चिनियाँ मन्त्रीद्वारा अमेरिकासँगको सम्बन्ध चिसिने संकेत

चिनियाँ मन्त्रीद्वारा अमेरिकासँगको सम्बन्ध चिसिने संकेत

चीनका नयाँ विदेशमन्त्री छिन काङले आफ्नो मुलुकलाई एक्ल्याउने र दमन गर्ने नीति लिएकाले अमेरिका महान हुन नसक्ने धारणा व्यक्त गरेका छन् । विदेशमन्त्रीको रुपमा पहिलो पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकाले आफ्नो गलत नीतिमा परिवर्तन नल्याए दुबै मुलुक बाध्य भएर संघर्षमा उत्रनुको विकल्प नहुने बताएका छन् ।

विदेशमन्त्री छिनको उक्त धारणाले चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने संकेत देखिएको छ । उनले भने, ‘अमेरिकाको पछिल्लो कदमले चीनको पुनःजागरण अभियानलाई रोक्न सक्दैन ।’

विदेशमन्त्रीले हिजोको पत्रकार सम्मेलनमा रुसलाई आफ्नो मुलुकले हतियार र सैन्यसामग्री उपलब्ध गराएको भन्ने अमेरिकी आरोपको पनि खण्डन गरेका छन् । उनले भने, ‘युक्रेन युद्धमा अदृश्य हात छ ।’ 

डिसेम्बर ३० तारिखका दिन चीनको विदेशमन्त्रीमा नियुक्त भएका छिन त्यो दिनसम्म अमेरिकाका लागि चिनियाँ राजदूत थिए । विदेशमन्त्रीको जिम्मेवारी लिएपछि उनले पहिलो पटक पाँच वटा अफ्रिकी मुलुकको भ्रमण गरेका छन् । गत साता जी २० को विदेशमन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका थिए ।

टिप्पणीहरू