नेताको छोरा र तरुनी फसाउने छट्टु
शहरमा उमंग छ, अन्तर्राष्ट्रिय नारी दिवसको तर हामी युवतीमा उल्लास र उमंग छैन, एउटा बुंगाका कारण । उसले एउटी महिलामाथि अन्याय र अत्याचार मात्र गरेको छैन, जिन्दगी नै नर्कतुल्य बनाइदिएको छ । अहिले हामी सहपाठीलाई न्याय दिलाउन काठमाडौँ जिल्ला अदालतको ढोका ढक्ढक्याउन बाध्य छौं । अस्ति आइतबार मात्र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको एकल इजलासले क्रिकेटर शरद भेषावकरको सम्पत्ति फाँटबारी बुझाउन आदेश दिएको थियो । नायिका निशा अधिकारीले दायर गरेको रिटमा इजलासले यस्तो आदेश सुनाएकै दिन बबरमहल पुगेका हौं, साथी रोशनी आचार्य (नाम परिवर्तन) को रिट बोकेर ।
नुवाकोट स्थायी ठेगाना भएकी रोशनी यो तान्त्रिक शहरमा भित्रिइन्, उच्च शिक्षा अध्ययनका लागि । रोजाइको विषय थियो माइक्रोबायोलोजी । जीव विज्ञानको विद्यार्थी अहिले एउटा पुरुषबाट चुसिएर अन्यायमा परेँ भन्दै न्यायको खोजीमा भाैतारिरहेकी छन् । तान्त्रिक शहरमा थपिँदै छन् यान्त्रिक प्रेमीहरू । बुवा–आमा थानसिङमा खेतीपाती गरेर जीवन गुजार्दै छन् । मनभरी सपना, झोलाभरी भविष्य बोकेर भित्रिएकी थिइन् राजधानी तर अचेल गज्जबको छ, काठमाडौँका युवापुस्ताको माहोल । सम्बन्धको प्रारम्भ नै हुन्छ, नयाँ तरिका, नयाँ व्यवहार, नयाँ फेसन वा भनौं नयाँ स्टाइलबाट । भनिन्छ, कि धनीका छोराछोरी बिग्रन्छन्, कि गरिबका । मध्यम वर्गका छोराछोरीले हो प्रगति गर्ने ! तर मध्यम वर्गकी रोशनी हिजो हिँडेको बाटोप्रति पश्चाताप गर्दै अहिले अश्रुधारा बगाइरहेकी छन् । अहिलेको नयाँ पुस्ता लिभिङ टुगेदरको सम्बन्धलाई एड्भान्स र मोडर्न सोचाइको नाम दिन्छ ।
त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजी अध्ययन गर्दाका क्लास मेट । त्यहीं भेटिएका हुन् चितवनका उदीप र नुवाकोटकी रोशनी । तर, कतिपय सम्बन्ध उखुजस्तै मीठा हुन्छन् । भाँच्दा, काट्दा, निचोर्दा, धूलो पार्दा रस मात्र निस्कने । अनि त्यही सम्बन्ध बिग्रदै गएपछि हात्तीछाप चप्पलजस्तो हुन्छ, लुगाभरि हिलो छ्याप्ने । मान्छे अनुहार होइन, व्यवहारले चिनिने हो । हामीले पहिल्यैदेखि भोगेका, चिनेका मित्र थिए उदीप । संगी हुनुका नाताले भनेका थियौं, सचेत बन्नु है नियत ठीक छैन, यो केटाको । तर, प्रेम त के अन्धो हुन्थ्यो र ? अन्धो हुन्छन्, प्रेम गर्नेहरू । प्रेममा परेपछि मान्छेका खोटमा पनि गुणै गुण मात्र देख्छन् युवा–युवती । हामीले सम्झाउँदा रोशनी भन्थी, उहाँमा इमानदारी मात्र देखेँ । आजकलका केटा यस्ता इमानदार कहाँ हुन्छन् र ? नेताको छोरा हुन्, उदीप । नेताको छोरा र सामान्य किसानका छोरीको प्रेम सम्बन्ध दिगो हुँदैन भन्थ्यौँ हामी । सामाजिक सञ्जाल फेसबुकमा जोडिएका थियौं उदीपसँग । ऊ सधैँ उटपट्याङ कुरा गथ्र्याे कलेजमा, फेसबुकमार्फत च्याटमा पनि । इमो, भाइबर, म्यासेञ्जर जता पनि उसका उच्छृंखल संवाद पच्दैन थियो ।
कि धनीका छाेराछाेरी बिग्रन्छन, कि गरिबका । मध्यम वर्गका छाेराछाेरीले हाे प्रगति गर्ने ! भित्र श्रीमान्-श्रीमती, बाहिर दिदी-भाइ जस्ताे देखाइनुपर्ने बाध्यता ।
हामी पनि मध्यमवर्गीय परिवारबाट आएका । उस्तै–उस्तै पारिवारिक पृष्ठभूमि, गाउँबाट शहर छिरेका । आफ्नो मात्र सपना थिएन । हामीमाथि लगानी थियो, सपना थियो बुबा आमाको । यही बीचमा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको नाम बेचेर उदीपले जागिर लगाइदिने आश्वासन दिएको रहेछ । हड्डीको लोभमा कुकुर लोभिएझैं रोशनीले पत्याउँदै गई । उसले अनेकन आश्वासन मात्र दिएको थिएन । परेको समयमा पटक–पटक गरेर १८ हजार रुपैयाँ सापट दिइसकेको रहेछ । हामी भन्थ्यौं, उदीप फटाहा हो, भोलि फसाउला । रोशनी खाउँलाझैं गर्थी । हामीसँग उल्टै पड्कन्थी, ऊ जत्तिको सहयोगी त तिमीहरू छैनौ नि ! उसैको प्रस्तावअनुसार विवाह अगाडि नै लिभिङ टुगेदरको सम्बन्धमा बसेका थिए, रोशनी र उदीप ।
हतारमा विवाह गरेर फुर्सदमा पछुताउनुभन्दा एकले अर्कालाई बुझेर निर्णय लिनु अत्यन्तै राम्रो हो– यस्तै तर्क गर्थी ऊ । यसरी सँगै बस्दा एकअर्कालाई योग्य पार्टनरको रूपमा स्विकार्न नसके आइपर्ने समस्याबारे दुवै सचेत हुन्छौं । आफ्नो लाइफको सवाल छ, केही रिस्क त मोल्नै पर्छ नि ! प्रारम्भका दिनमा यस्तै उत्तर दिन्थी । उसको व्यक्तिगत जीवन, उसकै मर्जी– हामीले धेरै बोलेनौं । तर भन्छन् नि ! जीवनमा लाटोले एक बल्ड्याङ खान्छ, अनि बाठोचाहिँ तीन बल्ड्याङ । उस्तै भयो रोशनीको जिन्दगी । एउटै थालमा भात खाएको साथी, माया त लागिहाल्छ । आफूसँग नरिसाउने र सम्बन्ध नतोड्ने बाचा गराएर उदीपले रोशनीलाई राखेको रहेछ प्रस्ताव –‘ लेट्स ह्याभ एक्स्पिरियन्स, लिभिङ टुगेदर डियर, मी अल्सो अलोन, तिमीलाई आर्थिक भार कम हुन्छ, मलाई नि साथी हुन्छ ।’
अति सरल र सहज रूपमा आएको प्रस्तावबाट झस्किएकी थिइन् रे रोशनी । उनले नकार्दै भनिन्, केटा र केटी एउटै रुम सेयर गरेर बस्नु त्यति सहज हुन्न । प्रस्ताव अस्वीकार भएपछि उदीप रिसाउँदै बिदा भएको सुनाउँदा असल साथीको हैसियतले हकारेका थियौं । तर, विनाशकाले विपरीत बुद्धि भनेजस्तो । यस्तो बेलामा अर्ति दिने नै शत्रु बन्दोरहेछ । अन्ततः दुवैले ‘बेड भिन्नाभिन्नै हुनुपर्ने, एकअर्कोको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न नपाइने, सहमतिबिना कुनै अनैतिक रिलेशन नहुने शर्तबमोजिम लिभिङ टुगेदर’को जीवनयात्रा शुरु गरे ।
परिवारको नजरमा प्रेमी–प्रेमिकाकोजस्तो सम्बन्ध भएको स्विकारे पनि सँगै बसेको भन्ने जानकारी थिएन । कसैले सल्लाह दियो भने रोशनी उल्टै झर्कन्थी, ‘सँगै बस्दा हामीलाई आपत्ति छैन भने अरुलाई बाल मतलब ?’ क्षेत्रपाटीमा कोठा लिएका थिए । भित्र श्रीमान्–श्रीमती, बाहिर दिदी–भाइ जस्तो देखाइनुपर्ने बाध्यता । सँगै बसेपछि एक–अर्काको व्यक्तिगत चासो हुनु स्वाभाविक हो । एकले अर्काको विषयमा इन्टर्नल र बाह्य प्रायः सबै बुझ्ने अवसर पाए । यी दुईबीचको दूरी नजिकिँदै गएपछि रोशनीको प्रस्ताव फितलो बन्दै गयो । आगो र घ्यू एकै ठाउँमा रहँदा के हाल हुन्छ ? ताप र रापका अगाडि नपग्ली धरै पाउँदैन । संघीय निर्वाचनको मुखमा गत कात्तिक अन्तिमतिर रोशनीको रजश्वला रोकियो । त्यही समयमा मामालाई जिताउन भन्दै उदीप चितवन झरेको थियो । यो बीचमा उसले पटक–पटक गर्भपतनका लागि आग्रह ग¥यो । जसरी हुन्छ छिट्टै विवाह गर्ने प्रतिबद्धता पनि जनाएको हो ।
यता पेटमा उदीपको पाप हुर्कंदै थियो, यता मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन, भाइबर, फेसबुक, म्यासेन्जर, ह्वाट्स एप सबैतिर ब्लक गरिदिएको थियो रोशनी मात्र होइन, उनका हितैषी संगीहरूलाई पनि । घरमा सल्लाह गरेर आउँछु, अनि बिहे गरौंला भनेर तल झरेको उदीप बेपत्ता मात्र छैन, बाबुआमाकै सल्लाहमा चितवनकै केटीसँग विवाह बन्धनमा बाँधिएको छ गत श्रीपञ्चमीकै दिन । माया, प्रेम एउटासँग र विवाह अर्काेसँग गरेर रोशनीमाथि गद्दारी मात्रै गरेन एउटी नारी अस्मितामाथि समेत ठूलो खेलवाड गरेको छ उदीपले । यस्तै बेलामा हो, मान्छेलाई साथीको जरुरत पर्ने । हामीले धेरै सम्झायौं तैपनि आत्महत्याको असफल प्रयास गरिन् । बचायौं । अहिले काठमाडौँकै एक प्राइभेट अस्पतालमा उपचार मात्र भइरहेको छैन । मनोविज्ञ डा गंगा पाठकको नयाँबानेश्वरस्थित क्लिनिकमा मनोपरामर्श पनि लिइरहेकी छन् । ३ वर्षदेखि लिभिङ टुगेदरको सम्बन्धमा रहँदै आएको भए पनि अहिले आफूलाई धोखाधडी गरेर अर्को विवाह गरेपछि उदीपविरुद्ध रोशनीले मुद्दा दायर गरेकी छन्, उनको दाबी छ, आफू नै पहिलो श्रीमती भएको । तर, थाहा छैन पक्षमा फैसला हुन्छ वा हुँदैन । रोशनीले न्याय पाउँछिन् वा पाउँदिनन् । एउटा सानो भूलले मान्छेको अमूल्य जिन्दगी कसरी नर्क बन्छ ! यो एउटा देखिएको उदाहरण मात्र हो, आफ्नै सहपाठीको, आफ्नै संगीको ।
टिप्पणीहरू