महिला मात्रै किन सधैँ मारमा ?

महिला मात्रै किन सधैँ मारमा ?

के यो देशमा न्याय जिउँदै छ ? मजस्ता भुइँमान्छेलाई लाग्छ, ‘न्याय मरिसक्यो ।’ एउटा ब्वाँसोबाट अस्मिता लुटिएकी म न्यायको खोजीमा भौंतारिएको आधा दशक बित्यो, पहिला न्याय नपाए गोर्खा जानु भन्थे, अहिले त्यही गोर्खाकै अड्डा अदालतबाट न्याय र निसाफ नपाएर भौँतारिइरहेकी छु । चलखेलको यो दुनियाँमा मजस्तो निम्सरोलाई अदालतले न्याय र निसाफ दिन्छ भन्ने कहीँ–कतै लाग्दैन । भीडको प्रभावमा न्याय निसाफ गर्ने अदालत र यहाँका कालोकोटधारीहरूले अन्यायको भुमरीमा धकेलिदिने हुन् कि भन्ने पीरले खाइरहन्छ मन–मुटु कुटुकुटु । 

म पूजा चौलागाईं । जन्मिएँ ४ दशकअघि काभ्रेमा । रजश्वलाअघि नै छोरीको कन्यादान गर्न पाए पुण्य पाइने विश्वास थियो पितापुर्खाको । त्यही कारण बाँधिएँ १५ वर्षकै उमेरमा विवाह बन्धनमा । दैवको लीला, ०६६ सालमा श्रीमानले ज्यान गुमाए अरुको घर पोत्दापोत्दै भ¥याङबाट लडेर । दुई छोरी र एक छोरा छन् । श्रीमान्को असामयिक निधन भएको चार वर्षसम्मै काभ्रेमै गुजारेँ जीवन । र, झरेँ गोर्खा । कारण थियो, नातागोता । एकल महिला, गाउँमा बालबच्चालाई शिक्षा, दीक्षा दिन गाह्रो भएपछि झरेको थिएँ त्यता । सहारा र भरोसा त्यतै थिए फुपू, मामाहरू । काँधमा जिम्मेवारी थियो सन्तान हुर्काउनु, बढाउनु र पढाउनु । केही कर्म त गर्नैपथ्र्याे । जानेको उही अरुको घर रंगरोगन गर्ने काम । 

कामकै सिलसिलामा पुगेँ अजय गुरुङको घरमा रङ लगाउन । उनीसँग त्योभन्दा अघि देखभेट कतै थिएन । विस्तारै चिनजान हुँदै गयो । ऊ मेरो पछि पर्न थाल्यो । भन्थ्यो ‘ घरमा श्रीमती त छ तर ऊसँग खासै दिल बसिरहेको छैन । पाठेघर फालेको छ ।’ घर पोत्न गएकी मलाई उसले पोत्न थाल्यो । म जिम्मेवारीबाट भागेर तीन सन्तानको भविष्य खेलवाड गर्न चाहन्नथेँ । त्यसमाथि अगाडि जातीय पर्खाल पनि उभिएको थियो । ४ वर्षसम्म त वास्तै गरिनँ । ऊ नजिकिने अनेक बाहना खोज्थ्यो म टाढिने । दिनमा बीसौं पटकसम्म फोन गथ्र्याे । म फोन उठाउदिनथेँ । फोन नउठाउँदा ऊ डेरामा आउँथ्यो र थर्काउँथ्यो ‘तँ कहाँ गएकी थिइस् ? कोसँग गएकी थिइस् ? फोन किन उठाइनस् ?’ जब मेरो फोन उठ्दैनथ्यो कलिलो छोरीलाई फोन गरेर सोध्थ्यो, ‘ममी कहाँ गई नानी ?’ धेरै पटक मैले फोन नउठाएको बहानामा उसले घरमै आएर मोबाइल फुटाइदिएको छ । शुरुमा ऊ छलछाम गरेर नजिकियो । भन्थ्यो, म पनि एकलजस्तै हो । फकाइ फुल्याई घरमा लिएर गयो । त्यहाँ गएपछि थाहा लाग्यो श्रीमती भर्खरै सुत्केरी भएर माइतमा बसेकी रहिछ । पहिलाको श्रीमतीबाटै एउटा छोरा, एक छोरी । छोरीको विवाह भएर नाति–नातिनासमेत भइसकेका । जेठो छोराको विवाह भएको तर सम्बन्ध दिगो नरहेको । एउटी बुहारीले सम्बन्धविच्छेदको बाटो रोजेर हिँडिन् । नातिनातिना भइसक्दा पनि उसको लत रहेछ तरुनी फेर्दै हिँड्ने । 

नजिकबाट बुझेर यी सबै चाल पाएपछि टाढिन खोजेँ । तर, ऊ सकेसम्म फकाउने, नभए थर्काउने र धम्क्याउने गर्न थाल्यो । मैले तारन्तार भन्थें, तपाइ घरपरिवार भएको मान्छे । मलाई मेरै संसारमा रम्न दिनुहोस् । सकेसम्म टाढिने प्रयास गरिरहेँ । ऊ तारन्तार नजिकिन तम्सिरह्यो । भन्थ्यो ‘मर्दको दश वटी हुन्छन् । जाबो दुई जनालाई त मिलाएर राखिहाल्छु नि ! मेरा बुवा, दाजु भाइ सबैको दुई जना श्रीमती छन् । तँ एकल महिला, तेरो जिन्दगी पनि एक्लै चल्दैन । एक न एक दिन कसैको सहारा चाहिन्छ । म तेरो सुख र दुःखको साथी बन्छु । मलाई पनि तेरो खाँचो छ । तँ पनि भर्खरकी छस् ।’ तिनताक भर्खर २८÷२९ वर्षकी थिएँ । कोही मेरा लागि मरिहत्ते गरिरहेछ । आफूले माया गरेको मान्छे होइन, आफूलाई यति बिघ्न माया गर्ने कोही छ भने राम्रै हो भन्ने लाग्यो एक मनमा र स्विकारेँ । कुनै मन्दिरमा गएर होइन, कुनै अड्डा अदालतमा गएर पनि होइन । दुई मन एक भयो र हामी एक भयौँ । उसले एउटा कोठा लिएर राख्यो, पालुङटारमै ।

 शुरुका दिनमा सम्बन्ध ठीकै ढंगले चलिरहेकै थियो । खर्च दिन्थ्यो । तँ मेरो श्रीमती नै होस् भन्थ्यो । धेरै पटक साथै लगाएर काठमाडौं अस्पताल ल्याएको छ । र, उपचार गराएर फर्किएको छ । यही बीचमा माइतीले अर्को केटासँग विवाह गरिदिन खोजेका थिए । उसले विवाह गर्न दिएन । पेटमा उसकै बच्चा आयो । त्यो पनि धम्क्याएर फाल्न लगायो । मैले विवाह दर्ताका लागि दबाब दिएपछि बटारिन थाल्यो । ऊसँग झण्डै ५ वर्ष व्यतित गरिसकेको थिएँ । मैले उसलाई नागरिकता, विवाह दर्ता गर्नका लागि आग्रह गर्न थालेसँगै शुरु भयो कुट्ने र पिट्ने खेलो । पहिला मिस्डकल गर्दा फोन फर्काउने ऊ अब २० औं पटक कल गर्दा पनि उठाउन छाड्यो । बल्लतल्ल उठाए पनि तथानाम र सुन्नै नसक्ने तुच्छ गाली गथ्र्याे । हामीबीचको सम्बन्धबारे दुबैको घरपरिवारलाई थाहा छ । म उसको घरमा गएर बसेको छु । ऊ मेरो घरमा आएर खाने र बस्ने गरेको छ । हुँदाहुँदै आफ्नै कोखबाट जन्मिएको छोराले समेत तेरो मान्छेले तँलाई कहिले भित्र्याउँछ ? कि निस्केर गइहाल् भन्न थाल्यो । छोराछोरी बुझ्ने भइसकेका थिए । मलाई लाग्थ्यो गलत बाटो हिँड्दै छु । तर, ढिलो भइसकेको थियो बुझ्न । अहिले म घर न घाटको अवस्थामा छु । मर्नु न बाँच्नुको अवस्थामा छु । उसकै कारण जिन्दगी नर्कतुल्य र बर्बाद भयो । ऊविरुद्ध जिल्ला अदालतमा उजुरी दर्ज गर्ने तयारी गर्दै थिएँ । मभन्दा पहिला उसले उजुरी गर्न भ्याएछ । भन्छन् अति गर्नु, अत्याचार नगर्नु ।

दिनरातको कुटपिट र धम्कीले आजित भएपछि अन्याय गर्नुभन्दा अन्याय सहनु अपराध भन्ने लाग्यो र ०७५ सालमा जिल्ला अदालत पुगेँ । त्यहाँ मुद्दा दर्ज भयो । उसले क्षतिपूर्तिबापत ५ लाख रुपैयाँँ दिन्छु भन्यो । चेक त दियो तर खातामा पैसा नभएको । एकपछि अर्काे छलछाम र धोखाधडी गर्न माहिर रहेछ ऊ । कांग्रेसको नेता रे ! समाजको सम्पन्न । गन्यमान्य । उसले जति जना महिलाको अस्मिता लुटे पनि ऊ पुरुष । उसकै शिर ठाडो । बर्बादी र बेइज्जतीको भागिदार हुने त हामी महिला मात्रै । बाँचौ बाँच्न सक्दिन, मरौँ मर्न सक्दिनँ । ५ वर्षसम्म श्रीमती बनाएर राख्यो । अहिले बिचल्ली बनाएपछि न्याय खोज्दै अदालत पुगेँ । गाली–बेइज्जती र अंश मुद्दा बोकेर । वकिलले नै सबै बिगारेर लेखिदिएका रहेछन् । उनैले विपक्षीसँगको मिलेमतोमा अंश मुद्दा नलेखी गाली–बेइज्जती मुद्दा मात्र लेखेछन् । म अनपढ, के जान्नु ? पछि अरुले भन्दा चाल पाएँ । न्यायको खोजीमा कहाँ–कहाँ मात्र पुगेकी छैन ? कहाँ कहाँ मात्र दुःख बेसाइनँ ? महिला आयोगको ढोका ढक्ढक्याएँ । त्यहाँका अगुवाहरूले सरकारी वकिलको व्यवस्था गरिदिनु त भयो तर अदालत परिसरमै छाडा शब्द बोल्यो । न्यायकै खोजीमा समाजका धेरै अग्रज र बुद्धिजीवी भनिने महिलालाई भेटँे । गुहार मागँे । शुरुमा हामी तपाईंलाई न्याय दिलाउँछौं भन्नेहरू पछि उसको पक्षमा किन र के कारण खुलेर लाग्छन्, दैव जानुन् । महिलाहरू नै उसको पक्षमा लागेको देख्दा चकित हुन्छु ।

गोर्खातिर आएको समयमा मैले धेरै सहयोग गरेको हुँ सामाजिक अभियन्ता भनिने धेरैलाई तर जब म आफैं दुःख र पीडाको भुमरीमा डुबेँ । उनीहरूलाई आफ्नो दुःख बेसाउन फोन गर्दा उठाएनन् । डलर नआउनेको फोन किन उठाउनु ? भेट्दा मेरो नमस्कारसमेत फर्काउँदैनन् । गोर्खा बस्न मन रमेन । र, ६ महिनाअघि छोराछोरी बोकेर भित्रिएँ काठमाडौं । माइतीबाट केही सरसहयोग र ऋण–धनले अहिले यतै चिया बेचेर गुजारा चलाउँदै छु । थाहा छैन, कानुनको नौ सिङ भनिने न्यायालयले मलाई साँच्चै न्याय दिन्छ वा अन्यायको भुमरीमा धकेली अश्रुधारा पिएर बाँच्न विवश बनाइरहन्छ ।

 -पूजा चौलागाईं, हाल काठमाडौं 

टिप्पणीहरू