माधवको घरतिर ओलीको मन

माधवको घरतिर ओलीको मन

केपी ओलीले माधव नेपाललाई चिठी मात्रै पठाउनुभएन, त्यसो गर्नुअघि माधवको अफिस र घरको बाटो पनि हिँड्नुभयो ! घटना हो, सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुअघि । उम्मेदवार बनाएलगत्तै त एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाममा ‘सहयोगका लागि’ चिठी नै लेख्नुभयो र त्यो सर्वत्र हेरियो पनि । तर, त्यसअघि एउटा घटना भएको थियो, ‘पत्र कूटनीति’ अगाडि ‘यात्रा कूटनीति’ को । ओली सुवास नेम्वाङको मनोनयनका निम्ति नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जाँदा र मनोनयपछि बालकोट फर्किंदा उहाँले माधव नेपालको घर र उहाँको पार्टी कार्यालयको बाटो रोज्नुभयो । जबकि, त्यसअघि र पछि उक्त बाटोमा ओलीको यात्रा कहिल्यै देखिएको थिएन । 

ओलीले रोज्नुभएको बाटो थियो, कोटेश्वरको बालकुमारी पुलमुनि झरेर खोलैखोलाको बाटो हुँदै आलोकनगर, मीनभवन निस्किने । मूलबाटो छाडेर यस्तो बाटो प्रायः ट्राफिक जाम छल्नका निम्ति प्रयोग गरिन्छ । त्यसदिन शनिबार थियो । काठमाडौंमा प्रायः बिदाको दिन ट्राफिक जाम हुँदैन । भएछ भने पनि पूर्वप्रधानमन्त्रीहरूलाई जाम लाग्दैन, सुरक्षाकर्मीले बाटो खाली पारिदिएका हुन्छन् । संयोग कस्तो भने, ओलीले उक्त बाटो प्रयोग गरेर जाँदा र फर्किंदा पनि माधव नेपाल पार्टी कार्यालयस्थित आफ्नै कार्यकक्षमा हुनुहुन्थ्यो ।

तर, न ओलीले माधवसँग भेट गर्नुभयो, न त माधवले ओली त्यो बाटो हिँडेको कुरा त्यही बेला पत्तो नै पाउनुभयो । माधवलाई उहाँका प्रेस संयोजक जीवन बिसीले सुनाएपछि मात्रै थाहा भयो, ओली त्यो बाटो हिँडेको । सुनेपछि माधवले हाँसेर भन्नुभयो, ‘ए, हो र ?’ त्यसपछि अर्को ‘सरप्राइज’ थियो चिठीको । माधवको हातमा उहाँलाई सम्बोधन गरेको पत्र परेको थिएन तर मिडियामा छ्याप्छ्याप्ती भइसकेको थियो । अनि, उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख डा.गंगालाल तुलाधरलाई सोध्नुभयो, ‘यो के हो ?’ गंगालालले भन्नुभयो, ‘हो त, यहाँ मैसँग छ । तपाईंलाई नभेटेकाले दिन पाएको छैन ।’

यसरी कुनै बेला मुखबाट नाम फुत्किँदा पनि ‘कुल्ला गर्छु’ भन्ने ओलीले आउँदा र जाँदा ‘माधव नेपालको’ बाटो समाउनुमा के कारण थियो ? त्यो अहिलेसम्म खुलेको छैन । त्यसो त एमालेको केन्द्रीय कार्यालय पनि बाग्मती कोरिडोरको अर्को भागतर्फ, ललितपुरको च्यासलमा छ । त्यहाँ पुग्नका लागि अरू बेला ओली बालकुमारी पुलपारि तरेर झर्ने गर्नुभएको थियो । बानेश्वर जाँदा सीधै शंखमूल निस्किएर पुग्ने गर्नुभएको थियो । एक वर्षअघि ओली एकीकृत समाजवादीको कार्यालय छेउछाउ पुग्नुभएको थियो । उक्त कार्यालय रहेको खोलाको ठीक पारिपट्टि मदन भण्डारी प्रतिष्ठानले बनाएको उद्यान छ । त्यसको अवलोकन गर्ने नाममा त्यसबेला खोलापारिबाट ओलीले माधवको पार्टी कार्यालय अवलोकन गर्नुभएको थियो । तर, १३ गते शनिबारचाहिँ माधवको घर रहेको कोटेश्वर, बालकुमारीको खोलाकिनार हुँदै कार्यालय रहेको आलोकनगरतिरबाटै यात्रा तय गर्नुभयो । 

 

टिप्पणीहरू