केपी ओलीको अभिव्यक्तिमा कुनै सत्यता नभएको सरकारको दाबी

केपी ओलीको अभिव्यक्तिमा कुनै सत्यता नभएको सरकारको दाबी

सरकारले चीनसँग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा कुनै विश्वविद्यालय स्थापना गर्न नलागेको प्रष्ट पारेको छ । भारतको प्रस्तावमा त्यहाँ बौद्ध विश्वविद्यालय खोल्न लागेको चर्चा हुन थालेपछि सरकारले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो एउटा सार्वजनिक कार्यक्रममा भारतको प्रस्तावमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोलेर चीनलाई घेर्न लागेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिको खण्डन गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यसमा कुनै सत्यता नरहेको जानकारी दिनुभएको हो । 

’मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ’, प्रवक्ता शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छौं ।’

त्यस्तै, मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा आवश्यक अध्ययन तथा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । सो गाउँपालिकामा एमालेका रिङजीन नामगेल गुरुङ अध्यक्ष छन् ।     

प्रवक्ता शर्माले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्रता र सन्तुलित कूटनीतिका पक्षमा सरकार दृढतापूर्वक उभिएको भन्दै प्रधानमन्त्री र सरकारलाई आक्षेप लगाउने गरी यस्ता तथ्यहीन विषय शृंखलाबद्धरुपमा सार्वजनिक हुनु दुःखद भएको बताउनुभएको छ । 

सरकार असंलग्न परराष्ट्र नीति र पंचशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेकाले कुनैपनि भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुन सरकारले आग्रह गरेको छ ।

 

टिप्पणीहरू