लड्दै र पढ्दै अघि–अघि बढ्दै

लड्दै र पढ्दै अघि–अघि बढ्दै

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो ‘इतिहास’ । मान्छेले सबै चिज भुल्न सक्छ तर कदापि भुल्न सक्दैन आफ्नो विगत । सम्झिरहेछु, विगतका ती अप्ठ्यरा गल्छेडाहरूमा हात छाड्ने, खुट्टा तान्ने आफ्नै भनिएका ती प्रिय पात्रहरूलाई !

जीवनका अप्ठ्यारामा तिनैले दिएका घात–प्रतिघातका कारण आज यो ठाउँमा उभिन सफल भएको छु । यो जमिन बनाउन सफल भएको छु । मेरो नाम रञ्जय मेहता, जन्मिएँ हुर्किएँ मधेशको सुनसरीमा । साविक मध्यहर्षाही–५ मा जन्मिएँ । अत्यन्त निम्नवर्ग परिवारमा । हात–मुख जोर्ने एउटै माध्यम थियो कृषि । बिहान खाए बेलुका के खाऊँ, साँझ खाए बिहान के खाऊँको पिरलोले पिरोलिरहन्थ्यो बुवा–आमालाई । नजिकबाट देख्थें ती सबै पीडादायी घटना । परिवारको आयस्रोतको अन्य माध्यम नभएको र कृषिमै आश्रित हुँदा पढ्ने र पढाउनेतिर परिवारको रुचि भए पनि खर्च धान्न सक्ने क्षमता थिएन । विदेश जाने पैसा कमाउने, घरको काम गर्नेलगायत कुराले दिमागमा डेरा जमाइरहेको थियो । यद्यपि, ती अप्ठ्यारा मोड र समस्यालाई चिर्दै जेनतेन पार लगाएँ एसएलसी ०६७ सालमा । देवानगञ्जको हाइस्कुलबाट एसएलसी उत्तीर्ण भएँ ।

पढ्ने र केही गरेर गाउँ समाजमा देखाउने उत्कट चाहना थियो । अत्यन्त कष्टकर परिस्थितिसँग लड्दै दुई वर्षपछि नै अर्थात् ०६९ सालमा हरिनगरा उच्चमाविबाट प्लस टु गरेँ । जीवनमा जे छैन/हुँदैन अक्सर उसैले डसिरहन्छ मान्छेलाई । पैसा अभावले सदैव सताइरहन्थ्यो म र मेरो सिंगो परिवारलाई । प्लस टु मात्र गरेर केही हुनेवाला थिएन । सर्टिफिकेट सिरानीमा राखेर सुत्नेबाहेक । उच्च शिक्षा पूरा गर्न घिडघिडो थियो । जसरी पनि मलाई बिबिएस पढ्नु थियो । समाजमा केही गरेर देखाउनु थियो । आर्थिक अभाव पूर्तिका लागि र उच्च शिक्षा पूरा गर्ने अभिलाषा पूरा गर्न होमिएँ पत्रिका वितरक अर्थात् हकरको रूपमा । विराटनगरको एउटा स्थानीय पत्रिका थियो त्यो । तलब मासिक एक हजार रूपैयाँ तोकिएको थियो ।

म्यादी प्रहरीको  जागिरमा छँदा प्रहरीका बर्दीधारीहरूले एउटा युवालाई गरेको डिमोटिभेट सम्झँदा अहिले पनि साह्रै नमज्जा र नमीठो लाग्छ ।

पत्रिका वितरण गर्दाको पल सम्झिँदा साह्रै नमज्जा लागेर आउँछ । समयमा तलब नपाउने, महिनाभरिको श्रमको ज्याला माग्दा उल्टै गाली खानुपर्ने दिन सम्झँदा अहिले पनि पीडाबोध हुन्छ । पत्रिका वितरक बन्दाको दुःख र सास्तीपछि त्यसलाई त्यहीँ पूर्णविराम लगाएर अर्काे जागिरमा लागेँ, जागिर थियो सहकारीमा । घरघरमा पैसा बटु्ल्दै हिँड्नुपर्ने । एउटा सहकारी संस्थामा पैसा संकलन र कार्यालय सहयोगीको रूपमा काम प्रारम्भ गरेँ, तलब १५ सय भनिएको थियो । सहकारीमा मात्र गर्दा त्यसले झनै संघर्ष गर्न सिकायो । ०७० सालमा बिबिएस पढ्न भर्ना भएँ । कहाँ पुग्न सक्छ र मान्छे यो दुनियाँमा न टेक्ने हाँगो न त समाउने हाँगो भएपछि ? कुवाको भ्यागुतो जति उफ्रे पनि कुवामै भनेझैं हुँदो रहेछ गरिबको जिन्दगी । सहकारीमा कार्यरत थिएँ, कसैले सुनायो लोकसेवाको तयारी कक्षामा पढेर लोकसेवा भिडेर नाम निकालेको खण्डमा सरकारी सिन्दूर लगाउने अवसर मिल्न सक्छ । पानीमा डुब्न लागेको मान्छेलाई सिन्काको पनि सहारा, भरोसा हुन्छ भन्छन् । त्यस्तै भयो मेरा लागि पनि लोकसेवा ।

लोकसेवा तयारी कक्षाबारे जानकारी पाएँ, लोकसेवा तयारी त गर्ने तर समस्याको अजंगको पहाड बनेर अगाडि उभियो, पैसा । कसले बनायो होला यसरी पाइला–पाइलामा समस्या बनेर उभिने पैसालाई ? लोकसेवा तयारीका लागि आवश्यक रकम जुटाउन धेरैसँग ऋण मागियो, कसैले पत्याएनन् । भगवान्ले भन्छन् रे, तँ आँट म पु¥याउँछु, त्यही पैसाको जोहो गर्नका लागि म्यादी प्रहरीमा भिडेँ । नाम निस्कियो, हर्षको सीमा रहेन । एक/दुई महिनाको म्यादी प्रहरीको जागिर । त्यो जागिरमा छँदा प्रहरीका बर्दीधारीहरूले एउटा युवालाई गरेको डिमोटिभेट सम्झँदा अहिले पनि साह्रै नमज्जा र नमीठो लाग्छ । ०७० सालमै वन रक्षकको परीक्षा दिएँ । दैनिक १२ देखि १४ घण्टासम्म अध्ययनमै रटिन्थेँ । आशा थियो नाम निस्किहाल्छ तर असफल भएँ । दिनको तीन वा चार घण्टाभन्दा बढी समय नपढ्ने साथीहरूले वन रक्षकमा नाम निकाले । सँगैका साथीहरू सफल भए, आफू असफल ती साथीहरूले गर्ने व्यंग्यवाणले झनै इखालु बनायो ।

भन्छन् नि इख नभएको मान्छे र विष नभएको सर्प काम छैन । त्यही इख लिएर आफैँमा झन् ऊर्जा भरिरहेँ र लगातार संघर्ष गरिरहेँ, लागिरहेँ, डटिरहेँ । भन्छन् नि ! निरन्तरको नदीको बहावले ठुल्ठूला चट्टान त पगाल्न सकिन्छ भने प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकारात्मक ऊर्जा लिएर लगातार प्रयास गरिरहेँ र ०७१ सालमा पूर्वाञ्चलबाट नायब सुब्बा पदमा नाम निकाल्न सफल भइयो । त्यो पनि मधेशी कोटामा १ नम्बरमा । यसरी अथक मिहिनेतबाट, एउटा हकर केटो नायब सुब्बा बनेँ । मेरो पहिलो पदस्थापन लेखापालको रूपमा जिल्ला शिक्षा कार्यालय, संखुवासभामा भयो । पहिलो नियुक्ति पाएको पल सम्झँदै भावुक भइयो ।

मेरा नाता–गोता, अग्रजहरू भन्थे यसले जीवनमा केही गरिखान सक्दैन । अहिले तिनै व्यक्तिहरू उत्प्रेणाको स्रोत भन्न थालेका छन् । दुनियाँ नै जित्नेहरूको हो, उनीहरूको लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । अक्सर हामी एक/दुई वटा असफलताबाटै निराश हुन्छौँ र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नै पर्छ असफलतासँग । भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष कमैले मात्र देख्छन् । सरकारी नियुक्ति पाएपछि खासै पछाडि फर्केर हेर्नु परेन । आर्थिक रूपमा जीवन अलि सहज हुन थाल्यो । तीन वर्षपछि अर्थात् ०७३ सालमा बिबिएस तहको परीक्षा पार लगाएँ । स्नातक तह उत्तीर्ण भएपछि शाखा अधिकृतको परीक्षा भिड्ने सोच बनाएँ । विज्ञापन खुलेपछि परीक्षा थिएँ । तर, दुर्भाग्य एक पटक होइन, दुई–दुई पटकसम्म शाखा अधिकृतको पहिलो पेपरमै असफलता हात लाग्यो । त्यही असफलताले केही पाठ सिकायो र आफ्नो कमजोरीको सूक्ष्म तरिकाले मनन गरेँ ।

मन हो, कहिलेकाहीँ एक मनमा लाग्थ्यो कि अधिकृत तह पास गर्न सकिन्न, जीवनभर । दुई पटकसम्म पहिलो पेपर नै मेरा लागि तगारो बनेर उभिएको थियो । बीचमा कोभिड महामारीका कारण अफिसरको परीक्षा हुन सकेन । फेरि अदालती मुद्दा परेर विज्ञापन अझै लम्बियो । ०७८ सालमा लोकसेवाले खुलाएको अधिकृतको विज्ञापनको पहिलो पेपरमा उत्तीर्ण भएँ । अब भने मनोबल अलि उचो भयो । लोकसेवा आयोगल हालै विज्ञापन नम्बर १६६९५ –०७७/७८ प्रशासन सेवा, लेखा समूहतर्फको नतिजा सार्वजनिक हुँदा अधिकृतका सबै तहका ढोका पार गरेर संघीय सरकारको शाखा अधिकृतको रूपमा उत्तीर्ण भएका छन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका छन्, जीवनको यी प्रारम्भिक यात्रा हुन् । संसारमा सबै कुरा खानु तर हरेश नखानु भन्छन् । निरन्तर बगिरहनुपर्छ, लागिरनु मात्र पर्छ सत्कर्ममा । जसरी लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पगाल्छ, उसैगरी सफलतालाई प्राप्त गर्न सकिन्छ । निरन्तरको संघर्ष, मिहेनत र सत्कर्म गर्ने हो भने उसका अगाडि सफलतालाई पनि पग्लन करै लाग्छ, जसरी नदीको बहावले पग्लन्छ, चट्टान । 

– रञ्जयकुमार मेहता, शाखा अधिकृत, ब्याच ३६
 

टिप्पणीहरू