फुटेको अण्डालाई कसरी जोड्ने ?

फुटेको अण्डालाई कसरी जोड्ने ?

फुटेको वा फुटालेको अण्डालाई पुनः जोड्न सकिन्न । अण्डा फुटेपछि सक्कियो । कतिपयले नेकपाको फुट, एमालेको फुट र अहिले आएर माके र एसबीच आएको दरारलाई यस्तै परिप्रेक्ष्यमा राखेर बुझ्ने गरेको देखिन्छ । तर, राजनीतिमा ठ्याक्कै यस्तो भने हुँदैन । किनभने हरेक ठूला–साना घटनाले नयाँ परिस्थितिलाई जन्म दिन्छ र त्यो परिस्थितिले नयाँ संभावना देखाउँछ । हामीले फुटेको अण्डालाई फाल्ने होइन कि कसरी अम्लेट बनाएर खान सकिन्छ भन्ने तरिका सिक्ने हो । अहिले जायज नाजायज तरिकाले भए पनि, नामले कम्युनिष्ट वा वामपन्थी भने पनि, उनीहरू केन्द्रीय सरकारमा त पुगिनै सकेका छन् र अब प्रदेश सरकारमा पनि जाँदै छन्  । यसलाई चानचुने अवस्था भन्न मिल्दैन । यो पनि ऐतिहासिक घटना नै हो ।

यो एमाले र माकेको बीचमा भएको आश्चर्यजनक गठबन्धन वा भनौं सहकार्यले राजनीतिक तथा सैद्धान्तिक हिसाबले लडाइँमा रहेका पुँजीवादी शक्ति र वामपन्थी शक्तिबीच प्रष्ट कित्ताकाट हुने अवस्था बन्न पुगेको छ र भविष्यमा हुने लडाइँ भनौं कि प्रतिद्वन्द्विता जे भने पनि राजनीतिक सिद्धान्त र विचारधाराको आधारमै हुनुपर्छ र हुन सक्छ भन्ने आधारभूमि तयार भएको छ । अहिलेको सत्ता गठबन्धनमा सामेल भएका अन्य छुटभैय्या दलहरूको न राजनीतिक सिद्धान्त छ न त राजनीतिक बिचारधारा नै । यिनीहरू भनेका पोखरीमा आफ से आफ उत्पन्न भई हुर्कने हिलेमाछाजस्ता हुन् जो एउटा वातावरण पाएर हुर्केर ठूला देखिन्छन् तर यथार्थमा तिनको कुनै मूल्य हुन्न र महत्त्व पनि । 

पुरानो नेकपाभित्रको लफडा, जो जताततै विग्रह, बेमेल र फुट ल्याउन कारगर सावित भएको थियो, को चुरो कुरा पावर सेयरिङ नै थियोे । ओली कमरेड ज्यानजाला पावर सेयरिङ नगर्ने, प्रचण्डलाई पनि पावर एक्सरसाइज गर्नैपर्ने र अन्ततः माधव कमरेडलाई पनि कि राज्य सत्ता होइन भने पार्टी सत्ताको शक्ति भए पनि अभ्यास गर्नैपर्ने । यी तीनवटा पार्टी पुनः जन्मनुको कारण त यहि नै थियोे । यदि, आज प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्नेले त्यहीबेला बनाइदिएको भए यो अवस्थामा पार्टी र आन्दोलन पुग्ने नै थिएन । जेहोस् अब यसलाई आत्मसमीक्षाको विषय बनाउँदै नयाँ बनेको परिस्थितिलाई बुद्धिमत्तापूर्वक नयाँ सहकार्य, नयाँ एकता र नयाँ ध्रुवीकरण गर्नमा बदल्नेतिर लाग्नुपर्छ । पदलोलुपता त्याग्नुपर्छ । षड्यन्त्र गर्ने चरित्र त्याग्नुपर्छ ।

गुटबन्दी त्याग्नुपर्छ । यी कुरा एकता, आन्दोलन र क्रान्ति सबैका शत्रु हुन् । यहाँ भन्नैपर्ने थप केही कुरा पनि छन् जसलाई ध्यानमा राख्न सकिएन भने आन्दोलन र ध्रुवीकरण दुबै हुन मुस्किल पर्नेछ । भलै जनताले वामपन्थी रुझान भएकाहरूलाई मत दिएका हुन् तर उनीहरूले वामपन्थी इमानप्रति ठूलो शंकाको नजरले हेर्छन् । उनीहरूको नजरमा वामपन्थी दलहरूको भनाइ र गराइमा असाध्यै ठूलो विरोधाभाष र असामन्जस्यता छ । आम मानिससँग संवाद गर्दा उनीहरूले भन्छन् । उनीहरूको संगत, जीवनशैली, वर्गपक्षधरता वामपन्थी शैलीको छँदै छैैन भनेर हामीसँग तिक्तता पोख्छन् । संगत को–कस्तासँग छ, जीवनशैली कस्तो छ र उनीहरू कसको हितमा हिँड्छन् भन्नेकुरा कसैबाट छिपेको छैन पनि । यस्तो प्रबृत्तिमा सुधार ल्याउनु जरुरी छ । सुधार आएन वा ल्याउन सकिएन भने हामीले चाहेर पनि वाम आन्दोलन मजबुत हुनेछैन । नेताको एकीकरण वा ध्रुवीकरणले मात्रै आन्दोलनलाई जोगाउन सक्नेछैन ।

अब सबैले हिजोको यथार्थबाट शिक्षा लिनुपर्छ । कमल थापा, राजीव गुरुङहरू हाम्रा पक्षधर हुँदै होइनन् र कदापि हुने छैनन् पनि । उनीहरूले चुनाव जितेर हामीले भनेको वर्ग र समुदायको हित हुँदैन । बरु यिनीहरूको जितले वामपन्थी आन्दोलनलाई कमजोर तुल्याउँछ । हामीले आफ्नो भन्ने गरेको वर्ग र समुदायको विरुद्धमा काम गर्छ । एक भोटले चुनाव जितिने र सरकार पनि बन्न सक्ने चुनावी परिपाटी भएको कारणले यस्ता हर्कत ठीक हुन् कि जस्ता लाग्न सक्छन् । तर, जनताको नजरमा त्यस्तो काम भनेको वैचारिक विचलन हो त्यसकारण त्यो बेठीक हो । अब यस्ता उट्पट्याङजस्तो लाग्ने आफ्नै पार्टीको सदस्यलाई टिकट नदिन सिद्धान्त नभएका दलका मान्छेलाई टिकट दिनेजस्ता काम गर्न बन्द गरिनुपर्छ । 

अब नर्कको बाटो पनि असल मनशाय राखेरै बनाइएको हुन्छ भनेजस्तै यो एमाले–माके सहकार्य पनि खास गरेर कार्यकर्ता र जनताको नजरमा राम्रै कामको निम्ति भएको छ भन्ने परेको छ । यो भावनाको सम्मान गरिनुपर्छ र यसलाई उनीहरूले सोचेजस्तै हो भनेर कामबाट आश्वस्त पार्नुपर्छ । सहकार्य गरेको धेरै भएको छैन, मान्छेहरूले आफ्ना दुर्गुण फेरि प्रदर्शन गर्न लागिसकेका छन् । यो स्वस्फूर्त हो कि सुविचारित हो ? अहिले सामाजिक सञ्जालमा जे–जस्ता अशोभनीय बचन पढ्न पाइन्छन् ती कुनै बचनले पनि सहकार्य र एकतालाई बल पुर्‍याउने काम गर्दैन । अब देश नयाँ राजनीतिक परिस्थितिमाथि उभिएको छ । अब जोसुकैले कसैसँग पनि जतिसुकै असमझदारी वा असहमति रहे पनि त्यसलाई गाली गर्ने अपमान गर्ने साधन बनाउनु हुँदैन ।

अबको हाम्रो भाषा र व्यवहार आदरार्थी, सम्मानजनक र सुसंस्कृत हुनुपर्छ । वामपन्थीको यो झगडामा कसले फाइदा उठायो ? कसले शासन चलायो भन्ने कुरा बताइरहनुपर्छ र ? पर्दैन । हामीबीचको वैमनस्यताले मुख छुचो बनाउँदा आङ नांगो भएको र त्यसले कुरीकुरीको अवस्था बनेको बिर्सनु हुँदैन । अब गाली गर्ने, नङ्ग्याउने, खुइल्याउने कुराबाट सबै पर रहनुपर्छ । यस्तो गर्न सकियो भने मात्र गल्ती कमजोरीमाथि आलोचना र आत्मालोचना सजिलोसँग गर्न सकिन्छ । गल्ती कमजोरी सुधार्ने तरिका नै आलोचना/आत्मालोचना हो ।  एमाले, माके र यसले आफ्ना तित्रामुखे सदस्यहरूलाई यस्तो नबोल्न निर्देशन नै दिनुपर्ने देखिन्छ । 

अन्त्यमा, हिजोका दिनमा कसको के गल्ती रह्यो भन्ने कुरामा सबै प्रष्ट छौं । कसैले कसैलाई चोर औँला तेस्र्याउन जरुरी छैन । सबैले आ–आफ्नो कुरा सम्झिने र अब त्यस्तो नदोहोर्‍याउन प्रण गर्ने । यस्तो गर्न सकियो भने ओली, प्रचण्ड र माधव कमरेडहरूको जित हुनेछ र त्यसबाट आन्दोलन र क्रान्तिलाई पनि मद्दत नै मिल्नेछ । व्यक्तिगत फाइदा हेर्ने कि आन्दोलन र क्रान्तिको फाइदा हेर्ने ? निर्णय गर्ने त उहाँहरूले नै हो ।

टिप्पणीहरू