छोरी हुनु त यस्ती, स्याबास सुशीला
सन्तान जन्मिँदा छरछिमेक मात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुशियालीको माहोल छाउँथ्यो । तर, सुशीला ढकालको जन्म यस्तो अपवाद रह्यो कि घरमा चिन्ताको माहोल थपियो । कारण हो– जन्मँदै उनका दुवै हात नहुनु । चार दशकअघि स्याङ्जाको मध्यमवर्गीय परिवारमा, तेश्रो सन्तानको रूपमा जन्मिएकी थिइन् । जन्मँदै दुवै हात नभएकी उनी बाँच्लिन् भन्ने आश परिवार/आफन्त/छरछिमेकीले गरेनन् तर यी सब सोचको विपरीत सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो । भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । जन्मजात (दुबै हात नभएका कारण गाउँलेले धेरै कुरा काटे । गाउँघरमा सुनेकी थिइन्, ‘विष नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन ।’ जिन्दगीमा सबै चिज खानु तर हरेश नखानु, सायद यही शब्दले उनलाई बचाइराख्यो । र, इच्छा, आकांक्षा र चाहनालाई मर्न दिइनन् ।
६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए । खुट्टाको दुई औंला प्रयोग गरेर लेख्न शुरु गरिन् तर त्यो त्यति सहज थिएन । बेञ्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, जसकारण अलिक सहज हुन थाल्यो । खुट्टाकै औंलाले अरुले जस्तै लेख्न थालिन् । मिहिनेत गरिन् र अरुलाई भेट्टाएरै छाडिन् । कालिका स्कुलबाट प्रावि तह पूरा गरिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । उच्च माध्यमिकमा पढ्दा इन्द्रेणी सपना देखेकी थिइनन् । समाजमा सबै एकैनासका कहाँ हुन्छन् र कोही दयाका भावले हेर्दथें कोही मायालु आँखाले । आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिनजत्तिकै रहेछ । कोही भन्थे, ‘बिचरीलाई पूर्वजन्मको श्राप लागेछ ।’ मुटु चिमोट्ने यस्ता बज्र धेरै पटक कानमा बर्सिए । यद्यपि, आफूलाई सम्हाल्दै अगाडि बढिन् । यस्ता तिखा शव्दले अझै ऊर्जा दिन्थ्यो केही गर्नुपर्छ र केही बन्नुपर्छ । हिजोका त्यही काँडाझैं घोच्ने तिखा वचनले नै हो परिचय फेरिएको, राष्ट्रसेवक कर्मचारीका रूपमा । तर, सुशीलाले यो स्थानसम्म पुग्नका लागि गरेको संघर्ष र जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ ।
दुबै हात नचले पनि रोकिएन अध्ययनको गति । गाउँबाटै एसएलसी उत्तीर्ण गरिन् । ०५५ सालमा सदरमुकाम झरेर त्रिभुवन आदर्श क्याम्पसमा पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिइन् । सोधीखोजी भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टलका तत्कालीन वार्डेन विष्णु थापाबाट । थापाले होस्टलमा राखेर पढाउने र सबै खर्च आफैंले व्यहोर्ने वचनबद्धता दिइन् । यसपछि पसिन् काठमाडौं र डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा आईए दोस्रो वर्षमा भर्ना भइन् । ०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यतिबेलै कम्प्युटर सिक्न थालिन् । बिए पढ्दै गर्दा नेपाल अपांग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घण्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् । दुबै हात नभएको मान्छेले निजी जागिर पाउने सम्भावना थिएन । लहडै लहडमा भिडिन् लोकसेवा आयोग नायब सुब्बा तहमा ।
भारतीय पूर्व राष्ट्रपति अब्दुल कलामको एउटा भनाइ छ, स–साना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ, जतिबेला लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुन थाल्छ । यही कारण हो उनले कठिन बाटो रोजिन् । ०६५ सालमा अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य ५ जना प्रतिस्पर्धी थिए । सबैलाई पछि पार्दै नाम निस्कियो । ०६६ वैशाख ९ मा नियुक्ति लिइन् । पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न सम्भव नभएकाले आठ महिना ललितपुरमा काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । उनी कर संकलन शाखामा छन् ।
सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ । इन्टरनेटबाट डेटा अपडेट गर्छिन् । केही समय ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत रहिन् र दुई वर्षदेखि आन्तरिक राजश्व महाराजगञ्जमा छिन् । भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौँ, चिच्याउँछौँ, ‘डिप्रेस’ हुन्छौं तर आफ्नै अगाडि रहेका अरु ढोका देख्दैनौं र त चुक्छौं जीवनमा । निजामती सेवामै पाइला राखेको एक दशकभन्दा बढी समय भइसकेको छ । कहिलेकाहीँ सेवाग्राही आउँछन् र यो कर्मचारीले के काम गर्ला र भनी नाक खुम्च्याएर अन्यत्रै कोठा चहार्छन् । त्यहाँबाट काम नबनेपछि अन्त्यमा उनकै ठाउँमा ठोक्किन आइपुग्छन् । उनका कामगराइ, साहस र ऊर्जा देखेपछि भन्छन्– ‘हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र, तपाईंले त हुनेलाई नै प्रेरणा दिनुभएको छ ।’
अस्ति आइतबार मात्र ७४ जना नासु तहका कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस हुँदा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा राजश्व समूहतर्फ चौथो नम्बरमा सुशीलाको नाम परेको छ । अबको ३५ दिनपछि अधिकृतको रूपमा पदस्थापन हुनेछ । उनको सफलताको कथा पढेर आठ वर्षअघि दल थापा उनलाई खोज्दै कार्यालयमै पुगे । एउटै जिल्लावासी । पेशाले होस्टल व्यवसायी । शेयर बजारका कारोवारी । त्यहीँ चिनजान भयो । सम्पर्क बाक्लिन थाल्यो । सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर थाक्दैनथे । त्यहीबीचमा प्रेमको टुसा अंकुराउन थाल्यो । मनको नेटवर्क मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो । ०७० सालमा बाँधिए विवाह बन्धनमा । यिनै सुशीला एक लाख कर्मचारीको भीडबाट उत्कृष्ट ४० निजामती कर्मचारी बन्न सफल भइन् ।
पछिल्लो जनगणनाअनुसार २ प्रतिशत अपांगता भएका व्यक्ति छन् । अपांगलाई कोटा छुट्याइन थालेसँगै अहिले राजनीति, प्रशासनमा उनीहरूले विस्तारै प्रवेश पाउन थालेका छन् । तर, संघीय संसद्का दुवै सदन र सात प्रदेशसभाका ५५० गरी कूल ८८४ जनामध्ये अपांगता भएका व्यक्तिको संख्या भने जम्मा तीन जना मात्रै छ । नेकपा एमालेमा समानुपातिक निर्वाचन प्रणालीबाट कालुराम राई छन् भने राष्ट्रिय सभामा प्रकाश पन्त र प्रदेशसभामा लक्ष्मी घिमिरे । यस्तै निजामतीमा सुशीलाझैं अनुकरणीय पात्र अरु पनि धेरै भेटिन्छन्, जस्तो सावित्रा काफ्ले र नवीन मैनाली दुबै अफिसर हुन् तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्रीले उच्च अदालत पाटनमा र नवीनले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरमा आन्तरिक प्रशासन शाखा हेर्दै आएका छन् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपांगताको सम्भवतः यो पहिलो जोडी हुनुपर्छ ।
टिप्पणीहरू