सन्दीप लामिछानेको समाचार किन लेखेको ? भन्दै तारा बरालको टोली प्रेस काउन्सिलमा

सन्दीप लामिछानेको समाचार किन लेखेको ? भन्दै तारा बरालको टोली प्रेस काउन्सिलमा

उमेर नपुगेकी किशोरी बलात्कारको अभियोगमा जेल परेर अदालतको आदेशपछि रिहा भएका र अहिले क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेको विपक्षमा समाचार लेखेको भन्दै केही सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल समूहले कान्तिपुर दैनिक, अनलाइन खबर र सेतोपाटीमाथि कारबाहीको माग गर्दै आज काउन्सिलमा उजुरी हालेको छ । उजुरीमा क्रिकेटर लामिछाने सम्बन्धी अनावश्यक समाचार लेखेकाले ती मिडियालाई कारबाही गर्न माग गरिएको छ । 

बरालसहित पाँच जनाको टोलीले आज साँझ काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई भेटेर निवेदन बुझाएको बताइएको छ । 

बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा परेका लामिछाने उच्च अदालत पाटनको आदेशले धरौटीमा रिहा भएसँगै खेलमा फर्किएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी नेपाल, स्कटल्याण्ड र नामाबिया सम्मिलित त्रिदेशीय शृंखलामा उनले उत्कृष्ट प्रदर्शनसमेत गरेका छन् । 

तर, उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेकाले क्रिकेट खेलाइएकोप्रति केही अधिकारकर्मीहरुले असन्तुष्टी जनाएका छन् । कान्तिपुर, अनलाइन खबर र सेतोपाटीले त्यहि आशयको समाचार सम्प्रेषण गरेका थिए ।

टिप्पणीहरू