भारतीय प्रधानमन्त्रीले कोदोको व्यापक प्रचार गर्ने,जी २० सम्मेलनमा कोदोको परिकार राखिने

भारतीय प्रधानमन्त्रीले कोदोको व्यापक प्रचार गर्ने,जी २० सम्मेलनमा कोदोको परिकार राखिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोदोको व्यापक प्रचार गर्ने र कोदो किसानको भूमिकालाई सर्वोत्कृष्ट रुपमा लिनुपर्ने बताएका छन् । उनले भारतका अन्य राज्यमा भन्दा उडिसामा कोदोको खेती व्यापक हुन थालेको भन्दै त्यहाँका किसानको प्रयासको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री मोदीले सुन्दरगढ आदिवासी जिल्लामा लगभग १५ सय  महिलाको स्व–सहायता समूहले गरिरहेको कामको बारेमा थप विवरण दिँदै भनेका छन्,‘ती सबै उडिसा मिलेट मिसनसँग सम्बन्धित छन् । महिलाहरूले कोदोको चकलेट,रसभरि, लालमोहन,केकलगायत धैरै परिकार बनाउँछन् । बजारमा त्यस्ता उत्पादनको माग धेरै भएकाले महिलाको आम्दानीसमेत बढेको छ ।’

उता कर्नाटकको बिदर जिल्लामा पनि हुल्सुर कोदो उत्पादक कम्पनीसँग आवध्द महिलाहरूले कोदो खेती गरेका छन् । उनीहरुले पीठो तयार गर्छन् र अन्यको तुलनामा आम्दानी मनग्गे गरेको देखिन्छ ।

छत्तिसगढको सन्दीप शर्माको किसान उत्पादक संस्थासँग १२ राज्यका किसानले हात मिलाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्,‘विलासपुरको उक्त कृषक उत्पादक संस्थाले आठ प्रकारका कोदोको पिठो र खाद्यान्न उत्पादन गर्छ ।’

मोदीले भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनसँग सम्बन्धित कार्यक्रममा कोदोका पौष्टिक र स्वादिष्ट परिकार समावेश गरिने जानकारी गराएका छन् । विशेषगरी कोदोको खिचडी,पुवा,खीर,रोटीका साथै पुरी,डोसाजस्ता परिकार पनि राखिने जानकारी दिइएको छ ।

उनले योग र कोदो दुवै स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् ।  मानिसले योग र तन्दुरुस्तीलाई अंगालेझैं कोदो पनि जनतामाझ लोकप्रिय खाद्यान्न बन्दै गएकोमा प्रधानमन्त्री मोदी खुशी देखिएको बताइन्छ ।

गत वर्ष,संयुक्त राष्ट्र संघले भारत सरकारको प्रस्तावपछि २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गरेको छ । उक्त प्रस्तावमा विश्वका ७२ राष्ट्रले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । जी २० आगामी सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा २०२३ सेप्टेम्बर ९ मा हुँदैछ ।

टिप्पणीहरू