बैतडीका औषधि बिक्रेताले बिरामी जाँच्न थाले

बैतडीका औषधि बिक्रेताले बिरामी जाँच्न थाले

जिल्ला प्रशासन कार्यालय, बैतडीले औषधि पसलहरुको नियमित अनुगमन गर्न निर्देशन दिएको छ । अधिकांश फार्मेसीले नियमविपरीत औषधि बिक्रीवितरण गरेको पाइएपछि प्रशासनले बैतडीका सबै स्थानीय तहलाई नियमित अनुगमनको निम्ति निर्देशन दिएको हो । 

औषधि तथा फार्मेसी सञ्चालकहरुले सम्बन्धित अनुमतिप्राप्त निकायबाट इजाजत प्राप्त नगरी पसल सञ्चालन गर्न नहुने, आफ्नो व्यवसाय सरकारी निकायमा दर्ता गर्नुपर्ने, इजाजतपत्र प्राप्त व्यक्तिले मात्र औषधिजन्य वस्तुहरुको कारोबार र बिक्री वितरण गर्न मिल्ने, अनिवार्य बिलबिजक राख्नुपर्ने, नियमित रुपमा कर भुक्तानी गर्नुपर्नेलगायत प्रावधान छ । 

तर, प्रशासनको नेतृत्वमा स्वास्थ्य कार्यालय, बैतडी, सुरक्षा निकायलगायतको सहभागितामा गरिएको अनुगमनमा औषधि पसलहरु नियमविपरीत सञ्चालन भइरहेको पाइएको हो । 

फार्मेसीहरुले नियमको उल्लंघन गरेर जथाभावी औषधि बेच्ने गरेको अनुगमनको क्रममा भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । फार्मेसी सञ्चालकहरुले कानुनविपरीत आफैंले चिकित्सकको काम गरी आमनागरिकको जनस्वास्थ्यमा गम्भीर रुपमा खेलबाड गरिरहेको पाइएकाले त्यस्ता सञ्चालकलाई औषधि ऐन, २०३६ बमोजिम पहिलो पटकको निम्ति सचेतनासहित सामान्य जरिवाना गरिएको उनले जानकारी दिए । 

आफ्नो कार्यक्षेत्रभित्रका औषधि पसलमा बेलाबखत अनुगमन गरिरहन पालिकाहरुलाई पत्राचार गरिएको छ । फार्मेसीहरुलाई रितपूर्वक सञ्चालन गर्न र कानुनविपरीत कारोबार गरिरहेकालाई कारबाही गर्न प्रशासनले निर्देशन दिएको हो ।
 

टिप्पणीहरू