अध्यक्ष ओलीले त्यसो भनेपछि....

अध्यक्ष ओलीले त्यसो भनेपछि....

‘माओवादी जनयुद्धले गणतन्त्र ल्याएको होइन, संविधानसभाले ल्याएको हो । बहुदल आएकै थियो । ती १७ हजार मान्छे केका लागि मारिए ?’ भन्दै एमाले अध्यक्ष खड्गप्रसाद ओलीले ०२९ फागुन २१ गते सुखानीमा मारिएका झापाली शहीदहरूको सम्झनामा केन्द्रीय कार्यालय च्यासलको कार्यक्रमलाई यसरी संबोधन गर्नुभएको छ । उहाँले ०६५ सालमा सुवासचन्द्र नेम्वाङ सभामुख भएको बेला गणतन्त्र घोषणा भएको र १७ हजार मान्छे क्षणिक स्वार्थका लागि मारिएको दाबीसमेत गर्न भ्याउनुभयो ।

आयोजित सो कार्यक्रममा अध्यक्ष ओलीले एकल प्रवचन गर्नुभएको थियो । ५ शहीदको फोटोमा माल्यार्पण र एक मीनेट मौनधारण गरेपछि करिब सवा घण्टा धाराप्रवाह रूपमा ओलीले बोल्नासाथ कार्यक्रम समाप्त भएको जानकारी महासचिव शंकर पोखरेलले गराए । मञ्चमा विष्णु पौडेल, विशेश्वरा दाहाल, केशव बडाल, इश्वर पोखेरल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल र शंकर पोखरेल थिए भने भूइँमञ्चको पहिलो लहरमा राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ देखिए । सो अवसरमा एक दिनअघि नेकपा (एस) छोडेर एमाले प्रवेश गरेका हरिकुमार श्रेष्ठ अध्यक्ष ओलीको प्रवचन ध्यानपूर्वक सुनिरहेका थिए । उनी एसमा हुँदा पोलिटब्युरो र केन्द्रीय लेखा आयोगमा सदस्य थिए । श्रेष्ठ पर्वतका बासिन्दा र काठमाडौं महानगरपालिकामा कार्यरत छन् ।

अघिल्लो दिन श्रेष्ठलाई प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्दा छिमेकी मुलुक चीन रिसाउने भएकाले बन्द गर्नुपर्छ भन्ने धारणा राख्नुभएको थियो । यसकोे विरोध मुस्ताङकै एमाले नेता तथा गण्डकी प्रदेश कमिटी सदस्य इन्द्रधरा विष्टले फेसबुकबाट गरेका छन् । उनले पहिला–पहिला बौद्ध अध्ययन केन्द्रहरू नेपालमा थिए । तर, अहिले यसबारे अध्ययन गर्न भारत, चीन र श्रीलंकाजस्ता मुलुक जानुपर्ने अवस्था छ । त्यसैले हामीले मुस्ताङमा बौद्ध विश्वविद्यालय निर्माण गर्न भारतीय दूतावाससँग सहयोग मागेको हो । कोही रिसाउने र खुसाउने कुरा होइन भनेका छन् ।

हाम्रै माग भएकाले यो राम्रो कुरा हो भन्नसमेत विष्टले भ्याइन् । एकलौटी रूपमा एमालेले विजय हासिल गरेको मुस्ताङको बराहगुम गाउँपालिकाको पत्रको आधारमा भारतीय दूतावासले विश्वविद्यालय भवन निर्माणमा सहयोग गर्ने तत्परता देखाएको हो । सो गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्ग्येल गुरुङ र उपाध्यक्ष दिकी गुरुङ छन् । दुबैले कांग्रेस उम्मेदवारहरूलाई हराएका थिए । यी दुवैले पठाएको प्रस्ताव भारतीय दूतावास हुँदै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको टेबलमा पुगेको थियो । प्रस्तावमा ७० करोड ३३ लाख रूपैयाँको लागतमा कलेज निर्माण हुने भनिएको छ । 
 

टिप्पणीहरू