जे गर्दा पनि ‘गुड लक’

जे गर्दा पनि ‘गुड लक’

हिजो सडकमा राजनीतिक व्यवस्था परिवर्तनका निम्ति आन्दोलन हुन्थे । इतिहासमा व्यवस्था बदल्न, संविधान परिवर्तन गर्न आन्दोलनहरु भएका थिए । तर आज सडकमा अभियुक्त थुनिएपछि आन्दोलनहरु हुन थालेका छन् । 

मुलुकका सम्माननीय प्रधानमन्त्रीको डमी लास बोकेर हिँड्नेहरू देखा परेका छन् । डिजिटल साइबरमा स्मार्ट मान्छेहरु एक हुल सदन पसेका छन् । उनीहरू लोकप्रियताको निम्ति र व्यक्तिगत चर्चाको लागि असाध्यै भोका देखिएको भान हुन्छ ।

राष्ट्रिय राजनीतिले जनतालाई निराश बनाइरहेको जगमा विभिन्न खाले साइबर समाजसेवा गर्दै आएको झुण्ड वास्तविकतामा समाजसेवा भन्दा जनताका विश्वासमा घात गर्नेहरुमा देखिन थालेको सहजै अनुमान लगाउन सकिन्छ । 

हिजोआज सञ्जालमा बहसहरु हराउँदै गएका छन् । सामाजिक सञ्जालका अपडेट र भिडियोहरु हेर्दा, राजनीतिक समाचारहरु पढ्दा सञ्चारमाध्यमहरु पकेट पकेटमा पुगेका छन् । जहाँ महान बलिदान र गहन इतिहास भएका मान्छेलाई सराप्दै छोटो भिडियो हेरेर सलाम ठोक्नेहरूको भीड बढ्दै गएको छ । 

यसले बहसको अन्त्य गरायो, सामाजिक रूपान्तरणको मुद्दालाई छिन्नभिन्न बनायो  । जहाँ आजका सहकारी ठगीका अभियुक्त पूर्व गृहमन्त्री एवम् उपप्रधानमन्त्री रवि लामिछाने हिजो शालिग्राम पुडासैनी प्रकरणमा चितवन हिरासतमा हुँदा शालिग्रामलाई न्याय दिने उनका वचनबद्धताहरु जसरी खरानी भए । त्यसैगरी अराजक भीडको जगमा जे गर्दा पनि ‘गुड लक’ का शुभकामना रिसिभर भएका छन् । 

बेलाबखत लामिछानेकै सांसद तोसिमा कार्की १७ हजार ३ को प्ले कार्ड लिएर हिजोका आन्दोलनलाई गिज्याउँदै सत्ताको भोकले सहिद बलिदानीको खिल्ली उडाइरहेको आम नेपालीले देखिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नबन्दै नक्कली समाजसेवाको धङधङी चलिरहेको बेला कैयौंको चरित्र हत्या गर्नेहरू आज उक्त पार्टीका नेता बनेका छन् ।

नेपाली नागरिकको हिसाबले हाम्रा माग भनेका अभियुक्त जोसुकै होस्, जुनसुकै तप्काको होस् र जुनसुकै शक्ति होस् नेपाली जनतालाई ठग्नेलाई न्यूनतम ५० अर्ब धरौटी तोकेर जेलमा नकोचेसम्म अन्ध भक्तहरूले साइबर फोहोर बनाइरहने निश्चित छ । हिजो नक्कली समाजसेवा गर्ने बेलामा चरित्र हत्या गर्नेहरुले चरित्र हत्या गरेकाहरु कति त आत्महत्या गरेर मरे पनि होलान् । हामीले यस्तोमा अनुसन्धानको निमित्त राज्यलाई खबरदारी गरिरहनुपर्छ । 

यो लोकतन्त्र हो । यो ओलीतन्त्र होइन, यो प्रचण्डतन्त्र पनि होइन । त्यसैगरी यो कुनै एउटा राजनीतिक दलको मात्रै तन्त्र होइन । सारा नेपाली जनताको लोकतन्त्र भएकाले बहसहरु स्वतन्त्र र स्वस्थ रुपमा हुनुपर्छ । दूषित भक्तहरू बोकेर आएकाबाट सुशासनको अपेक्षा गर्नु फोहोरको डंगुरमा फूलको सुगन्ध खोजे जस्तै हो ।

परिवर्तनकारी आन्दोलनहरूमा कहिल्यै संलग्नता नजनाएकाहरु क्रान्तिका उपलब्धिहरू ध्वस्त गर्न हाजिर भएको अनुमान गर्न सकिन्छ । तिनीहरूलाई कतिपयले स्मार्ट ठगको रुपमा लिन थालेका छन् ।
 
कानुन निर्मम बन्नुपर्छ सुशासनको खातिर 
जनता जुट्नुपर्छ राष्ट्र बचाउनको लागि 
विद्यार्थी उठ्नुपर्छ शैक्षिक क्रान्ति गर्नको लागि 
किसानहरू जुट्नुपर्छ कृषि क्रान्ति गर्नको लागि ।

तर जनता अभियुक्त बचाउन भीडतिर कुद्यो भने देश अधोगतितर्फ धकेलिन्छ । सरकारलाई जनताले गर्ने भनेकै स्वस्थ खबरदारी हो । सरकारलाई सराप्दा हाम्रै राष्ट्रियताको बेइज्जत भएको छ । विभिन्न आन्दोलनमा घाइते भएर आएको घाइतेलाई नक्कली समाजसेवीको सलाम गर्दै अपमान गर्नेहरूको भीड सडकमा बढ्दै गएको छ । 

सरकारले सुशासनको निम्ति कानुनका दफा पल्टाउन थालेपछि कुशासकका पार्टी झण्डाहरू उठ्न थाल्छन् । पछिल्लो समय घरका कोठा कोठाबाट घरका पिर्का पिर्काबाट न्यायाधीश बन्नेहरूको ताँती लागेको छ । 

सबै सहकारी पीडितलाई न्याय दिने हो भने सम्पूर्ण कल रेकर्डहरू खोजिनुपर्छ । अभियुक्तका नजिकका नातेदार सबैको सम्पत्ति, बैंक खाताको जाँच तथा अनुसन्धान हुनुपर्छ । अभियुक्तले हिजो उद्धार गरेका भनिएको मान्छेहरु सेटिङका थिए कि राजनीतिक दाउका लागि गरिएका थिए त्यसबारे पनि हेक्का राख्नुपर्छ ।

आज बेथिति कसले बढाएको छ ? भगवानका भक्तजन कस्ता देखिँदैछन् ? अनि ती भक्तका भगवान कस्ता हुन् ? यतातिर वास्तविकता जान्नतिर नलागेपछि जनता युटुबमा हराएका छन् भने इतिहासलाई गिज्याउनेहरु बढे ।
 
सरकार क्रुर बन्नुपर्छ 
भ्रष्ट र ठगको कुनै पहिचान हुँदैन 
सोही अनुरुप कार्य गर्नुपर्छ  ।

परिवर्तन विरुद्ध उम्रेका स्मार्ट ठगहरुलाई सबक सिकाउँदै गणतन्त्र जोगाउँदै,नागरिकको सेवामा समर्पित राज्यव्यवस्था बनाउँदै राज्य लाग्यो भने नीला ठगहरु क्रमशः विस्थापित हुने निश्चित छ । यसपछि साइवर अपराधीहरु पनि क्रमशः हराउनेछन् । 

परिवर्तनविरुद्ध हाल सक्रिय राप्रपा राणा शासन पतन भएर प्रजातन्त्र आउँदा पनि दुःखी थियो । त्यसैले बेलाबेलामा जंगबहादुरको सम्झना गरिरहेको हुन्छ । यो दल निरंकुश राजतन्त्र हटाएर गणतन्त्र आउँदा थप शोकमा डुबेको छ । यो समूहले गरिबको आवाज बोल्दैन बरु राजतन्त्रको गरुड पुराण सुनाउँदै नक्कली प्रजातन्त्रको दल चलाइरहेको धेरैको विश्लेषण छ । २३७ वर्ष जनताले राजतन्त्र भोग्यो, ३० वर्ष उनै पञ्चेको कुशासन मुलुक र जनताले देखिसकेका छन् ।

अहिले उक्त दल र निकटस्थ समूहहरु देशलाई २०१७ सालमा फर्काउने चाहना राख्छन् । यस्ताहरुलाई रिजेक्ट गर्ने बुद्दि पलाओस् जनताको । राणा र राजाको छोरो जस्तो नक्कल गर्दै हिँड्ने पूर्वपञ्चहरुको पछि लाग्नेहरुको चेत भने हराएको भान हुन्छ । 

कहिले नीलो क्रान्तिको नाटक, कहिले नक्कली प्रजातन्त्रवादीका चटकले देशलाई कोलाहलमा फसाएको दाबी गर्न सकिने प्रशस्त आधार छन् । अन्त्यमा, सुशासनका विरुद्ध देखापर्ने भीडलाई सबक सिकाएर मात्रै लोकतन्त्रमा विधिको शासनको रिबन काट्नुपर्नेतर्फ जिम्मेवारहरुको हेक्का जाओस् ।
 

टिप्पणीहरू