एमालेको ‘मिसन ग्रासरुट’ अभियान, नक्कली कम्युनिष्टहरुबाट वामपन्थी आन्दोलन जोगाउन आह्वान
नेकपा एमालेले संगठन विस्तारको निम्ति मुलुकभर ग्रासरुट अभियान सञ्चालन गरेको छ । सोही क्रममा आज जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी र उनीहरुको सेवा गर्ने नक्कली कम्युनिष्ट पार्टीहरुबाट वामपन्थी आन्दोलन जोगाउनुपर्ने चुनौती देखापरेको बताएका छन् । उनले भने, ‘काँग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउनुपर्ने अवस्था आएको छ ।’
डेढ वर्षअघि कम्युनिष्ट पार्टीका प्रधानमन्त्रीलाई हटाएर काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने र अहिले कम्युनिष्ट पार्टीबाट राष्ट्रपति बनाउने बेलामा काँग्रेसका उम्मेदवारलाई अघि सार्नेहरूसँग आफूलाई कम्युनिष्ट भन्ने नैतिक र राजनीतिक अधिकार नभएको उहाँको भनाइ छ ।
वडा कमिटी अध्यक्ष बलबहादुर भण्डारीको अध्यक्षतामा आयोजित भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको जानकारी दिइएको छ । भेलामा जुम्ला जिल्लाका एमाले अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाया, अनेरास्वियु केन्द्रीय सदस्य विराज भण्डारी, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
भेलाले वडाका भण्डारीबाडा, कुमाईबाडा र खोलिकोटमा पार्टी सदस्यता नवीकरण र विस्तारका लागि टोलीसमेत गठन गरेको छ ।
टिप्पणीहरू