सेनाको जहाजमा ११ देशका सैन्य अधिकारी : चीनदेखि अमेरिका, भारतदेखि पाकिस्तान सबै एकै ठाउँमा
नेपाली सेनाले आफ्नो जहाजमा ११ मुलुकका सैन्य अधिकारीहरुलाई राखेर माउण्टेन फ्लाइट गराएको छ । आज बिहान सेनाले एनए ०६२ कासा जहाजमा राखेर ११ मुलुकका ३४ जना सैन्य अधिकारीहरुलाई उच्च हिमश्रृंखलाको अवलोकन गराएको बताइएको छ ।
चालक दलका ६ जनासमेत गरेर ३६ जनालाई माउण्टेन फ्लाइटपछि पोखरा लगिएको छ । उडानमा चिनियाँ जनसेनाका वरिष्ठ कर्नेल लिउ कोचङ र अर्का कर्नेल लु फङ छन् ।
त्यसैगरी अमेरिका र भारतीय सेनाका चार जना सैन्य अधिकारी छन् भने पाकिस्तान र बेलायतका दुई जना छन् । सेनाको विमानमा जर्मनीका चार, रुसका तीन, दक्षिण कोरियाका दुई, फिलिपिन्सका दुई, सेनेगलका एक जना र नेपाली सेनाका छ जना रहेको बताइएको छ ।
नेपाली सेनाका तर्फबाट जर्नेल सुनिलराज विष्ट र सुनिल श्रेष्ठसहितको टोली सहभागी भएको हो ।आज बिहान सेनाका दुई वटा हेलिकोप्टरमा भारतीय पूर्वसेनाध्यक्षहरुको टोली मुक्तिनाथ गएको छ । उक्त टोली पनि पोखरा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।
सेनाले हिजो आफ्नो स्थापना दिवसको २६० औं वार्षिकोत्सव मनाएको थियो । ती सबै पाहुनालाई आज माउण्टेन फ्लाइट र मुक्तिनाथ दर्शन गराइएको बताइएको छ ।
टिप्पणीहरू