रविको उम्मेदवारी खुस्काउन निर्वाचन आयोगमा धमाधम उजुरी

रविको उम्मेदवारी खुस्काउन निर्वाचन आयोगमा धमाधम उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपचुनावमा उठेका रवि लामिछानेको उम्मेदवारी खारेजीको  मागसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पुगेको छ । उम्मेदवारीउपर दावीविरोधको दिन आज उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमै लगेर र इमेलमार्फत उजुरी परेको हो । 

लामिछानेविरुद्ध अदालत,अख्तियार, प्रहरी र निर्वाचन आयोगमा शृंखलावद्ध उजुरी हाल्दै आएका सिन्धुलीका युवराज सफलले कार्यालयमै पुगेर उजुरी दर्ता गराएका छन् । संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिले कम्तिमा तीन महिनासम्म निर्वाचित हुन नपाउने व्यवस्था गरेकाले लामिछानेको उम्मेदवारी खारेजीयोग्य रहेको उजुरीमा जिकिर गरिएको छ । 

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको गत माघ १३ गतेको फैसलाले सांसद र मन्त्री पद गुमाएका लामिछानेले त्यसको दुई दिनपछि माघ १५ गते काठमाडौँ प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएका थिए । उक्त समयबाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिनसम्म पनि तीन महिना पूरा नहुने भएकाले लामिछानेको उम्मेदवारी अयोग्य घोषित गर्न माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘निज रवि लामिछाने यसअघि पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार भई निर्वाचित हुनु भएकोमा निज नेपालको नागरिक नभएको सम्बन्धमा सर्वोच्च अदालतमा रिट निवेदन परी मिति २०७९/१०/१३ गते निर्णय हुँदा अमेरिकी नागरिकता त्याग गरेको निस्सासहित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएमा नेपालको नागरिकता पुनः प्राप्त हुन सक्ने निर्णय भएपश्चात् निजले २०७९/१०१५ गते प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएर नेपाली नागरिकता पुनः प्राप्त गरेको हुँदा उक्त मितिबाट मात्रै नेपाल सरकारलाई निज रवि लामिछानेले अमेरिकाको नागरिकता एवं स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको कुरा औपचारिक रुपमा जानकारी भएको हुँदा सो समयबाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिनसम्म पनि तीन महिना व्यतित नभएको हुँदा उक्त धारा २९१ अनुसार निज रवि लामिछानेलाई उम्मेदवार हुन अयोग्य घोषित गरिपाऊँ ।’

त्यस्तै, राहदानी दुरुपयोगको कसूरमा अदालतमा रिट परेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भन्दै लामिछानेको उम्मेदवारी खारेजको मागसहित निर्वाचन अधिकृतको कार्यालयमा अर्को पनि उजुरी परेको बताइएको छ ।

टिप्पणीहरू