हिमालको गोठालो : म गुलाम रस्सुल गलवान

हिमालको गोठालो : म गुलाम रस्सुल गलवान

म गुलाम रस्सुल गलवान हुँ है । यसरी सय सालभन्दा पनि पछि नेपाली अक्षरहरूमा उनिन्छु भनेर सोचेको थिइन । सलाम आलेकुम, नमस्कार अनि जयनेपाल पनि । काश्मिर, लेह, लद्दाख, गिलगिट बाल्टिस्तान, यारकान्द, कासगार, चिनियाँँ मरुभूमि र पश्चिम तिब्बतका पठारहरूमा कुनै बाटो खाली नहोला कि मेरा पैतालाले नछोएको । ब्रिटिशले छाडेर गए पश्चात् भारतको छिमेकी चीन बन्न गएपछि सीमाको वारिपारी, दुवै सेना संगिन जडेर बस्न लागे, बेला बेलामा मारामार गर्न थाले, अनि मलाई दुख लागेर आउँछ र मेरो नाम जोडिन्छ त्यहाँ । हो म त्यही गलवान हुँ र अनगिन्ती पाइतालाहरूको डोब छाडेको मैले, मेरा पसिना अनि हण्डरको सम्मानस्वरूप ब्रिटिशले ठाउँ नै गलवान बनाइदिए । म, कता हो कताको शून्य दुनियाँमा शान्त छु तर मेरै नामको गलवान भन्ने ठाम भने अन्तहीन अशान्तिको भूमरीमा रुमल्लिइरहेको छ अझै । 

कुनै बेला तिब्बत नजिक थियो । बिहेबारी, ब्यापार सबै उतै चल्थ्यो तर १९५१ पश्चात् अहिलेसम्म मन लागे खोल्ने ब्यापारिक हाटबजारमा सीमित हुन पुगेको छ तिब्बती मार्ग । अब निर्वाध रूपमा प्राकृतिक भूगोललाई समान ठानेर भेंडा चर्दैनन्, चौरी या च्याङग्राहरू पनि भिसा नलागी यता उता गर्न पाउँदैनन् । हिमाली मरुभूमिको रूपमा रहेको लेहस्थित गरिब परिवारमा जन्मिएँ म । कारा गलवान भन्ने हाम्रा बाजेलाई काश्मिरको राजाले सुली चढाएपछि पुर्खा भागेर कठिन भूगोलको बाटो लेहतिर भासिएको हो भनेर आमाले सुनाउँथिन् । आमाको पहिलाको बिहे भएपश्चात् ती बाबु यारकान्द गएर नफर्केपछि अर्को बिहे गरेर म जन्मिएँ । विस्तारै हुर्कँदै गएपछि आमाको काममा सहयोग गर्न थालें, पानी ल्याउने, इन्धनको लागि गोबर खोजेर ल्याउने, खेतीपाती आदि । पढ्नको लागि लेहमा स्कूल थिएनन्, धनीहरूले शिक्षक राखेर पढाउँथे, मैले पनि आमालाई अनुरोध त गरें तर यो हाम्रो औकातको कुरा हैन, सबै धनीहरूले गर्ने हो भनेर सम्झाइन् । सानैमा कुतेदारकोमा नोकरी गर्न थालें । 

अलि हुर्केपछि, पहिलोपटक काश्मिर जाने काम पाएँ भरिया बनेर साहेब डाक्टर ट्रेलसँग । सानैको बच्चो म, आमाले तीन रूपैयाँ दिइन्, रोटी बनाएर झोलामा राखिदिइन् । काश्मिरमा फकिरलाई चढाउनु भनेर ल्हासाको चियाको बण्डल पनि थमाइन् । लेहदेखि काश्मिरको यात्रा गरेर करीव दुई महिनामा फर्किएँ म । सबै जोड्दा चालिस रूपैयाँ कमाएँ, आमालाई दिएँ । औधी खुशी भइन् मेरो कमाइ देखेर । अब म यस्तै भरिया बनेर हिमाल पारी, पूर्र्वी अर्थात् चिनी तुर्किस्तान (हालको सिनजियांग) जान्छु भनें । आफन्तहरू जो उता गए, ब्यापार ब्यवसाय गरे, फर्केर आएनन् । म पनि उतै हराउँछु भन्ने सोचिन् होला, जान दिइनन् । मेसिनरीले लेहमा स्कूल खोल्यो, साथीहरू पढ्न जान्थे, म भने तिनैको किताव पढ्ने कोशिस गर्थें । पछि आमाले भर्ना गर्दिइन् । पढ्न त खुव जानें, लेख्न भने गाह्रो भयो । 

जुलाई १८९० तिर, धनी साहेबहरू लेह आए उत्तर यारकान्द जाने गरेर । जसमा दुईजना जर्ज म्याकार्टिन र क्याप्टेन योंगहस्ब्याण्ड थिए । मोहम्मद ईशा जो विदेशीहरूसँग हिंडिरहन्थे, मलाई पनि काम देऊ भनें । तिमी सानै छौ, यारकान्द जान उच्च हिमाल, धारिला नदी तर्नु पर्छ अहिले नजाऊ भने । म, जान नपाएर खुवै चिन्तित भएँ, पहिला काश्मिर जाँदा साहेबको राम्रो काम गरेको भनेर लेख्दिएको चिट थियो, क्याप्टेन योंगहस्ब्याण्डलाई देखाएँ, उनले मलाई लैजाने भए । हाम्रो टोलीमा छ जना साहेबहरू, मुसलमान डाक्टर, चिनियाँँ मुन्सी र गोर्खा सिपाहीहरू थिए । कठिन भूगोलमा जाने काम त पाएँ, पछि लागें तर सहज थिएन उत्तर जान । पनामिक, किलियान हुँदै सत्र हजार फिटको देप्साङ पास पार गर्ने बेला कमजोर घोडा डोहो¥याउन परेको कारण म बाटोमा छुटें । तर डाक्टर र चिनियाँँ मुन्सीको अवस्था झन् खराब भयो । मैले नै सहयोग गरेर अघि बढाएँ । 

दुर्वेद्ध पहाड छिचोलेर ३१ अगष्ट १८९० मा यारकान्दा पुगियो । चिनियाँँ अम्बानको टोली बाजा बजाउँदै, धुमधडाकासाथ साहेबलाई भेट गर्न आए । रसियन ग्रोमचेभ्स्की पनि आए । साहेबहरू चिनीयामा जाने र चिनियाँ अधिकृतहरू आउने क्रम चलिरह्यो । त्यहाँबाट साहेबहरू पामिरको लागि जाने भए, सवैलाई नयाँ कपडा, जुत्ताहरू दिए तर मलाई मात्र दिएनन् । मेरा साथीहरूले मैले राम्रो काम गर्दैन भनेर कुरो लगाइदिएछन् । म, धेरै रोएँ । धन्न चिनियाँँ मुन्सी र डाक्टरले मेरो पसिना देखेका थिए, उनीहरूले साहेबलाई भनिदिए । साहेबले बोलाएर तिमी राम्रो रहेछौ मैले बुझें, अहिले मेरो पार्सल लिएर लेह फर्क बरु तिमीलाई के चाहिन्छ सबै किन्दिन लगाउँछु भने । साहवहरू सेप्टेम्बर १५, १८९० मा पामिरको बाटो लागेका भोलिपल्ट मलाई मोहम्मद यानोले बजार लगे । राम्रो कपडा, ह्याट, किन्दिए । यारकान्दमा रहने दुईजना हिन्दु ब्यापारीले कामदार खोजेका रहेछन् लेह फर्कन ।

किन मेरो बुढीलाई भेटेको भनेर पो मलाई एक महिना खोरमा बिताउनुपर्ने बनाइयो ।

म र अर्को एकजना साथी तयार भयौं बाह्र रूपैयाँमा । तिनीहरूले मलाई दिनु सास्ती दिए, ज्यादै हेपे, राम्ररी खान पनि दिएनन्, म, मुसलमान भएको, फोहोरी भएकोले नजिक पर्न, न आगो ताप्न न त घोडा चढ्न दिए बाटोभरि । मुश्किलले लेह आएँ । तोकिएको ज्याला दिन आनाकानी गरेका थिए । ब्रिटिश अफिसमा उजुर गर्छु भनेपछि मुश्किलले दिए । आमा सायद म कहिले फर्कन्छु कि भन्ने चिन्ताले बजारमै आएकी रहिछन् । यारकान्द जानुअघि एक जना छिमेकीले त्यहाँ मेरो बूढालाई चिठी पठाउनु छ आऊ भन्दै तानेर लगिन् । उनको बुढा पुलिस रहेछ । मलाई त किन मेरो बुढीलाई भेटेको भनेर पो बिना काममा पिट्यो । म फर्केपछि केश बल्झियो । मैले एक महिना खोरमा बिताउनु पर्ने भयो । आमा रोइन्, म पनि रोएँ । म काम गरेको कुतेदारले जेलका मेजर साहेबलाई यो केटा राम्रो हो भने । मैले सहुलियत पाएँ । एक महिना सहजै बिताएँ । भगवानले हेर्लान् भनेर चित्त बुझाएँ । 

यस्तैमा मेरो बिहे हुने भयो । लेहमा राम्री केटीहरू थुप्रै भए पनि गरिव भएकोले बिहे गर्न गाह्रो थियो । कसो–कसो भेटियो । एउटा गरिव गलवानको घरबार जोडियो । म कुतेदारकोमा काम गरेर समय बिताउँदै थिएँ, यस्तैमा दुईजना लर्ड साहेब डुनमोर र मेजर साहेब रोचेको यात्रामा लागें । पुनः खराब बाटो भएर यारकान्द पुगियो । मेजर साहेब ज्यादै रिसाह रहेछन् साथीलाई सामान्य गल्तीमा पिटे, हामीले काम नगरौं फर्कौं भन्ने सल्लाह ग¥यौं तर अब यस्तो हुँदैन भनेर सम्झाए । खानेकुरा सिद्धिएर तासकुर्गानसम्म पुगी पीठो किनेर ल्याइयो । करीव दुई महिना पामिरमा बसेपछि कासगार जान अघि बढ्यौं । बाटोमा मेरो घोडाको काठी हराएकोले खोज्न जाँदा मलाई रुसीहरूले घेरामा पारे ।

मलाई पगरी गुथेकोले अफगानी भन्ने ठानेछन् । उनीहरूको अफगानीसँग लडाइँ भएको रहेछ । मैले तिनै मरेका अफगानीको पगरी गुथेको भन्ने ठानेछन् । घोडाको काठी उनीहरूले नै राखेका रहेछन् । हाम्रो क्याम्प नजिकसम्म ल्याएर छाडिदिए । कासगार पुगियो । लर्ड साहेब रुस हुँदै बेलायत जाने भए, मेजर रोचे साहेब लामो भुत्ला भएको चितुवाको शिकारको लागि । लर्ड साहेबले हामीलाई ज्याला थमाए, उपहार देलान् भन्ने सवैको आशा थियो तर थोत्रा कपडा दिए । अब काम नभएर ढाक्रेजस्तो भइयो, लेह फर्कने कि के गर्ने भयो । धन्न मेजर साहवले मसँगै बस ज्याला दिउँला भने । हाम्रा मुन्सी भने म्याकार्टिनसँग कासगारमै बस्ने भए । उनीसँग बिछोड हुँदा दुखी भइयो, उनी त्यो बेलादेखि आठ सालसम्म कासगार बसे, म्याकार्टिनको सहयोगी बनेर ।   

क्रमशः....
 

टिप्पणीहरू