कसैलाई नपरुन् मनपरि गर्ने हाकिम
त्यसै भनिएको होइन रहेछ, सतीले सरापेको छ यो मुलुकलाई । इमान–जमानमा बस्नेहरू खेदिने र बेइमानहरूको तारिफ हुने कस्तो मुलुक हो यो ? बेइमानी र बदमासी गर्नेहरू निरन्तर पुरस्कृत हुँदैछन् यहाँ । कर्मचारी खटनपटन गर्दा आफ्नो जिल्ला र भेगीयलाई मात्र च्याप्ने, मानसिक यातना दिने र चरित्रहत्या गर्ने तहमा सचिव नै उत्रिएपछि खाइरहेको जागिरबाट राजीनामा दिएर हिँड्नुको विकल्प के नै रह्यो र ? एकातिर आफूभन्दा जुनियरको अण्डरमा काम गर्नुपर्ने, आफू बस्दै आएको कुर्सीसमेत अरुले कब्जा जमाउने भएपछि काम गर्ने वातावरण बन्ने त कुरै भएन । त्यहीमाथि मेरो चरित्रहत्या गर्ने तहसम्म सचिव नै उत्रिएपछि यही पुस ५ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएर हिँडेको छु ।
जागिरे जीवनको झण्डै ९ वर्ष एउटै अड्डाको हाकिम भएर बिताएका सहसचिव विश्ववाबु पुडासैनीबाट हो यसरी ममाथि अत्याचार भएको । लेखाका जुनियर कर्मचारी धीरेन्द्र पोखरेललाई हाकिम बनाएर उनको अण्डरमा मलाई खटाइएपछि मैले विरोध गरेको हुँ तर ममाथि भएको अन्यायको विषयमा तारन्तार सचिवलाई भेट्न खोज्दा ‘तँसँग भेट्दिनँ, भेट्ने कामै छैन’ भनेर पन्छिने हो ? उहाँ हामी कर्मचारीको अभिभावक होइन ? कसैलाई काखा अनि कसैलाई पाखा र सौताको छोराको जस्तो व्यवहार गर्न मिल्छ सचिवले ?
सरकारी सेवामा लागेको ०४७ सालदेखि । ०५४ सालमा गिरिजाप्रसाद कोइरालाले एक लट भएभरका कर्मचारी हटाउँदा म पनि त्यसैमा परँे । त्यतिखेर ९० हजार उपदान लिएर जागिर छाडेको । ०५६ सालदेखि अनवरत निजामती सेवामा छु । ०५६ असार ३१ मा लोकसेवा लडेर पुनः नासुबाट निजामती सेवामा प्रवेश गरेँ । हिसाब गर्ने हो भने तीन दशकभन्दा बढी समय भयो सेवामा बिताएको । यो अवधिमा सयौँ हाकिमको संगत गरेँ, तिनका अण्डरमा बसेर काम गरेँ । कुनै पनि हाकिम यस्ता छुद्र भेटिएका थिएनन् । के विश्वबाबु सरलाई मर्नुपर्दैन, उहाँले अजम्बरी जुनी पाउनुभएको हो र ?
प्रदेशको सचिव हुँदैमा उहाँ राजा–महाराजाभन्दा माथिको व्यवहार गर्नुहुन्छ भने सचिव बढुवाको क्रममा हुनुहुन्छ क्यारे ! सचिवै बनेपछि चुरीफुरीको लेभल कहाँ पुग्ला ! चुरीफुरी जहाँ र जति पुगे पनि एक दिन अवकाशै हुने हो । यही भुइँ र सडकसँगै साक्षात्कार गर्ने हो । नासुमा नेपालगञ्ज पुगेर काम गरेँ । त्यहाँ ५ वर्ष सेवा गरें र प्रशिक्षण केन्द्र (हालको राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रालि) मा केही समय, ललितपुर घरेलु कार्यालयको स्टोर किपरमा २ वर्ष, पुनः प्रशिक्षण केन्द्रमा १४ महिना काम गरिसकेपछि बढुवा भइयो अधिकृतमा । सँगै पदस्थापन भयो बारा । त्यहाँ ३८ महिना काम गर्दा धेरै बदनाम व्यापारीको १२ बजाएको छु ।
तारन्तार सचिवलाई भेट्न खोज्दा ‘तँसँग भेट्दिनँ, भेट्ने कामै छैन’ भनेर पन्छिने हो ? उहाँ हामी कर्मचारीको अभिभावक होइन ?
कार्यालयको हाकिम आफू हुँदा कृष्ण अग्रवालको स्टोरमा छापा मारेर एक व्यापारीको ३४ हजार लिटर अखाद्य तेल नष्ट गरेको छु । त्यस्तै, त्यहाँकै कार्यालय प्रमुख हुँदा रमेश दंगाल नामक व्यापारीले भारतबाट ल्याएको, मिति गुज्रिएको १७ हजार लिटर तेल नष्ट गरेको छु । एउटा कार्यालय प्रमुखले हृदयदेखि चाहेको खण्डमा धेरैसुधार गर्न सक्छ । त्यहाँबाट प्रशिक्षण केन्द्र ललितपुरतिरै पठाइयो । फेरि प्रदेश मुख्यमन्त्री कार्यालय बाग्मती हुँदै घरेलु कार्यालयमा खटिएँ । यो कार्यालयले तक्मा, सांसदको लोगो बनाउने काम गर्दै आएको छ । तक्माको जलपमा १० प्रतिशत मिसावट हुन्छ । मैले त्यसलाई तीन प्रतिशतमा झारेँ । यसरी मिसावटरहित बनाउने मेरो प्रयासले गृहसम्मका कर्मचारीको खेतीपाती र खाइपाई आएको धन्दा सुक्ने भयो । अनि म खेदोमा पर्न थालँे ।
अहिले मलाई खेदिनु, अनेकन आरोप लगाएर चरित्रहत्याजस्तो सबैभन्दा ठूलो हत्या गर्नुको पछाडिको मुख्य कारण यही हो, मैले राम्रैसँग बुझेको छु । सोही कार्यालयमा हुँदा बदमासी गर्न नमानेपछि मविरुद्ध गृहले अनुसन्धानको डिएसपी खटाएर अनुसन्धान गर्न लगायो तर खाएको विष पो लाग्छ, खाँदै नखाएको विष कसलाई लाग्छ र ? ममा केही कैफियत भेटिएन र छोडिएको हो । मलाई सिध्याउनका लागि कर्मचारी नै गौँडा–गौँडामा खटिएका थिए । नक्कली तक्मालाई सक्कली बनाउन मानिनँ । मेरो कार्यकालमा ६६३ वटा तक्मा तयार पारेर गृहमा बुझाएँ । त्यतिखेर गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टलाई भेटेर मैले यो विषयमा जानकारी गराएको छु । त्यही समयमा मैले तक्मा तयार गर्दा हुने खेलोफड्को थाहा पाएपछि म खेदाइमा परेको हुँ, राम्रोसँग थाहा छ ।
यो मुलुकमा मिलाएर खाने कर्मचारीको हाइहाइ हुँदो रहेछ । होइन हजुर, भ्रष्टाचार गर्दिनँ भन्दा खेदाइमा परिँदोरहेछ । हो, अहिले म त्यही खेदाइमा परेँ । चितवनबाट खेदिएपछि एकातिर मभन्दा जुनियर कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । नेपालको कानुनले एउटै मितिमा बढुवा गरेको छ भने त उमेरका आधारमा ज्येष्ठता मान्छ । मभन्दा दुई महिना कान्छोलाई, त्यसमाथि लेखाको मान्छेलाई कार्यालयको हाकिम बनाउन मिल्छ ? कहाँको कानुनले मिल्छ, सचिवज्यू, जवाफ चाहियो । दरबन्दी नभएको भए एउटा कुरा, भएको दरबन्दीलाई जिम्मेवारविहीन बनाउने अनि लेखाको मान्छेलाई ल्याएर हाकिम बनाउने ? यो प्रदेश निजामतीको कुन, ऐन र कहाँको नियमावलीमा लेखिएको छ, जानकारी पाऊँ ।
अर्काेतिर मलाई बस्ने ठाउँसमेत दिइएको छैन । क्वार्टरमा ताला–चाबी लगाइएको छ, ड्राइभरलाई प्रयोग गरेर । करारमा राखेको ड्राइभरलाई प्रयोग गरी म बस्ने क्वार्टरमा चाबी लगाएर हिँड्न मिल्छ ? म स्वयंपाके, आफैँ पकाएको बाहेक अरुले पकाएको खान्न । यो भोकै मरोस् भनेर होइन त्यसो गरिएको ? यही हो तपार्इंको मानवता ? लोकसेवाको किताब घोकेर मात्र कोही विद्वान् र ठूलो हुँदैन यदि तपाईंमा मानवता छैन भने । चितवनमा कार्यालयको भवन बन्दै छ । भवनको १० प्रतिशत कमिसन खानकै लागि होइन र मभन्दा जुनियरलाई हाकिम बनाएर पठाइएको ? त्यहाँ मैले पुस ४ र ५ गते काम गरेँ । एकातिर मानसिक यातना र अर्काेतिर चारित्रिक हत्या गरेपछि कसले काम गरिरहन सक्छ ?
काम, जिम्मेवारी केही नदिने अनि काम गर्न नसकेर राजीनामा दियो भन्दै हिँड्न अलिकति लाज, शरम लाग्नुपर्ने हो । अति गर्नु तर अत्याचार गर्न त भएन नि हाकिमसा’ब ! मलाई कुनचाहिँ काम लगाउनुुहुन्छ ? के काम लगाउनुहुन्छ ? बिनातलब काम गर्न तयार छु । मेरो हातखुट्टा काटिएको हो र ? मेरो मुटु, कलेज बिग्रिएको पनि होइन । आफ्नो स्वाभिमानलाई जोगाउन र कसैको गुलामी गरेर जागिरे खाने इच्छै रहेन । चौध घण्टा उभिएर काम गरेको मान्छे हुँ । कुर्सी त्यागेकै तीन वर्ष भइसक्यो । अझै काम गर्न तयार छु तर मजस्तो मान्छेलाई काम लगाउनुहुन्न, किनकि कारण हो तपाईंहरूको भण्डाफोर गर्छु । मैले आजका दिनसम्म क्यारिअर बचाएको छु ।
आजसम्म दूधको दूध पानीको पानी छुट्ट्याएको छु । हो, मलाई आत्मग्लानि भयो र जागिर खान मन लागेन । हाकिमको कोठामा ताल्चा लगाएर, जुनियरलाई हाकिम बनाइएपछि म कहाँ जाने ? सचिवज्यू, कति पेल्नुभयो ? कार्यालय प्रमुख हुन पैसाले किन्नै पर्ने हो ? हामी देशका कर्मचारी परेनौँ । प्रदेशको कर्मचारी भइयो । न्याय, निसाफ खोज्न जाने सचिवकहाँ हो, उनै सचिवले जुनियरलाई कार्यालय प्रमुख दिएर सिनियरलाई पेल्ने हो भने किन जागिर खाने ? मुख्यसचिवज्यू, तपाईंकै अध्यक्षताको सिफारिस समितिले सचिवमा बढुवा गर्दै छ, विश्वबाबु पुडासैनी सरलाई, यस्ता प्रशासकबाट कस्तो सेवा प्रवाह होला ?
– गणेश राउत, कर्मचारी संकेत नम्बर १६०८०९
टिप्पणीहरू