आएकै हुन् त पारिबाट ‘आतंकवादी ?’

आएकै हुन् त पारिबाट ‘आतंकवादी ?’

प्रयोजन खुलेको छैन, तर विभिन्न नाकाबाट भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा छिरेका छि¥यै छन् । भारतले खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेको भन्दै उनलाई नियन्त्रणमा लिन आग्रह गरिरहेको छ । नेपाल प्रहरीलाई यसबारे कसैले औपचारिक पत्र लेखेको छैन ।

तर, प्रहरीले नाका–नाकामा उच्च सतर्कताका साथ निगरानी गरिरहेकै बेला भारतीय सुरक्षाकर्मी नेपाल भित्रिरहेका छन् । चैत १० गते नेपालगञ्जको जमुनाहा नाका हुँदै अम्मल चौधरी र नितेशकुमार नामक दुई भारतीय सुरक्षा अधिकारी बाँकेको कोहलपुर बजारमा देखिए । उनीहरू उत्तराखण्ड हेर्ने गुप्तचर अफिसर हुन् । कोहलपुरस्थित बबलाइट होटलमा एक रात बसे, भोलिपल्ट अर्थात् ११ गते बुद्ध एयरको उडानबाट काठमाडौंमा ओर्लिए । १४ गते विराटनगर गए । १९ गते स्थलमार्ग हुँदै वीरगञ्ज पुगे । 

काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले प्राप्त गरेको एक रिपोर्टअनुसार, इण्डियन इन्टेलिजेन्स ब्युरोको अर्को टिम वीरगञ्ज भएर नेपाल प्रवेश गरेको छ । त्यो टोली चैत १३ गते काठमाडौं आएको रिपोर्टमा उल्लेख छ । 

यसरी भारतद्वारा जोडतोडसाथ खोजी गरिएका र अग्लो कदका २९ वर्षीय अमृतपाल सिख स्वायत्त राज्य (खालिस्तान) को मागकर्ता ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले पृथकतावादी अभियान चर्काउन खोजेको आशंकामा भारत सरकारले उच्च निगरानीमा राख्दै आएको छ । पञ्जाब प्रहरीले उनको खोजीका क्रममा जालन्धरको शाहकोट क्षेत्रमा छापा मारेको थियो । तर, उनी पक्राउ परेनन् । 

भारतले भेट्टाउन नसकेपछि उनका समर्थकलाई नियन्त्रणमा लिने, उनीहरूको आवतजावतसम्बन्धी सूचना राख्ने कामलाई तीव्र पारेको छ । पृथकतावादीपक्षधर भएकै आशंकामा उनका समर्थकहरूको ट्विटर अकाउण्ट ब्लक भएका छन् । त्यसमध्ये क्यानाडाको न्यु डेमोक्रेटिक पार्टीका सांसद रहेका सिख समुदायका नेता जगमीत सिंहसहित कवयित्री रूपी कौर, स्वेच्छिक संस्था युनाइटेड सिखका कार्यकर्ता गुरदीप सिंह सहोताहरू छन् । नेपाल प्रहरीको विशेष ब्यूरोका एक अफिसर भन्छन्– अमृतपाल नेपाल प्रवेश गरिहालेका त छैनन् तर भारतले पसिसकेको हल्ला चलाएर पस्न नदिने मनोवैज्ञानिक युद्ध लडिरहेको चाहिँ पक्कै हो । 

टिप्पणीहरू