पदका लागि किन होला लाजमर्दो प्रयत्न

पदका लागि किन होला लाजमर्दो प्रयत्न

नेकपा एकीकृत समाजवादीका नवप्रवेशी नेता घनश्याम भुसालले पार्टी प्रवेश गरेकै दिन हिमालय टेलिभिजनसँगको कुराकानीमा भनेका छन्– एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहकार्य लामो समय टिक्दैन । सहयात्रा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै हुन सक्छ । ओलीले सहकार्यका नाममा अरुलाई धोका दिन्छन्, सक्काउँछन् । 

एमाले–माओवादीसहितको सातदलीय गठबन्धन बन्दा प्रधानमन्त्री माओवादीले पाउने, एमालेले सभामुख र राष्ट्रपति लिने सहमति भएको थियो । त्यसैअनुसार प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । सभामुखको निर्वाचन माघ ५ गते हुँदै छ । घनश्यामको भनाइअनुसार अब ओलीले माओवादीलाई सभामुख र राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई मत हाल्न लगाउँछन् अनि प्रचण्डलाई किनारामा पु¥याउँछन् । स्थिति के होला केही दिनमै देखिइहाल्छ । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको साँझ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ओलीले हाइज्याक गरेको गठबन्धन फर्काउन सरकारलाई विश्वासको मत दिएको अभिव्यक्ति दिए । पौडेलको कुरा पत्याउने हो भने अब ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेसको कित्तामा फर्किन सक्छन् । हुन पनि शुरुको कार्यकाल प्रधानमन्त्री हुन नदिएका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन किन तयार भयो भन्ने स्पष्ट जवाफ आइसकेको छैन । त्यसभित्रको कारण र कारक जे जे भए पनि कांग्रेस विश्वासको मत दिने निर्णयमा पुग्नुको रहस्य केही न केही छ । कांग्रेस आफैैं विश्वासको मत दिने ठाउँमा पुग्यो कि कसैले पु¥यायो ? भन्ने प्रश्न त्यतिबेलै उठेको हो । सत्ता गठबन्धन टुटाउने चलखेल पूरा नभएपछि कांग्रेस आफैं प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन तयार भयो ? सरकारको निरन्तरताका लागि आवश्यक नभए पनि कांग्रेसले प्रधानमन्त्रीलाई किन विश्वासको मत दियो ? प्रश्न उठिसकेको छ । कांग्रेस संसदीय दलका नेता देउवाले भने संसदको रोष्ट्रमबाटै ‘संविधानको रक्षाका लागि’ भनेका छन् । बाहिर भन्नका लागि जे जे भने पनि भित्री कारण अरु नै छन् । आफ्नै हठका कारण बिच्किएर एमालेको शरणमा पुगेको महसुस गर्न थालेका देउवा दाहालसँग थप दूरी बढाउने पक्षमा छैनन् । किनकि, दूरी बढाउँदा वर्तमान सत्ता समिकरण भत्काउन थप कठिन हुन्छ ।

यही बुझेर हुन सक्छ देउवा प्रचण्डलाई विश्वासको मत दिन तयार भएका । अर्को कारण हुनसक्छ केपी शर्मा ओली सक्रिय हुँदा संघीय र सातै प्रदेशको सरकार गुमाएको कांग्रेस प्रचण्डसँगको सहकार्यमा मात्रै आफ्नो पुनः उदय संभव देख्छ । तेस्रो कारण थप नचिढ्याउँदा मात्रै प्रचण्डले साढे दुई वर्षपछि एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्ने भनिएको सरकार रोक्न सकिन्छ भन्ने कांग्रेसको अनुमान छ । अर्को कारण आवश्यक नै नभएको विश्वासको मत दिँदा ओलीले प्रचण्ड र देउवाको सम्बन्ध पूर्ववत् रहेको ठान्छन् । र, दुईबीच क्रमशः विश्वासको संकट बढ्छ भन्ने कांग्रेसको पूर्वानुमान छ । हुन पनि ओलीले कांग्रेसले विश्वास मत दिने बताइरहँदा शंका गरेका थिए । ओलीले स्वार्थसहित विश्वासको मत दिएको हो भने खबरदार भनेर चेतावनी गरिसकेका छन् । अर्को कारण हुनसक्छ मिल्न र टाढिन खासै बहाना नचाहिने र फुर्किंदा तत्काल हौसिने चरित्रका कारण प्रचण्डलाई जुनसुकै बेला प्रयोग गर्न सकिन्छ भन्ने बुझाइ कांग्रेसमा छ । अनि अर्को मुख्य कारण ओली र दाहालबीच क्रमशः अविश्वास बढाएर नयाँ राष्ट्रपति कांग्रेसबाट बनाउन सकिन्छ कि भन्ने प्रयासको सुरुआत । कांग्रेसले पदाधिकारी बैठकमा सभामुख र राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने संकेत गरिसकेको छ ।

प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा कांग्रेसले सभामुख पदमा सहयोग मागेको संकेत हो । ८९ सांसद रहेको कांग्रेसका ८८ सांसद मात्रै संसदीय प्रक्रियामा सहभागी हुन पाउँछन् । २ सय ७४ सदस्य कायम रहेको प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित हुन १३८ मत चाहिन्छ । ८८ सांसद हुने कांग्रेसले कसको आड भरोसामा उम्मेदवारी दिँदैछ ? यहाँ प्रश्न अस्वाभाविक छैन । त्योभन्दा पनि अर्को रणनीतिक चाल राष्ट्रपति पदका लागि हुनसक्छ । आलंकारिक भनिएको राष्ट्रपति पदलाई २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेयताका विभिन्न घटनाक्रमले कार्यकारीजस्तै बनाइदिएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको देखि रेशम चौधरीलाई थुनामुक्त गर्ने गरी सरकारले कानुन संशोधन गर्न ल्याएको अध्यादेशमा आइपुग्दा संविधानले परिकल्पना गरेको भन्दा निकै फरक भइरहेको छ राष्ट्रपति पद । त्यही भएर सबैको आँखा शीतलनिवासतिर छ । 

राजनीतिमा सत्ता र शक्ति पाउन दलहरू जे गर्न पनि तयार हुन्छन् । आफ्नो स्वार्थ पूरा गर्न अनेकौं तिकडम गर्छन् तर त्यो कत्तिको नैतिक हुन्छ र त्यसले दीर्घकालीन हानि गर्छ कि गर्दैन भन्ने ख्याल गर्दैनन् । पदका लागि दोहोरो चरित्र देखाउन पछि पर्दैनन् । यसको गतिलो उदाहरण बनेको छ नेपाली कांग्रेस । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी कुर्सीमा बस्छु भनी कांग्रेसले असंवैधानिक र अराजनीतिक चरित्र देखाइसकेको छ । अब सभामुख, राष्ट्रपति, उपराष्ट्रपति, उपसभामुखलगायतको निर्वाचनका बेला क–कसले के–के गर्छन् हेर्न बाँकी छ ।

टिप्पणीहरू