नक्सा परिवर्तन गरेको आरोपमा चार जनामाथि भ्रष्टाचार मुद्दा

नक्सा परिवर्तन गरेको आरोपमा चार जनामाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर गरिएको मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत चार जनाले सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

उनीहरुले रुपन्देही जिल्लाको साबिक सेमलार गाविस वडा नम्बर २ (ग), कित्ता नम्बर ३५९४ कित्ताकाट गरेर कित्ता नम्बर ४१९१ र ४१९२ कायम गरेका थिए । त्यसपछि कित्ता नम्बर ४१९१ लाई कित्ता नम्बर ३४३४ र कित्ता नम्बर ३५८८ को बीचमा घुसाएर कित्ता नम्बर ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरेको देखिन आएको हो । 

सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको अख्तियारको दाबी छ । आयोगको विज्ञप्तिमा रुपन्देहीको साविक सेमलार गाविस वडा नम्बर २ ग, कित्ता नम्बर ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरिएकोमा उक्त जग्गाधनीको कुनै अनुमति नलिइ र जानकारी नगराई कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडातर्फबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाएर नक्सा परिवर्तन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी देखिएको उल्लेख  छ ।  

त्यसैगरी बुटवल उपमहानगरपालिका १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा गर्ने उद्देश्यले कित्ता नम्बर ३४८३ को क्षेत्रफल घटाई दुबे र गुरौलाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै उनीहरुलाई पनि मुद्दामा विपक्षी बनाइएको अख्तियारले जनाएको छ । गुरौ र दुवे दुबैजना अहिले सरकारी सेवाबाट अवकास भईसकेका छन् ।

टिप्पणीहरू