बलात्कारको मुद्दा नटुंगिदै पुरस्कार

बलात्कारको मुद्दा नटुंगिदै पुरस्कार

इमान्दार रेटिने र बेइमानीहरू पुजिने मुलुकको प्रज्ञा प्रतिष्ठानमा गत साता मन्त्रीलाई गुमराहमा राखेर दुई बलात्कार आरोपीलाई पुरस्कार दिइएको बुझिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई गुमराहमा राखेर उनकै हातबाट दुई बलात्कार आरोपीलाई प्रज्ञा सेवा पदक र पुरस्कार प्रदान गरिएको हो ।  चैत १२ गते आयोजित एक कार्यक्रममा बलात्कारजस्तो जघन्य अपराधको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेका दुई कर्मचारीलाई पुरस्कृत गरिएको हो । 

किराँतीले चालक विशाल लामा र खरिदार कृष्णप्रसाद दाहाललाई उक्त पदक तथा पुरस्कार दिएको बताइन्छ । प्रज्ञा सेवा पदक तथा पुरस्कार पाएका लामा र दाहाल बलात्कार आरोपमा डेढ वर्षअघि एक महिना हिरासत बसी अदालतको आदेशमा धरौटीमा छुटेका थिए । जोरपाटीका दुई महिलाले काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध दायर गरेको मुद्दा विचाराधीन छ ।

अघिल्लो प्राज्ञ परिषद्ले निजहरू विरुद्धको मुद्दा विचाराधीन रहेकै कारण असार ९ गतेका दिन पदक तथा पुरस्कार प्रदान गरेको थिएन । नयाँ प्राज्ञ परिषद् आएपछि मन्त्रीलाई स्वागत गर्ने निहुँमा बल्ल पुरस्कृत गरिएको हो । मुद्दा नटुंगिँदै मन्त्रीको हातबाट पुरस्कार दिनु राम्रो नहुने कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई सदस्यहरूले सल्लाह दिए पनि उनले सुनेनन् । उल्टै कुलपति राईले ‘मन्त्रीजीले त्यस्ता कुराको वास्ता गर्दैनन्’ भनेको एक जना प्राज्ञले जनआस्थालाई बताए ।  

यसअघि पनि पटक–पटक प्रज्ञा–प्रतिष्ठानमा आइसकेका मन्त्री किराँतीलाई स्वागत गर्ने निहुँमा जगेडामा परेकी सन्ध्या पहाडीलाई उकास्ने ट्रेड युनियन र प्राज्ञ परिषद्को भित्री योजना रहेको स्रोतले जनाएको छ । 

टिप्पणीहरू