७ नम्बर प्लेट भएको कालो रंगको स्कार्पियो गाडी प्रायः काठमाडौं, पोखरालगायत शहरमा हुँईंकिन्छ । तर, गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीले नार्पा भूमिको कुनै सीमाना छुन र देख्नसम्म पाएको छैन ।
सदरमुकाम चामे पनि नार्पा भूमिबाट आउँदा जाँदा कोत्रोबाट जम्माजम्मी तीन किलोमिटरको दूरीमा छ । त्यसैले मनाङ जिल्लातिर पनि उक्त गाडी कसैले देख्दैनन् । नार र फू दुई गाऊँलाई मिलाएर नार्पा भूमि नामाकरण गरिएको हो । चामे नजिकैको कोत्रोबाट हिँडेर पूरा एक बिहानमा मेहता भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट नार र फू जाने बाटो छुट्टिन्छ ।
पहरा खोपेर बनाइएको घाडेबाटो हुँदै जानुपर्छ विकट गाऊँ नार फू । जहाँ भविष्यमा पनि मोटर बाटो पुर्याउन राष्ट्रिय बजेट नै पार्नुपर्ने हुन्छ । तर त्यो अहिलेलाई असम्भव झैँ छ । नार्पा भूमि गाउँपालिकाको मतदाता संख्या पाँच सयको हाराहारीमा छ । तीमध्ये पनि केही पोखरा, काठमाडौं र विदेशतिरै बस्छन् ।
स्थानीय स्तरमा महंगो जडीबुटी यार्सागुम्बा टिप्न स्वीकृति दिने र त्यसबाट लिइने राजश्व, यार्सा ओसारपसारको स्वीकृतिमा लिइने कर बाहेक खासै आम्दानीको स्रोत नभएको उक्त गाऊँपालिका सरकारी बजेटबाटै चल्ने गरेको छ । तिब्बतको सीमानामा जोडिएको गाउँ भएकाले विदेशी पर्यटकको पनि आउजाउ हुने गरेको छ । सामान्य लगानीका होटल पनि सञ्चालनमा छन् । तर, भौतिक सुविधाका हिसाबले अन्य गाउँँपालिका जस्तो देखिँदैन ।
वास्तविकता यस्तो हुँदाहुँदै अध्यक्ष बाबा उर्फ तेन्जिङको व्यक्तिगत सुविधाका लागि उक्त गाडी खरिद गरिएकोमा कुनै शंका नभएको बताइन्छ । अधिकांश समय काठमाडौंमै बिताउने उनी गाउँ जाँदा र आउँदा धेरैजसो हेलिकोप्टर प्रयोग गर्ने गरेको स्थानीय सुनाउँछन् ।
उनी स्वयम् यार्सागुम्बाका प्रमुख व्यवसायी पनि हुन् । त्यो बाहेक पनि अन्य विभिन्न व्यापार व्यवसायमा उनको लगानी रहेकाले उपाध्यक्षलाई निमित्त दिएर उनी अधिकांश समय राजधानीतिरै व्यस्त हुने गरेको स्रोत बताउँछ ।
गाडी खरिदको विषय आफैँमा सरकारी बजेटको दूरुपयोगको प्रतिनिधि प्रमाण हुन पुगेको छ । महँगो गाडी खरिद प्रक्रियामा भ्रष्टाचार नभए पनि सरकारी सम्पत्ति दूरुपयोग भएको विषयमा भने सम्बन्धित निकाय मौन बस्नुलाई धेरैले अचम्म मानेका छन् ।
टिप्पणीहरू