निराश हुनेले सिक्नु नि सुशीला, संगीता र लक्ष्मीबाट

निराश हुनेले सिक्नु नि सुशीला, संगीता र लक्ष्मीबाट

भन्छन् नि ‘इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’ जीवनमा हामी एउटा ढोका बन्द हुँदा निराश र डिप्रेस हुन्छौं तर देख्दैनौँ खुला अरु तीन द्वार । इतिहास तिनैले लेख्छन्, जसले समस्यालाई अवसरको रूपमा लिन्छन् । चाहे शारीरिक रूपमा दुबै हात नभएकी नासु सुशीला ढकाल हुन् वा अहिले सामाजिक कर्ममा रमेकी संगीता पन्थ । यिनकै बाटो पछ्याउँदै छिन्, लक्ष्मी घिमिरे । जो हालै मात्र बाग्मती प्रदेशको समानुपातिक सांसद बन्न सफल भइन्, राजेन्द्र लिङ्देनको पार्टी राप्रपाबाट । 

२८ वर्षअघि रामेछाप गोकुलगंगा गाउँपालिका–४मा शेखरनाथ र सीतादेवी घिमिरेको कोखबाट जन्मिएकी हुन् लक्ष्मी । ५ छोरी र एक छोरामध्येकी कान्छी । ‘कान्छी छोरी, मायाको डोरी’भनेझैं हुर्किइन् लाडप्यारमा । जीवनले लय पकड्दैथ्यो । १२ वर्षअघि पूर्णिमाको दिन, उनी अध्ययनरत थिइन् कक्षा ११ मा । पिताको आग्रहलाई नकार्दै घाँस काट्न पुगेकी थिइन् । त्यही जंगलबाट खसिन् । र, पूर्णिमाकै दिन जीवनमा कालरात्रि बनेर उभियो । ०६६ सालको कोजाग्रत पूर्णिमाको दिन होे खुशी खोसिएको, लय भत्किएको । पूर्वजमदारको पुत्री, सपनाथियो सेकेण्ड लेफ्टिनेन्टको रूपमा नेपाली सेनामा प्रवेश गरेर राष्ट्रको सेवा गर्ने । तर, जीवन नसोचेको यथार्थ हो । सोचेको कुरा हुँदैन÷पुग्दैन । नसोचेको कतिपय कुरा आइलाग्छन्, जीवनमा । 

एउटै तरेलीले जीवनका सारा सपना उडाइदिन सक्छ । उनको सपना रामेछापको खाल्डेभीरबाट खसेर सकियो । भीरबाट लडेकी उनलाई तत्कालै स्थानीयले स्वास्थ्य चौकीमा पु¥याए । अहेबले के गर्नु ? बगिरहेको रगत पुछेर नदुख्ने औषधि खान दिए । उपचारका लागि ल्याइयो ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा । मध्यम वर्गीय परिवारका लागि काठमाडौंका अस्पताल बनेकै होइनन् । अस्पताल ४ दिन बस्दा सकियो डेढ लाख र सारियो छाउनीस्थित सैनिक अस्पतालमा । २८ दिनसम्म बेहोसीमै थिइन् । स्पाइनल कर्ड इन्जर्ड भएको मानिसलाई खुट्टा टेकाउँदा झनै समस्या हुने रहेछ । २८ दिनसम्म होश नखुल्दा उपचाररत चिकित्सकले समेत माया मारे । महिनादिनसम्म पनि होस नआउँदा बांगो हाड त्यहीँ जोडिएछ । होश आइसक्दा समय घर्किसकेको थियो । पिता नेपाली सेनामा भएको हुँदा धन्न उपचार सहज भयो । कतिपय औषधि निःशुल्क मिल्थ्यो । वर्ष दिनको उपचारपछि ह्विलचेयरको सहायताले हिँडडुल गर्न सक्नेसम्म भइन् । स्वास्थ्यमा विस्तारै सुधार भए पनि कम्मरमुनिको भाग निष्प्राणको हालतमा रहे । 

वर्ष दिनको उपचारपश्चात् रामेछाप फर्किदा हेर्नेहरूको भीड लाग्यो । र, माया होइन, दया देखाउने धेरै आए । माया र दया भन्ने चिजमा पनि हुँदोरहेछ आकाश र जमिनको अन्तर । कतिपय आउँथे र आलो घाउमा नुन छरेर जान्थे, भन्थे– जूनजस्ती छोरी ढाड भाँच्चिएर थन्किनुप¥यो है ! त्यही समय प्रण गरिन्, यो समाजमा केही गरेरै देखाउने । त्यही वचनले केही गरेर देखाउने ऊर्जा मिल्यो । गाउँमा वर्ष दिनको बसाइपछि बनेपा पुगिन् । लक्ष्मीका पितालाई लाग्यो कि छोरीलाई यसै गरी गाउँमै राखियो भने मनोवैज्ञानिक समस्या हुन्छ । त्यही कारण उनका पिताले बनेपास्थित (अपांग पुनःस्थापना केन्द्र) स्पाइनल कर्ड इन्जुरी रिह्याब सेन्टरमा भर्ना गरे । महिना दिन त्यहाँ बस्दा ह्विलचेयर प्रयोगकर्ताले कसरी आत्मनिर्भर हुने भन्ने तालिम लिइन् । त्यसले केही आत्मविश्वास थप्यो । त्यहाँबाट ६ महिना कीर्तिपुर गएर बसिन् र कम्प्युटरसम्बन्धी विभिन्न तालिम लिइन् । 

०६६ सालमा दुर्घटनामा परेको तीन वर्षपछि जोरपाटीको चामुण्डा कलेजमा कक्षा ११ मा भर्ना भइन् । बसाइचाहिँ जोरपाटीकै अपांग पुनःस्थापना केन्द्रमा भयो । त्यहाँबाट प्लस टु सकाएपछि भर्ना भइन् पिके कलेज बागबजारमा । बसाइ स¥यो जोरपाटीबाट बागबजार । अहिले स्नातकोत्तर तह अध्ययनरत छिन्, पिकेमै । सानैदेखि क्रिकेटको सोखिन । त्यही सोखले विदेशसम्म पु¥याएको छ । ०७२ मै नेपाल–पाकिस्तान मैत्रीपूर्ण प्रतियोगिता खेलेर फर्किइन् तर तयारी कम हुँदा दुई रनले पराजित हुनुप¥यो । बागबजारको बसाइ, पद्मकन्या कलेज पढ्दै गर्दा जागिरको खोजीमा थिइन् । शारीरिक रूपमा अशक्तलाई कसले देला र जागिर भन्ने लाग्थ्यो । त्यही समय नेपालमा नयाँ दल खुल्यो विवेकशील पार्टी । रिसेप्सनमा काम भेटिन् । विस्तारै त्यही पार्टीको युवा संगठनमा आबद्ध हुँदै विवेकशील र साझा एकीकरण गरेर बनेको विवेकशील साझा पार्टीको युवा संगठनमा केन्द्रीय सदस्य मनोनीत मात्र भइनन् विभाग प्रमुखकै जिम्मेवारी पाइन् ।

टुटफुटपछि रवीन्द्र मिश्रको टोलीसँगै गत असोजमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिन् । राप्रपाले समानुपातिकको बन्दसूचीमा उनको नाम राखेर पठायो । नाम पठाए पनि सांसद नै बनाउँछ भन्नेचाहिँ लागेको थिएन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी घिमिरेलाई बागमती प्रदेश सभा सदस्य बनाएको छ । ह्वीलचेयरबाट जीवनको यात्रा तय गर्नुपरेपछि जीवनको बाटो मोडिँदै यहाँसम्म आइपुगेको छ । निराश, डिप्रेश भएर घरमै बसिरहेको भए आज कहाँ उदाहरणीय पात्र बन्न सक्थिन् र ? मनमा उत्साह, अग्रजहरूको उत्प्रेरणाका कारण आज उनलाई प्रदेशसभा सांसदसम्म ल्याइपु¥याएको छ । अहिले देशका संघीय तथा प्रादेशिक विधायिकामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको संख्या न्यून छ । ०६८ को जनगणनाअनुसार मुलुकमा १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् ।

तर, संघीय संसद्का दुवै सदनमा ३३४ र सात प्रदेशसभामा ५५० गरी कूल ८८४ जना सांसदमध्ये अपांगता भएका व्यक्तिको संख्या भने जम्मा तीन जना मात्रै छ । नेकपा एमालेमा समानुपातिक निर्वाचन प्रणालीबाट कालुराम राई छन् भने राष्ट्रिय सभामा प्रकाश पन्त छन् । अपांगता भएका व्यक्तिलाई प्रत्यक्षतर्फ टिकट दिने विषयमा राजनीतिक दल कठोर देखिए भने आरक्षण सूचीमा खस–आर्य, आदिवासी÷जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व भए पनि अपांगता भएका व्यक्तिलाई समावेश गरिएको छैन । संविधान संशोधन गरेर भए पनि अपांगता भएका व्यक्तिको संसद्मा अनिवार्य उपस्थितिको सुनिश्चितता किटान गर्नु आवश्यक छ । उनको जीवनको नक्सा १२ वर्षपछि कोल्टो फेरेको छ ।

१२ वर्षमा खोला फर्कन्छ भन्छन् । कष्टकर जीवनपछि उनको जीवनको लय र नक्सा फेरिएको छ । भन्छन् नि स–साना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे लक्ष्य सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुनथाल्छ । यही कारण हो उनले कठिन बाटो रोजिन् । उनका काम गराई, साहस र ऊर्जासहित अहिले माननीयको भूमिकामा देखेपछि कतिपयले भन्न थालेका छन् हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तर तपाइँले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ ।

– अञ्जना गौतम, रामेछाप, हाल काठमाडौं

टिप्पणीहरू