‘सरकार ढल्ने र ढाल्ने दिवासपना कसैले नदेखे हुन्छ’

‘सरकार ढल्ने र ढाल्ने दिवासपना कसैले नदेखे हुन्छ’
सुन्नुहोस्

‘नयाँ’ हरूको बिगबिगी र राजनीतिक चकचकीका बीच मिलेका दुई ठूला र पुराना दलको ‘गठजोड’ ले सरकारी एकसय दिन गुजारेको छ । राजनीतिमा झाङ्गिएको ठगी, अपराध र अराजकताबीच दुई ठूला दलको सरकार साझेदारी सुरु हुँदै गर्दा बससँगै खसेका ६५ जना सर्वसाधारण त्रिशुलीमा बग्दैबग्दै कतै टाढा पुगिरहेका थिए ।

सय दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्झिरहेका रहेछन्, ‘जब म नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशुली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भएको दुःखद् घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य एअरलाइन्सको विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटनामा पर्या् । असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक पर्यो । सोही अवधिमा देशभर सात हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरु भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्यो ।’

भन्नू त के नै छ र ! सय दिनमै भएन, बाँकी बितिजाने अरु केही सय दिनहरूमा पनि के नै होला र !

सय दिन भनेको केही होइन । हरेक मन्त्रालयमा नयाँ मन्त्री फेरिँदा केही दिन त उसलाई त्यहाँको वातावरण बुझ्नै लाग्छ । कर्मचारी बुझ्न समय लाग्छ । कामका तौरतरिका बुझ्न समय लाग्छ । तर सरकारमा जान र आउन बानी लागिसकेका हाम्रा नेताहरूका हकमा भने यो कुरा लागु हुँदैन । उसै पनि हरेक राज्यका प्रशासनिक कामहरूमा मन्त्रीहरूको भूमिका नै के हुन्छ र । कर्मचारी प्रशासनले थेगेको देशको प्रणालीमा मन्त्री त फगत रमितेमात्रै हुन्छन् । तर साँच्चिकै काम गर्नेहरूका लागि सय दिन भनेको धेरै समय हो । अथाह समय हो । 

विपदकै बीचमा बनेको थियो नयाँ सरकार पनि । विपदका आँकलन र अनुमान हुँदै गर्दा ‘पहिरो कहाँनेर खस्छ हामीलाई थाहा हुन्छ र ?’ भन्ने प्रधानमन्त्रीबाट सय दिनमै के न उपलब्धि होला भन्ने त आशा नै थिएन । तथापि सरकारले सय दिन गुजारेको छ । सय दिन भनेको राजनीतिक भाषामा सरकार कामको मेसो समाउन दिइएको एउटा अवधि हो । यसलाई राजनीतिक भाषामा सरकारको ‘मधुमास’ पनि भनिन्छ । तर राजनीतिमा चलेको रोमाञ्चक भाषाले यसलाई ‘हनिमून पिरियड’का रुपमा लिइन्छ । यो बीचमा प्रतिपक्षले समेत सरकारको उतिसारो आलोचना गर्नहुन्न भन्ने परम्परा छ । अर्थात् यो बीचको समय ‘पर्ख’ र ‘हेर’ भन्ने पनि हो । 

तर ओलीको यो तेस्रो इनिङको सुरुवात सुखद् देखिएन । सुरुदेखि नै प्रतिपक्षको बलियो अवराधो सामना गरेको ओली सरकारले गुजारेका पछिल्ला सय दिनका बीचमा अनेकौं विवादहरू सतहमा आए । सदन र सडकमा विरोध अनि आन्दोलनहरूको सामना गरिरहेको सरकारका प्रधानमन्त्री ओली सय दिन गुज्रिँदै गर्दा एउटा अत्यन्त गम्भीर नैतिक विवादमा मुछिए । एउटा व्यापारीको ‘दान’मा भव्य पार्टीमहल खडा गर्न कस्सिएका ओलीको नियत र नियति यस्ता थुप्रै विवादहरूले घेरिएका छन् । 

सय दिने उपलब्धिलाई ओलीले लगभग तीन हजार शब्दमा अनुबन्ध गरेका छन् । शुरुमै भने ‘आज हामीले सत्ता सम्हालेको एक सय दिन पूरा भएको छ । तर म यहाँ तपाईंहरूलाई तथ्यांकको लामो सूची सुनाउँदै छैन। किनकि अंकहरू आफैँमा के हुन् र ? वास्तवमै महत्वपूर्ण कुरा भनेको ती अंकहरूले छोएका जीवन, हल्का बनाएका पीडा र देखाएका सुन्दर भविष्य हुन् ।

 साँच्चै हो, के भयो र, के थियो र, अनि के छ र सुनाउनलाई !

आम नागरिकलाई प्रधानमन्त्रीले धेरै ठाउँमा ‘प्रिय’ भनेर सम्बोधन गरेका छन् । सरकारका फेहरिस्तसँगसँगै उनले आफ्ना भावनाहरू यो सय दिने उपलब्धिमा मिसाएका छन् । ‘गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै ईश्वरको नाममा होइन, तपाईंहरूको नाममा सपथ लिएको थिएँ । किनभने यो सरकार तपाईंहरूको आशा,तपाईंहरूको सपना, र तपाईंहरूको विश्वासले बनेको हो। त्यो दिन मैले तपाईं नाममा सपथ लिनुको दुई वटा कारण छन्’ ओलीले ती दुई कारण हुन् ‘पहिलो, तपाईंकै विश्वास र भरोसाका कारण यो सरकार बनेको हो । दोस्रो, यो सरकार तपाईंकै लागि बनेको हो ।’

सरकारका सबै मन्त्रालयले यो सय दिनमा २७४ काम गरे । ती भनेका बैठकदेखि उद्घाटनसम्मका कार्यक्रमहरू छन् । पहिलो सयमा सरकारले गर्छु भनेको काममध्ये ओलीका अनुसार यो लगभग ७० प्रतिशत काम फत्ते भएको हो । यो बीचमा प्राकृतिक विपत्तिहरूले नबिथोलेको भए अरु पनि काम गर्ने ओलीले आशा गरेका छन् ।

‘यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो’ ओलीले भनेका छन् । 

सय दिन पुग्दै गर्दा ओलीले प्रतिपक्ष दलहरूलाई एउटा चेतावनी पनि दिएका छन् । सडक र सदनमा सरकार घेरेर बसेका प्रतिपक्षहरूलाई उनले सरकार ढाल्ने सपना नदेख्न भनेका छन् । प्राकृतिक विपदका बेला सरकार हराएको भनेर हल्ला पिटिरहेको प्रतिपक्षी नेकपा माओवादीले अब सडक आन्दोलनको तयारी गरिरहेको छ । सहकारी ठगीमा पक्राउ परेका आफ्ना सभापतिको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी साता दिनदेखि सडक आन्दोलनमा छ । 

ओलीले सहकारी ठगीविरुद्ध सरकारले चालेका कदमलाई पनि आफ्नो प्रमुख उपलब्धि भने मानेकै छन् । उनले आफ्नो प्रगती विवरणमा लेखेका छन् । 

‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारवाही सुरु भएको छ । हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारवाही गरिएको छ । ५ सय ७५ भन्दा बढी त जेलमै छन् । सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदैछ’ उनले लेखेका छन् ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो । तर, म प्रतिबद्धता दोहोर्याउन चाहन्छु– राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन ।’ 

विपदका केही दुःख, भावना र केही बुँदाका उपलब्धिहरूलाई पुकार्दै सय दिनमा ओलीले विपक्षीलाई ‘दिवास्वप्न’ नदेख्न चेतावनी दिएका छन् । 

‘सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि बिरोध सुरु गरियो । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ’ उनले भनेका छन् ‘यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।’

टिप्पणीहरू