ट्रम्पको जीतबाट हामीले के सिक्ने ?
‘अमेरिकाको राष्ट्रपतीय चुनाव प्रचारमा उम्मेदवार डोनाल्ड जोन ट्रम्पमाथि गोली लाग्यो तर ढले बहालवाला राष्ट्रपति जोए बाइडेन !’
गएको जुलाई १३ का दिन पेन्सिलभानियाको बट्लरमा आयोजित रिपब्लिकन पार्टीको चुनावी र्यालीमा भाषण गरिरहेका डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरिएपछि उपरोक्त भनाई विश्वभर चर्चामा आयो । हुन पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका बाइडेनले आफ्नो उम्मेदवारी मात्र हापेनन् उपराष्ट्रपति कमला ह्यारिसलाई भावी उम्मेदवार घोषणा गरे।
भर्खरै नोभेम्बर ५ तारिखमा सम्पन्न आमनिर्वाचनमा कमला नराम्ररी पराजित भइन् । जबकि शर्मनाक हार व्यहोर्दै छन् भनेर बहुप्रचारित डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा भारी मतले विजयी भए । उनको दलले अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पनि बहुमत सिट जितेर चमत्कार प्रदर्शन गरेको छ अर्थात, नयाँ बन्ने सरकार दिग्विजयी बन्न पुगेको छ । ट्रम्प सरकारले अब जे चाह्यो त्यो गर्न सक्ने जनमत प्राप्त गरेको छ । यो लज्जाजनक हारलाई बहालवाला राष्ट्रपति र उनको डेमोक्रेटिक पार्टीको चारवर्षे शासनको असफलता भन्न अब हिच्किचाउनु पर्दैन ।
विश्वकै शक्तिशाली मुलुकको निर्वाचन परिणामले संसारमै नयाँ परिवर्तन भैरहेको सत्यलाई पुनर्पुष्टि गरेको छ । आफ्नो सरहदमा भैरहेको उथलपुथललाई बुझ्न नसक्ने तर संसारलाई डिक्टेट गर्ने बाइडन नेतृत्वको पराजयले प्रत्येक शासकलाई गहिरो शिक्षा दिएको छ । अबको समाज यथास्थितिमा चल्दैन । जुनसुकै भूभागका नागरिकहरु पनि परिवर्तन खोजिरहेका छन् । आफ्नै मुलुक पहिलो प्राथमिकता र युद्ध होइन शान्तिको पक्षमा छ भन्ने सन्देश प्रदान गरेको छ । ह्वाइटहाउसबाट संसारभर शासन गर्न पुग्ने नयाँ शासक विश्वव्यापी हैकम, हिंसा, हस्तक्षेप, आक्रमण र विनाशकारी युद्धको मारमा परेको विश्वजनमत निम्ति थोरै भए पनि आशाको झुल्को बनेर उदाउला ? मानवजातिलाई नै शान्ति, न्याय, स्वतन्त्रता र समानता अनि भ्रातृत्व, सहयोग र विकासको राजमार्गमा हिंडाउन ट्रम्प नेतृत्व सफल होला ?
त्यहाँ पन्पिरहेका बिचार, व्यवहार र परिणामको निश्कर्ष अहिल्यै निकाल्न भने मुश्किल छ । तर यसका लागि धैर्यता, विश्लेषण र आमजनताको मनस्थिति थाहा पाउन जरुरी छ । यद्यपि, अमेरिकी समाज र त्यसका वाहकहरुको अवस्था यति जटिल र परिवर्तनकामी छ कि लरतरो हेराइले त्यो समाजको आयाममा मैं हुँ भन्नेहरु पनि अल्मलिन्छन् । त्यही अलमल र पूर्वाग्रहले हुनुपर्छ विज्ञ भनाउँदा निर्वाचन विश्लेषक र तिनको निश्कर्षलाई अमेरिकी मतदाताले गलत सावित गरिदिए । यो नै अमेरिकी लोकतन्त्रको विशेषता हो ।
अमेरिकामा पाकिरहेको लोकतन्त्रको परिकार राजनीतिक रसायनशास्त्रीहरुलाई पनि पहिल्याउन गाह्रो हुनेगर्छ किनभने यो ठाडो र तेर्सो रुपमा मात्र विकसित भैरहेको हुँदैन कि त्यसका पत्रहरुको डाइनामिक्स पहिल्याउन सक्नुपर्ने रहेछ । यस्तो प्रयत्न नगरेकोले नै हुनुपर्छ हिलारी वा ह्यारिसले जित्ने निश्चित भन्ने सर्वेक्षणका परिणाम बकम्फुस्से कपोलकल्पित मनोगत धारणामा सिमित हुनपुगे । त्यसैले कुनै आश्चर्य नमाने हुन्छ । नोबल पुरस्कारले सुशोभित, विश्वविद्यालयका प्राध्यापक, ख्यातिप्राप्त कूटनीतिज्ञ र विषयविद् विद्वानहरुका राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त र व्यवहार एक्काइसौं शताब्दिमा पनि फ्लप भए । ती सत्यको आकाशका गहना होइन, मनोगत कोरा कल्पनाको डस्टबिनका कसिंगर भए ।
दन्त्यकथाको नांगो बादशाह जस्ता सत्तोन्मादीहरु अन्यत्रमात्र होइन, अमेरिकामा पनि प्रशस्तै रहेछन् । अमेरिकामा मात्र होइन, अन्यत्र झन् गलगाँड बोकेर बसेका देखिन्छन् । त्यसैले उनीहरु रतन्धो झैं छन् । त्यसो नहुँदा हुन् त दैलोमा आइसकेको आफ्नो अन्त्यलाई आत्मसात गरेर सुधारिन प्रयत्न गर्ने थिए ।
हाम्रो देशका सत्तासीनहरुले अहिले पाकिरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय घटनाक्रम र देशमा भड्किरहेको मानसिकतालाई महसुस गरिरहेका छन् ? गरेका भए, त्यसलाई संबोधन गर्ने नीति, योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने तदारुकता नदेखिए पनि महसुस गर्न सकिने थियो । सर्पको मुखमा परिसकेको भ्यागुतो किरा मार्न मग्न भएझैं निजी स्वार्थ र गुटका लागि धनार्जनमै लम्पट भएर लागिरहेका देखिन्छन् शासकहरु । त्यसो नहुँदा हुन् त सत्तासिनहरुले नेपाली इतिहासको चक्रलाई दोहो¥याइरहने थिएनन् ! अहिलेसम्म स्थापित दलहरु न लोकतान्त्रिक हुन सके न त वामपन्थी नै !
अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको प्रष्ट धारणा आइसकेको छ, अबको सरकारले विश्वभर स्वास्थ्य, जलवायु, शिक्षा, संस्कृतिका क्षेत्रमा दिइरहेको खर्च ब्यापक रुपमा कटौती गरी त्यसलाई आफ्नै विकासमा लगाउनेवाला छ । अर्थतन्त्र, विदेशनीति, अध्यागमन, व्यापार, करको दायरा, स्वास्थ्य, सुरक्षा, अपराध र कानूनमा परिवर्तन, उर्जानीति परिवर्तन गर्न लागेको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई दिइरहेको प्राविधिक र प्रशासनिक अनुदान कटाउँदै र घटाउँदैछ । ऊ इण्डोप्यासेफिक, एसपिपीमा खर्च बढाउँदैछ । त्यसको बाछिटाबाट नेपाललाई कसरी जोगाउने ?
अमेरिकी पक्षमा कन्दनी कसेंर लाग्यो भने जस्तोसुकै अलोकतान्त्रिक शासन सञ्चालन गरे पनि उसले जोगाइहाल्छ भन्ने हुतिहारा शासकहरुलाई लागिरहेको छ, तर अमेरिकाले इजरायललाई झैं काखी च्यापेर राखिरहने दिवास्वप्न भंग हुन धेरै समय लाग्ने देखिँदैन किनभने दक्षिण र पूर्वी एशियाको परिस्थिति धेरै जटिल छ, भारत र चीनजस्ता उदीयमान मुलुक यहीं छन् र तिनको महत्वाकांक्षा दिन परदिन बढिरहेको छ ।
२००७ सालमा राणाविरोधी क्रान्ति भए पनि त्यसैले ०१५ सालसम्म राणावादलाई निरन्तरता दियो । सोह्र सालले थिति बसाल्न खोजे पनि सत्र सालले त्यसलाई नारायणहरि बनाइदियो । अनि ०४६ सालसम्म सात÷सत्रकै पनलाई निरन्तरता दिइयो । बहुदलीय परिवर्तनले पञ्चायती ढाँचालाई निन्तरता दियो । गणतन्त्र आयो र त्यसले बहुदलीय काललाई निरन्तरता दियो । संघीय लोकतन्त्रले गणतन्त्रकालको रीतिलाई अगाडि बढायो । यसरी राणाविरोधी क्रान्ति, बहुदल, निर्दल, प्रजातन्त्र, लोकतन्त्र, संघीय गणतन्त्र घोषणा भए पनि जनताले पहिला जे थियो त्यसैको निरन्तरता भोगिरहे ।
नयाँपन, नयाँ जाँगर र नयाँ सम्बन्ध नेपालमा कहिल्यै स्थापित हुन पाएन । त्यसैले संस्थापनविरोधी भावना आगामी दिनहरुमा बढेर जाने निश्चित छ किनभने जनताले परिवर्तनको अनुभूति नै गर्न पाएका छै्रनन् । परिवर्तनको लाभ सीमित झुण्डहरुले लिइरहेका छन् । तर जनमत असन्तुष्ट छ । भित्रभित्रै आक्रोश र असन्तुष्टि अभिब्यक्त गर्न माध्यम र अवसर खोजिरहेको छ । देश र जनताको लागि शासकको त्याग, तपस्या र बलिदान कुनै कालमा पनि देख्न पाइएको छैन । कुन मुद्दा कुन नेता र पार्टीको हो ? कुन इस्यु र एजेण्डा कसले बोकिरहेको छ ? नैतिकता, आचरण र स्वावलम्बीपन भएको नेता को हो ? उसको बफादार कार्यकर्ता को हो ? कुन नेता र कार्यकर्तालाई विश्वास गर्ने ? अन्यौल सुल्झिनु पर्ने हो तर दिन परदिन उल्झिँदो छ ।
हाम्रो आन्तरिक अवस्था यही हो । बदलिँदो विश्व परिस्थिति जगजाहेर छ । अमेरिकामा भएको परिवर्तनका बहुआयामहरुलाई कसले लेखाजोखा गरिरहेको छ ? दैलोमै भूराजनीतिक द्वन्द्वका डरलाग्दा छिटाहरु देखापर्न थालिसके । खै यसप्रति संवेदनशीलता ? चीनलाई बेग्ल्याउने नीति यदि अमेरिकाले अख्तियार ग¥यो भने इण्डोप्यासेफिक, एसपीपी लगायतका गठबन्धनमा हातेमालो गरिरहेका अमेरिका र भारतको पार्टनरसिपवारे हाम्रो धारणा के हुने हो ? उदाउँदा र बदलिइरहेका बहुशक्ति केन्द्रहरुसँग हाम्रो सम्बन्धमा लामो समयदेखि पूर्ण बिराम लागेको छ ।
छिमेकी चीन र भारतसंगको सम्बन्धमा पनि असन्तुलन छ । त्यसलाई कुनै एकले काउण्टर दिने रणनीति बनायो भने हाम्रो कदम के हुने छ ? खै छलफल ? खै बिचार विमर्श ? खै कूटनीतिक चहलपहल ? अमेरिकी निर्वाचनमा भएको डोनाल्ड ट्रम्पको जीतबाट हामीले के सिक्ने ?
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू