आमाको सम्झनामा मातातीर्थमा दर्शनार्थीको घुइँचो

आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । आजको दिनलाई आमाको मुख हेर्ने पर्वका रुपमा मनाइने गरिन्छ । 

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आशीर्वाद थाप्ने यस पर्वको मुख्य विशेषता हो । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा-राम्रा कपडा लगाइदिने र मीठा–तागतिला खानेकुरा खान दिने चलन छ । त्यस्तै, आफ्नी आमालाई मनपर्ने वस्तु उपहार पनि दिने गरिन्छ । 

आम नहुनेहरुले दिवंगत आमाको सम्झनामा तर्पण दिएर श्रद्धाभाव प्रकट गर्ने गर्छन् । सोहीक्रममा आज काठमाडौंको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ। मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।।

आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत रहेको छ ।


 

टिप्पणीहरू