शहीद गंगालाललाई प्रतिष्ठानमा विकास गर्ने प्रधानमन्त्रीको अठोट

शहीद गंगालाललाई प्रतिष्ठानमा विकास गर्ने प्रधानमन्त्रीको अठोट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बिहान केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्’, उहाँले भन्नुभयो, ’सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले गंगालालले मुटुरोगको उपचारमा महत्वपूर्ण भूमिका खेलेर जनताको आशा र भरोसाको केन्द्र बनेकोमा खुशी व्यक्त गर्नुभयो । भन्नुभयो, ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

‘हामीले निकै मिहेनत गरेर नयाँ संविधान जारी गरेका छौँ । संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको छ । संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ’, प्रधानमन्त्रीले अगाडि भन्नुभयो, ’तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेस गर्ने प्रक्रियामा छ । तपाईहरूसामु म यो विश्वास दिलाउन चाहन्छु ।’

आफ्नो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रहेको स्मरण गराउँदै उहाँले त्यतिबेला स्वास्थ्य बीमा लागू गरिएको जानकारी दिनुभयो । ‘मेरो दोस्रो प्रधानमन्त्रीकालमा विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो’, भन्नुभयो, ‘मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।’

टिप्पणीहरू