जब मिर्गौलाका कारण प्रेमी टाढियो

जब मिर्गौलाका कारण प्रेमी टाढियो

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि मिर्गौलाका बिरामी हुन् । प्रधानमन्त्रीमा बहाल रहेकै बेला त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक प्रत्यारोपण गराएका थिए । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गरेको भनेर निकै चर्चा भएको हो । २०७८ सालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराए । यो लेखाइपछि पंक्तिकारले पात्रको गाली खानुपर्छ, जो यहाँ उल्लिखित हुन्छन् । सामाजिक सञ्जालमा केही समय राम्रै कुराकानी भयो, व्यावसायिक जीवनका सफलता र असफलताको पनि कुरा भयो । उपचारका लागि धेरैपटक काठमाडौं आएको कुरा पनि उनले गरेकी थिइन् तर कहिल्यै भेट भएन । माघ महिना विवाहको मौसम भएकाले प्रसङ्गबस त्यही विषय जोडिन पुग्यो । उमेर पनि सोधेकै हो, नेपालीहरूले विवाह गर्ने औसत उमेरभन्दा उनको धेरै नै थियो । कानुनले व्यवस्था गरेको उमेर नपुग्ने भन्ने भएन ।

रूप, रङ, व्यवहार सबै ठीकठाक, विवाहको लागि पनि तयार । तैपनि विवाह नहुनुको कारण ? धेरै मेहनतपछि बल्लबल्ल भन्न तयार भइन्, सार्वजनिक नगर्ने शर्तमा । तर कहिलेकाहीँ शर्त उल्लंघन पनि हुन्छन् नि ? उनी प्रेममा रहिछन् । उनी मात्रै होइन, प्रेमी पनि विवाहका लागि तयार रहेछन्, जबसम्म एउटा कुरा भन्न बाँकी राखेकी थिइन् । तपाईंलाई लाग्यो होला उनले अर्को प्रेमी छ मेरो भन्छिन् भनेर अहँ हैन, उनी प्रेममा निकै इमान्दार रहिछन्, प्रतिबद्ध पनि ! विवाहको बारेमा कुराकानी भयो प्रेमी प्रेमिकाबीच । धेरै समयदेखि भन्न बाँकी कुरा त्यही दिन भनिन् ।

त्यसको लागि तयार थिइन् । डाक्टरहरूसँग कुराकानीपछि विवाहका लागि कुनै समस्या नहुनेमा ढुक्क थिइन् । प्रेमिका नियमित उपचारका लागि गइरहेको त यसै पनि प्रेमीलाई थाहा थियो । उनी पिसाब संक्रमणको उपचारमा थिइन् । निकै पछि मात्रै थाहा भयो, अरु मानिसमा दुई वटा हुने उनको शरीरमा एउटा मात्रै रहेछ । दुई वटा हुने र नहुनेका बीचमा हुने फरकबारे डाक्टरसँग धेरै परामर्श गरेकी थिइन् । ती सबै कुराको बृत्तान्त सुनाएर, प्रेमी पनि पूर्ण रूपले तयार भएपछि भनिन्, ‘म एउटा मिर्गौला लिएर जन्मेकी हुँ ।’ सुन्दा प्रेमीले पनि कुनै असामान्य प्रतिक्रिया दिएन । यसले आफूलाई केही फरक पार्दैन भनेर ढुक्क पार्न कोशिस गरेको थियो । दुबै जनाको परिवारसँगको कुराकानी अनि विवाहको मिति तय गर्ने साझा निश्कर्षका साथ छुट्टिए तर भोलिपल्ट सूर्य पुरानो, दिन नयाँ उदायो । प्रेमी बटारियो, उसका बाआमालाई दोष दिएर पन्छियो । एउटा मात्रै मिर्गौला भएका पुरुषसँग विवाह गर्ने नारीहरूको फेहरिस्त सुनाउने प्रेमी एउटा मात्रै मिर्गौला भएकैले प्रेमिकासँग टाढिएको थियो । यो लेखमा तथ्यांकको कुरा गर्ने नै हैन भन्दाभन्दै पनि पुरुषको तुलनामा महिलाले मिर्गौला बढी दिएकै छन् । ७० प्रतिशत दाता महिला रहेको तथ्यांक छ ।

के थाहा त्यो प्रेमीको पनि मिर्गौला एउटा मात्रै पो छ कि ? कुनै ठूलो समस्या नभई अस्पताल नपुग्ने आमनेपालीको प्रवृत्ति हो । यसो त मिर्गौलामै समस्या हुँदा देखिने लक्षण यही हो भन्ने पनि छैन । यी पंक्ति पढिरहँदा तपाईंलाई पनि आफ्नो मिर्गौला दुई वटा छन् कि छैनन् भन्ने जाँच्न मन लाग्यो कि ? जसले कसैलाई पनि नभन्नु भनेर आफ्नो कुरा मलाई सुनाइन् । मैले पनि त्यसको पालना गरेकै छु, कारण तपाईंले यी पंक्ति नसुनेर पढिरहनुभएको छ । नेपालमा बर्सेनि तीन हजार नागरिकको मिर्गौला फेल हुने गरेको छ । तर, पछिल्ला १४ वर्षमा जम्मा दुई हजार एक सय २१ जनाको मात्रै मिर्गौला प्रत्यारोपण हुन सकेको छ । आवश्यक जनशक्ति र उपकरण रहेका अस्पतालले पनि पर्याप्त सेवा दिन सकिरहेका छैनन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकार श्रेष्ठले नेपालको कूल जनसंख्याको १० प्रतिशत अर्थात् वार्षिक करिब ३० लाखको मिर्गौलामा कुनै न कुनै समस्या देखिने बताएका छन् । पछिल्लो मेडिकल मान्यताअनुसार कूल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या देखिन्छ । त्यसको १० प्रतिशतमा अझ ठूलो समस्या देखिन्छ । त्यसको पनि १० प्रतिशतमा एउटा मिर्गौला बिग्रिन्छ र त्यसलाई झिकेर फाले पनि अर्को मिर्गौलाले काम गर्छ । त्यसको १० प्रतिशत जनसंख्या भने मिर्गौला नै प्रत्यारोपण गर्नुेपर्ने अवस्थामा पुग्छ । नेपालमा ०६५ देखि मिर्गौला प्रत्यारोपण शुरु गरिए पनि आममानिसको पहुँचमा अझै उपलब्ध हुन सकेको छैन । हालसम्म देशभर निजी र सरकारी गरी १५ अस्पतालले प्रत्यारोपणको लाइन्सेन्स पाएका छन् ।

तर, ११ अस्पतालले मात्रै प्रत्यारोपण सेवा दिइरहेका छन् । अंग प्रत्यारोपण समन्वय समितिका अनुसार हालसम्म ६४ विशेषज्ञ चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स लिएका छन् । तर, उनीहरूमध्ये कतिपय विदेश गइसकेका भए पनि यकिन तथ्यांक छैन । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावलीको मापदण्डअनुसार चार भारतीयसहित प्रत्यारोपण सर्जन र नेफ्रोलोजिस्ट नेपालमा ६४ चिकित्सकले प्रत्यारोपणका लागि लाइसेन्स पाएका छुन् । जसमध्ये १८ जना कलेजो प्रत्यारोपणका लागि समेत लाइसेन्सप्राप्त हुन् ।

मेरी स्वयंसेविका भाउजू हप्ताको तीन दिन शिक्षण अस्पताल महाराजगञ्जमा डायलासिस गराइरहेकी थिइन् । निकै विरामी परेकी भाउजूको मिर्गौलामा समस्या आएको धेरै पछि मात्रै थाहा भयो । जबकि दुबै मिर्गौला काम गर्नै नसक्ने अवस्थामा पुगिसकेका रहेछन् । यो अवस्थामा दुई वटा मात्रै विकल्प हुन्छन् डायलासिस वा मिर्गाैला प्रत्यारोपण । पहिलो कुरा भाउजूलाई मिर्गौलादाता भेट्नै गा¥हो भयो । भेटे पनि आर्थिक स्रोत जुटेन । आर्थिक संकलन अभियान नै चल्यो । 

तपाईं भन्नुहोला डायलासिस त सरकारले निःशुल्क गरेको छ नि ? हो म पनि मान्छु । तर खर्च अस्पतालभित्र मात्रै हैन, बाहिर पनि त हुन्छन् नि ! अस्पताल आउन–जान पर्ला, बिरामीले आर्थिक स्रोतले धाने पनि नधाने पनि ट्याक्सी चढ्नु प¥यो । काठमाडौंमा बसेपछि कोठा भाडा तिर्नै प¥यो । नुनदेखि नुन घोल्ने पानी पनि त किन्नु प¥यो नि ! जेनतेन डायलायसिस चलिरहेको थियो । त्यही बीचमा विश्वभर कोरोनाको महामारी फैलियो । कोरोनाले भाउजूलाई पनि छोयो, अनि कहिल्यै नफर्कने बाटोमा लिएर गयो ।

यी पंक्ति पढिरहने कतिलाई लाग्दो हो मैले त मिर्गौला बिगार्ने काम केही गरेको छैन । तर जाडो धेरै छ भनेर म जस्तै अल्छी गरेर पिसाब लामो समय रोकेर सिरकभित्रै बसिरहनु भएको छ कि ? भारीका भारी गुट्का किनेर खाने गरेको पनि छैन । कसरी बिग्रेला र मिर्गौला ? अनि केटीहरू मख्ख होलान् हामी त पराग खाँदै खाँदैनौ हाम्रो मिर्गौला सुरक्षित छ भनेर । तर मिन्स हुँदा सहनै सकिन भनेर खट्टु चपाए जसरी पेनकिलर चपाएको बिर्सनुभयो ? म स्वास्थ्यकर्मी त हैन तर यत्ति त भन्नै पर्छ पेनकिलरबाट टाढै रहनु मिर्गौला बचाउने एक उपाय हो । म त कुनै पनि चिजको अम्मली हैन, छैन भनेर ढुक्क हुने अवस्था छैन । सुगर र ब्लडप्रेसरका बिरामीको मिर्गौला झन जोखिममा हुन्छ । र, नेपालीले विषादी खाइरहेछन् । दाल, भात र तरकारीबाहेक केही खान्न भन्नेले पनि दिनहुँ विषादी खाइरहेछन् । तरकारीको बीज, विरुवादेखि भाँडोमा ओइरिनेबेलासम्म विषादीकै संसर्ग छ । पोलिस गरेर नचम्काइएको दाल र चामल भेट्नै मुश्किल । फलफूललाई चम्किलो बनाउन मात्रै हैन, पकाउनसमेत केमिकल हालिएकै छ । कुखुरा छिटो हुर्काउन भनेर सुई घोपिएकै छ । माछालाई धेरै दिन टिकाउन भन्दै शव नसडोस् भनेर हालिने रसायन हालिएकै छ । यसर्थ कसैले दाबी गर्नै पर्दैन, यहाँ कसैको पनि मिर्गौला सुरक्षित छँदै छैन ।

नेपालमा रोगको बारेमा थाहा पाएर मात्रै पनि हुने अवस्था छैन । यहाँ त औषधिमा समेत कमिशनको खेल छ । उपचारका लागि पुग्ने बिरामीहरूमा कमिशन, शय्यामा कमिशन, सरकारीबाट निजी अस्पतालमा लैजान कमिशन, एम्बुलेन्समा कमिशनको जमाना आएको छ । एकाधलाई छाड्ने हो भने रोगबारे जानेको भनिदिंदासमेत कमिशन वा पैसा लिनुपर्छ भन्ने प्रवृत्ति हुर्किंदै गएको छ । रोग चिनेर अस्पताल पुगे पनि ढिलासुस्ती वा गलत उपचारले वा यस्तै यस्तै कारणले मानिस मरिरहेका छन् । रोगको पीडालेभन्दा पनि स्वास्थ्यकर्मीले, अस्पताल प्रशासनले वा चरम कर्मचारीतन्त्रले बिरामीलाई गिजोली–गिजोली तन्नम बनाइन्छ । यसर्थ सुरक्षित रहन धेरैभन्दा धेरै सहज हुनु आवश्यक छ । ल अब त घडीले रातको १२ः०८ बजायो । सबैभन्दा पहिले अघिदेखि रोकेर राखेको सुसु फ्याँकेर मिर्गौला जोगाउन लाग्छु ।
 

टिप्पणीहरू