सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
सुदूरपश्चिम विश्वविद्यालयले आगामी चैत ८ गतेदेखि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालयअन्तर्गत स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज कार्यतालिका सार्वजनिक गर्दै यही फागुन २६ गते संघ/संगठन दर्ता गर्ने अन्तिम समय तोकिएको जनाएको छ । त्यस्तै, फागुन २८ गते मतदाता सूची प्रकाशित गर्नुका साथै मतदाता सूचीउपर दाबी विरोध गर्ने कार्यतालिकामा उल्लेख छ ।
समितिले फागुन २९ गते मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र भोलिपल्ट उम्मेदवारी मनोनयन वितरण (प्रत्यक्ष र समानुपातिक दुवैको लागि) गर्ने बताएको छ । कार्यतालिकाअनुसार चैत १ गते उम्मेदवारको मनोनयन पत्र प्रत्यक्ष र समानुपातिकतर्फको नामावली दर्ता गरी प्रत्यक्ष उम्मेदवारको नामावली प्रकाशित गरिने छ ।
त्यस्तै, चैत २ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने अन्तिम समय तोकिएको छ । साथै, सोही दिन दाबी विरोधमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने छ । केन्द्रीय अनुगमन तथा समन्वय समितिले चैत ३ गते भने उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको र अन्तिम नामावली प्रकाशन गर्ने जानकारी गराएको छ ।
त्यस्तै, मतदान समय भने चैत ८ गते बिहान ८ बजेदखि बेलुका ४ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोकेअनुसार हुने बताइएको छ । साथै, प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि ६ गतेसम्म दिनको २ बजेसम्म हुने र त्यसपछि मौन अवधि सुरु हुने समितिले जानकारी गराएको छ ।
टिप्पणीहरू