१० लाख अमेरिकी डलर पुरस्कार थापेपछि डा. रुइत जन्मथलोमा

१० लाख अमेरिकी डलर पुरस्कार थापेपछि डा. रुइत जन्मथलोमा

-कमल भट्टराई

दुई साताअघि बहराइनमा १० लाख अमेरिकी डलरको इसा पुरस्कार ग्रहण गरेपछि विश्वप्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत आफ्नो जन्मथलो पुग्नुभएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका नेत्र रोग विशेषज्ञ डा.रुइतसहितको टोली ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका तापेथोकमा रहेको सरस्वती माविमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न पुगेको हो ।

टोलीले अस्ति र हिजो ७० जना गम्भीर खालका बिरामीको आँखाको शल्यक्रिया गरेको छ । शल्यक्रियापछि उनीहरुको गुमेको ज्योति पुनः फर्केको छ । तिलगंगा आँखा प्रतिष्ठान र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा बिरामीको आवतजावत, खाना, खाजालगायत स्थानीय व्यवस्थापन फक्ताङ्लुङ गाउँपालिकाले व्यहोरेको बताइन्छ । 

शिविरमा प्राविधिक, औषधि, चस्मालगायत खर्च प्रतिष्ठानले व्यहोरेको छ । एक सय जनाको आँखाको शल्यक्रिया गर्ने लक्ष्य राखिएको ७० जनाको शल्यक्रिया भएको छ । शिविरको निम्ति यसअघि फागुन ८ गते घुन्सा, ११ गते ओलाङ्चुङगोला, १३ गते हान्दु्रङटार, १४ र १५ गते छिरुवा, १६ र १७ गते सिवा बजारमा पूर्वशिविर सञ्चालन गरेर बिरामीको प्रारम्भिक आँखा परीक्षण गरिएको थियो । सामान्य बिरामीलाई औषधि, चस्मा र आवश्यक परामर्श ती शिविरमा दिइएको थियो भने शल्यक्रिया आवश्यक भएकालाई २० र २१ गते बोलाइएको हो ।

डा.रुइतको जन्मथलो ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला हो । ७ वर्षको उमेरमा बुबाले अध्ययनको निम्ति ओलाङचुङगोलाबाट तमोरको किनारै किनार लेलेप, तापेथोक, छिरुवा, तावा, सिवा बजार, मित्लुङ, हाङ्देवा, ताप्लुजुङ बजार, याङ्रुप, च्याङ्थापू फालेलुङको बाटो हुँदै १५ दिनको पैदल यात्रामा दार्जिलिङ् पुर्याएको उहाँ बताउनुहुन्छ । डा. सन्दुकका अनुसार त्यो बेलामा उक्त मार्ग हुँदै कलकत्ता र तिब्बतबीच व्यापार हुन्थ्यो । पछिल्लो समय तमोर करिडोर हुँदै पुनः भारत–नेपाल–चीनबीच उक्त नाकाबाट आवतजावत र व्यापार सञ्चालन गर्ने प्रयास थालिएको छ । आफ्नो जन्मथलोको बारेमा डा. रुइतको भनाइ छ, ‘मलाई जन्मभूमिको मायाले तानिरहन्छ । त्यसैले बेला बेलामा यो क्षेत्रमा काम लिएर आउने गरेको छु ।’

यसअघि उक्त गाउँमा डा. रुइतको नेतृत्वमा सन् २००९ मा पनि आँखा शिविर भएको थियो । त्यतिबेला पनि धेरै जनाको गुमेको ज्योति फर्काइएको उहाँ बताउनुहुन्छ । मेरो अभियानले सर्वसाधारणका गुमेका आँखाको ज्योति पुनः फर्केर आएको छ भने सँगसँगै आफ्नै गाउँका भीरपाखा हेर्ने सपना समेत पूरा हुने गरेको छ ।

टिप्पणीहरू