चुनाव भन्दैमा यस्तो गर्न हुन्थ्यो ?
तनहुँ–१ ले देशको सर्वोच्च पद राष्ट्रपति दियो । बारा–२ ले उपराष्ट्रपति दियो । चितवन–२ ले जनप्रतिनिधि हुन नेपाली नागरिकता चाहिन्छ भनेर थाहै नहुने हुस्सु नेता दियो । वैशाख १० गते प्रतिनिधि सभाका ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनुको कारण यही हो । सोमबार तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । चितवन २ मा फेरि पनि उपनिर्वाचन हुने खतरा बाँकी नै छ ।
सोमबार बिहान पौने ११ बजे उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैंले त्यस्तो संकेत गरेका छन् । उम्मेदवारी दर्तापछि उनले यो वा त्यो नाममा दुःख दिनेहरूलाई आफू घाँडो भएको हो भने मारिदिए हुन्छ भनेर चेतावनी दिएका छन् । नागरिकता पुन प्राप्तीको प्रक्रिया पूरा नभएकाले सांसदसहित उपप्रधान एवं गृहमन्त्रीसमेत त्याग्नुपरेका लामिछानेविरुद्ध राहदानी दुरूपयोगमा मुद्दा परेको छ । चितवन–२ मा प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछाडि पारेर बाजी मारेका लामिछाने यसपटक पनि निर्वाचित हुने आकलन गरिएको छ । चितवन–२ मा रिपोर्टिङ गरिरहेका पत्रकार त्यहाँ दोस्रो को हुने भनेर मात्रै प्रतिस्पर्धा हुने विश्लेषण गरिरहेका छन् । वास्तविकता के हो अबको १८ दिनमा निश्चित हुनेछ ।
यो तीन क्षेत्रमा हुने निर्वाचनको जित हारले दलको आकारमा केही फरक पार्नेवाला थिएन । सबै क्षेत्रमा एकै दलका उम्मेदवार विजयी भए पनि अहिले संसदमा दलको आकार जत्रो छ त्यत्रै हुने हो ।
चितवन–२ मा लामिछानेसहित एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई प्रतिस्पर्धी बनाएको छ । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । चितवन–२ मा राप्रपाले जीवलाल पुरीलाई उठाएको छ । यसअघिको निर्वाचनमा चितवन २ को स्थिति के थियो ।
एक पटक हेरौं ।
मंसिर ४ को निर्वाचन प्रत्यक्ष
उमेश श्रेष्ठ, नेपाली कांग्रेस– १५ हजार ९९ मत
कृष्णभक्त पोखरेल, नेकपा एमाले– १४ हजार ६४९ मत
मंसिर ४ को निर्वाचन समानुपातिक
राष्ट्रिय स्वतन्त्र पार्टी– ३५, ९४५
एमाले– १६,७८४
कांग्रेस–१२, १३२
माओवादी केन्द्र– ८, ४०७
वैशाख ३० को स्थानीय निर्वाचन परिणाम
एमाले– ३५, ५४३
कांग्रेस– २४, ५३१
माओवादी केन्द्र– ७, ३७४
एकीकृत समाजवादी– ३, ५६९
राप्रपा– २, ११३
तनहुँ–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार भएका छन् रास्वपाले गत बिहीबार मात्रै नेपाली कांग्रेस छाडेका अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । एमालेबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्दै छन् । खनाल मंसिरको चुनावमा काठमाडौं–६ बाट पराजित भएका थिए । मंसिरमा तनहुँ–१ बाट स्वतन्त्र प्रतिस्पर्धा गरेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले उपनिर्वाचन नलड्ने घोषणा गरे । जोशी समूहको मत त्यहाँ निर्णायक मानिन्छ । तनहुँ–१ मा राप्रपाले शोभा गुरुङलाई उठाएको छ ।
मंसिर ४ को निर्वाचन प्रत्यक्षतर्फ–
रामचन्द्र पौडेल, नेपाली कांग्रेस (गठबन्धन)– २५ हजार ३१३
एकबहादुर राना, नेकपा एमाले– १९ हजार ९२५ मत
गोविन्दराज जोशी, स्वतन्त्र– ६ हजार ८७७
विकास सिग्देल, रास्वपा– ६ हजार ३२
मंसिर ४ को निर्वाचन समानुपातिक
कांग्रेस– २०,१५८
एमाले– १६,६८३
राष्ट्रिय स्वतन्त्र पार्टी– १२,७७३
माओवादी केन्द्र– ७,३२६
बैशाख ३० को स्थानीय तह निर्वाचन
कांग्रेस– ३३,१०६
एमाले– २२,२१०
माओवादी केन्द्र– ८,४७४
राप्रपा– १,७७५
एकीकृत समाजवादी– ८९२
बारा–२ मा सत्ता गठबन्धनभित्रका दल विभाजित छन् । त्यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जसपाका उम्मेदवारलाई सघाउँदै छन् । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाएको छ । मंसिरको चुनावमा सप्तरी–२ बाट पराजित यादवलाई जसपाले संसद प्रवेश गराउने अभिलाषासहित उपनिर्वाचनका लागि बारा भित्र्याएको हो । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार घोषणा गरिसकेको छ । मंसिरको चुनावमा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दा कुशवाह निकटतम् प्रतिद्वन्द्वी थिए । रास्वपाले पूर्व डिआइजी एवं सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाएको छ । खरेल मंसिरको चुनावमा काठमाडौं–१ का प्रत्यासी थिए । एमालेले बारा–२ को टिकट पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई दिएको छ । बारा–२ मा राप्रपाले सोनेलाल साहलाई प्रतिस्पर्धी बनाएको छ ।
मंसिर ४ को निर्वाचन प्रत्यक्ष
रामसहायप्रसाद यादव, जसपा (एमालेसँग गठबन्धन)– १३,८२२
शिवचन्द्रप्रसाद कुशवाहा, माओवादी (गठबन्धन)– १३,४६८
रामकिशोरप्रसाद यादव, स्वतन्त्र– ११,०४३
मंसिर ४ को निर्वाचन समानुपातिक
जसपा– १३,२४२
कांग्रेस–११,१७९
एमाले– ९,१९३
जनमत पार्टी– ८,८४६
माओवादी केन्द्र– ३,२६५
राष्ट्रिय स्वतन्त्र पार्टी– १,४५५
वैशाख ३० को स्थानीय तह निर्वाचन
कांग्रेस– २१,६५२
जसपा– २०,८२४
एमाले १७,९२९
लोसपा– ६,७१६
माओवादी केन्द्र– ४,६४०
एकीकृत समाजवादी– ४,१०५
नेपाली राजनीतिले इमान भुल्दै गएको छ । जनतालाई सेवा दिनेभन्दा पनि पदमा पुग्नेमात्रै ध्यान देखिएको छ । नेतामा अलिकत्ति मात्रै नैतिकता बाँकी थियो भने मंसिरमा चुनाव हारेकाहरूले अहिले फेरि यही प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार हुने थिएनन् । उनीहरूले बुझ्नु पथ्र्यो, जनताले मलाई यो पाँच वर्षको लागि अनुमोदन गरेनन् । अब पाँच वर्ष कुर्छु अनि मतादेशबाट संसदमा पुग्छु भन्नुपथ्र्यो । यो पटक पनि टिकटका लागि पार्टी फेर्नेहरू देखिए । दलहरूले आफूलाई परीक्षण गर्ने मौका गुमाए । यो तीन क्षेत्रमा हुने निर्वाचनको जित हारले दलको आकारमा केही फरक पार्नेवाला थिएन । सबै क्षेत्रमा एकै दलका उम्मेदवार विजयी भए पनि अहिले संसदमा दलको आकार जत्रो छ त्यत्रै हुने हो । दलमा आस्था राख्ने मतदाताले पनि अहिले आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्न नपाउने भए । अर्थात् दलहरू एक्लाएक्लै चुनावमा जान डराए । गठबन्धन गरेर चुनावमा गए । अर्थात् दल र नेताको सोच भनेकै जसरी पनि चुनाव जित्ने तर अरुसँग कुनै मतलब नहुने भैदियो ।
टिप्पणीहरू